‘बालेन सिटी’ ले जन्माएका नयाँ यौनकर्मी
काठमाडौं महानगरले सडक व्यापारमा रोक लगाएपछि आर्थिक रूपमा कमजोर कतिपय महिला शरीर बेच्न बाध्य छन्। भन्छन्, “विकल्प हुन्थ्यो त यो नर्कमा किन जाकिनुपर्थ्यो र?”
रातको दुई हजार।
३० वर्षीया सीता (परिवर्तित नाम)लाई यो रकम पटक्कै चित्त बुझेन। प्रत्युत्तरमा भनिन्, “यतिले पुग्दैन, १० हजार चाहिन्छ।”
त्यसपछि केही बेर मोलमोलाइ चल्यो। कुरा मिल्ने छाँट देखिएन। ग्राहकले उताबाट अपशब्द बोल्न थाल्यो। सीताले जोडले थिचेर फोन काटिन्। यतिन्जेल आँखामा आँसु टिलपिलाइसकेको थियो।
त्यसपछि केही बेर सन्नाटा छायो। रिस र ग्लानिले रन्किएको मुहार केही सहज बनाउँदै उनले भनिन्, “देख्नुभयो नि, यही हो हाम्रो जीवन।”
सीताले भनेको जीवन आमयौनकर्मी महिलाको जीवन हो। तर उनी यो परिचयसँग जोडिन चाहन्नन्। यो पेशामा वर्षौंदेखि लागिरहेकी होइनन् पनि। पटक पटक एउटै वाक्य दोहोर्याउँछिन्, “बाध्यताले यस्तो काम गर्नुपर्यो, मेरो रहर हुँदै होइन।”
फूटपाथमा व्यापार गर्ने आत्मनिर्भर महिला थिइन् सीता, कुनै वेला। काठमाडौंको नयाँ बसपार्क सडकछेउ लाग्थ्यो, उनको पसल। सामान बेच्ने उनी एक्कासि शरीर बेच्नुपर्ने स्थितिमा कसरी आइपुगिन् त?
बितेको समयबारे कुराकानी गर्दा यस्तो भेटिन्छ-
सीता नजन्मिँदै उनका बुबाआमा पूर्वी पहाडबाट तराई झरे। आर्थिक रूपमा कमजोर थियो परिवार। उनी तीन वर्षकी छँदा बुबाले आमालाई सौता हाले। केही समयपछि आमाले अर्कै बिहे गरिन्। सीता र सानी बहिनी मामाघरमा दुःखले हुर्किए।
उनले २०६८ सालमा एसएलसी दिइन्। त्यसपछि मावलीले बिहे गर्न दबाब दिन थाले। सीतालाई मन थिएन। त्यसैले मामाघर नै छाडिदिइन्। गोजीमा एक पैसा थिएन। जे त पर्ला भनी इटहरीबाट काठमाडौंको बस समातिन्। ड्राइभरलाई सत्य कुरा बताइन्- आफूसँग पैसा नभएको, भागेर काठमाडौं जान लागेको, त्यहाँ पुगेर पढ्ने, काम गर्ने आदि। “यति सुनेपछि मलाई कोटेश्वरसम्म ल्याइदिए,” उनी सम्झन्छिन्।
बसबाट झरेपछि सीताले सानीमालाई फोन गरिन्, जो वनस्थलीमा बस्थिन्। उनले त्यहीं पाँच दिन आश्रय लिइन्। त्यसपछि सानीमाले बसपार्कको एक होटलमा सरसफाइको काम गर्ने जागीर मिलाइदिइन्, त्यहीं खानेबस्ने गरी। त्यही होटलमा नेपालगन्जका एक युवक बस्न आए जो रोजगारका निम्ति दुबई जान भिसा लगाउने प्रक्रियामा थिए। रहँदाबस्दा सीतासँग उनको प्रेम बस्यो।
एकमहीने प्रेमपछि १९ वर्षीया सीताले उनीसँग बिहे गरिन्। दम्पतीले म्हैपीमा डेरा लिए। बिहेको केही समयपछि भिसा आयो, पति दुबई गए।
अब सीता पनि होटलको जागीर छाडेर डेरा नजीकै मकै पोल्न थालिन्, सँगै साग बेचिन्। कमाइ राम्रै थियो। एक वर्ष नपुग्दै पति दुबईबाट फर्किए। अत्यधिक मद्यपानले स्वास्थ्य जीर्ण बनेका उनलाई कम्पनीले नै फर्काइदिएको थियो। यसबीच सँगै केही वर्ष बिते, बच्चा जन्मियो। त्यसपछि उनीहरू कलंकी सरे।
पतिको काम थिएन। जाँडरक्सी छाड्न नसकेका उनी पत्नीसँग झगडा गरिरहन्थे। पतिलाई काममा व्यस्त बनाउन पाए सुध्रन्थे कि भनेर सीताले नयाँ बसपार्कमा मासु पसल खोलिन्। सामान ओसारपसार गर्न सहज होस् भनेर बाइक किनिदिइन्। “यति सबै गर्दा नौ लाख ऋण लाग्यो। तिर्न सक्छु भन्ने आँट थियो। तर उनले कुटपिट गर्न छाडेनन्,” उनी भन्छिन्।
पति कसैगरी सुध्रिएनन्। बरु पत्नी र छोरा छाडेर बाहिर बस्न थाले। यही वेला कोरोना-१९ महामारी आयो। बन्दाबन्दीमा व्यापार थिएन, ब्याज भने बढिरहेको थियो। ऋण दिनेले तिर्न दबाब दिइरहेका थिए।
मासु पसलबाट उक्सने छाँट नदेखिएपछि सीताले बसपार्कमै ठेलागाडामा चटपटे बेच्न थालिन्। बालख छोरो हुर्कंदै थियो। “चटपटेबाट कमाइ राम्रै भइरहेको थियो, छोरालाई बसपार्ककै एक बोर्डिङ स्कूलमा भर्ना गरें,” उनी भन्छिन्।
यसरी बाबुआमा, पति कसैको साथ नपाए पनि त्यतिन्जेल उनलाई एउटा कुराले कहिल्यै धोका दिएन- सडक व्यापार। एक्लै काठमाडौं पसेकी उनलाई निर्धा दिनहरूमा यसैले भर दियो। तर यसमा पनि काठमाडौं महानगरपालिकाको आँखा लाग्यो र एक दिन कोरोनाभन्दा ठूलो विपत् बनेर उनीमाथि बज्रियो।
महानगरले फूटपाथ व्यापारमा प्रतिबन्ध लगाएपछि आम्दानी ठप्पै भयो। महानगर प्रहरीले बसपार्कबाट उनका दुई ठेला जफत गर्यो। तब उनले कलंकीस्थित डेराछेउमै ठेला राखिन्। प्रहरीले त्यहाँ पनि लछारपछार पार्दै सामान लग्यो।
कलंकीबाट फेरि म्हैपीमा कोठा सरिन्, मासिक चार हजार भाडामा। “तर ६ महीनासम्म कोठा भाडा तिर्न सकिनँ, घरबेटीले निकालिदियो, छोरो र म तीन दिन सडकमा भोकभोकै भयौं,” यति भनिसक्दा उनको गला अवरुद्ध भयो।
यसअघि पति वेलावेला कोठामा आउँथे। चुलिंदै गएको ऋण झगडाको बीउ बन्थ्यो। २०७९ असारमा पतिले आत्महत्या गरे। अब सीतासँग समाउने झिनो हाँगो पनि बाँकी रहेन।
पतिको परिवारले सम्बन्ध तोडिसकेको थियो। महानगरले ठेला खोसेपछि उनले विदेश जाने योजना पनि बुनेकी थिइन्। राहदानी बनाइन्। तर अवरोध अनेक थिए- विदेश जान लाग्ने खर्च कसले दिने? छोरालाई कसले हेरिदिने?
सडक व्यापारले धानिएकी सीता आखिर सडकमै आइपुगिन्। तर सम्हालिने प्रयास अझै छाडिनन्। म्हैपीमा अर्को घरमा डेरा लिइन्।
त्यसपछि उनले बसपार्ककै एक दोहोरी साँझमा तीन महीना काम गरिन्, मासिक ११ हजार रुपैयाँमा। ग्राहकहरू रक्सीले मात्तिएर शरीर छुन आउँथे, जोगिन हैरान भो। यता ऋण नतिर्दा आफन्तसँग सम्बन्ध बिग्रँदै थियो। त्यसलाई सपार्न पुग्ने तलब थिएन।
दोहोरी साँझका साहुसँग दुखेसो पोखिन्। उनले शरीर बेच्न सुझाए। सीताले ठाडै नकारिन्। तर केही बेरपछि मनमा द्वन्द्व शुरू भो। सम्भावित बाटाहरू पहिल्याउन खोजिन्, एउटै खुलेन। अब साहुले भनेकै बाटो मात्र निक्खर बनेर अगाडि आयो।
अनि उनले शुरू गरिन्, नचाहेको यौनधन्दा। “अब मेरो काम नै ग्राहकलाई सन्तुष्ट पार्ने भयो,” उनी भन्छिन्, “एकै दिनमा धेरै जना आउँथे। एक पटक त बेहोशै भएछु।”
त्यो साँझ बेलुकी डेरा पुगेपछि उनी बेस्सरी रोइन्, तर डाको छाडिनन्। किनकि छोराले सोधे दिने जवाफ उनीसँग थिएन।
डेढ वर्षयता यौनधन्दा अपनाइरहेकी सीतालाई कुनै ग्राहक चिनजानकै मान्छे पर्ला कि भन्ने चिन्ता परिरहन्छ। उनका अनुसार दिउँसोभन्दा रातको बढी पैसा पाइन्छ। तर छोरा हेर्ने मान्छे नहुँदा सकेसम्म राति बस्दिनन्। दिउँसो ग्राहकसँग हुँदा पनि मन चाहिं छोरामै हुन्छ।
उनी अहिले सरकारी स्कूलमा कक्षा ५ मा पढ्छन्। वेलावेला ममीको अफिस जान्छु भनेर कर गर्छन्। उनले न्यूरोडमा कपडा पसलमा काम गर्ने बताएकी छन्। “ऊ ठूलो भएपछि कसैले तेरी आमा यस्ती भनिदिए के गर्ने होला?” उनी भन्छिन्, “मलाई आमा नै नस्विकार्ला कि भन्ने डर लाग्छ।”
कुनै वेला बसपार्क वरपर साहुनी भनेर चिनिने सीता अहिले त्यतैतिर मास्क र क्यापले छोपिएर ग्राहक खोजिरहेकी हुन्छिन्। मोल मिले सम्पर्कमै रहेको होटलमा लैजान्छिन्। होटलको भाडा त छँदै छ, होटलवालाले प्रतिग्राहक ‘कमिशन’ पनि असुल्छन्। उनी भन्छिन्, “मेरो शरीरको मालिक म मात्र होइन, होटलवाला पनि हुन्।”
सीतालाई आफूले गरिरहेको कामलाई व्यवसाय भन्न मन लाग्दैन र यो दलदलमा बस्न मन पनि छैन। चाहन्छिन्- महानगरले ८० हजार लगानी परेको ठेला फिर्ता गरोस् र पुरानै व्यवसाय निस्फिक्री गर्न देओस्। “तर के देलान् र?,” उनी भन्छिन्, “बालेन (मेयर) त धनीका लागि मात्र राम्रो रै’छन्, गरीबका लागि बैरी रै’छन्।”
सीताले कलंकीस्थित डेरा पनि छोडिसकेकी छैनन्। चटपटे बनाउने सामान अहिले पनि त्यहाँ सम्हालेर राखेकी छन्। नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फूटपाथ र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै २०७९ भदौमा महानगर कार्यालय घेराउ गर्दा भीडमा उनी पनि सहभागी थिइन्।
सीताकै जस्तो पीडा भोग्न बाध्य अर्की पात्र छिन्, लक्ष्मी (परिवर्तित नाम)। डेढ वर्षअघिसम्म उनी पनि चाबहिल क्षेत्रमा सडक व्यापार गर्थिन्। कोरोनाकालमा दमका रोगी पतिको मृत्यु भएपछि आइलागेको आर्थिक अभाव टार्न बेलुकी लुगा बेच्थिन् त बिहान तरकारी। जसोतसो परिवार धानिएकै थियो।
काठमाडौं महानगरले ठेला खोसेपछि उनी पनि देहव्यापारमा लाग्न बाध्य भइन्। भन्छिन्, “दुई छोरा सानै छन्। स्कूल हालेकी छु, तीन जनाको पेट पाल्न यस्तो काम गर्नुपरेको छ।”
उनका पति रामेछापबाट १५ वर्षअघि कामको खोजीमा काठमाडौं पसेका थिए। केही समयपछि उनी पनि आइन्। दम्पती शुरूमा वीर अस्पताल वरपर सडकछेउ सिलाइको काम गर्थे। त्यतिले नधानिएपछि लक्ष्मीले फूटपाथमा सामान बेच्न थालिन्। पतिको उपचारमा पाँच लाख रुपैयाँ ऋण लाग्यो। पति त रहेनन्, ऋण भने बाँकी नै छ।
उनी पनि अचेल उसैगरी बसपार्क छेउछाउ मास्क लगाएर उभिन्छिन्। छोरालाई चाहिं होटलमा सरसफाइको काम गर्ने बताएकी छन्। एक मन त उनलाई पनि विदेश जाऊँ कि भन्ने नलागेको होइन। तर उमेरले ४० वर्ष छुन लागिसकेकाले मिल्ला जस्तो लागेन।
यौनपेशामा लागेसँगै उनी परिवार, आफन्तसँग टाढिएकी छन्। “यो काममा रोग लाग्छ भन्छन्, अब खै कति दिन बाँचिएला र?” उनी भन्छिन्।
लक्ष्मीलाई पनि पुरानै काम गर्न पाए यो दलदलबाट मुक्ति मिल्थ्यो कि भन्ने छ। “तीन जनाको परिवार त्यही व्यापारले पालिएको थियो, त्यो खोसिएपछि जीवन नर्कमा फसेको छ,” उनी भन्छिन्, “हाम्रो ठेला खोस्न लगाएर बालेनले के पायो?”
यही प्रश्न मनमाया (परिवर्तित नाम)को पनि हो जो पाँच दशकको उमेरमा आएर शरीर बेच्न बाध्य भएकी छन्। १४ वर्षअघि पतिले छाडेकी उनी पनि सडक व्यापारबाटै गुजारा चलाउँथिन्। डल्लु वरपर नाङ्ले पसल राख्थिन्। “पहिलेकै जसरी पसल राख्न पाएको भए यस्तो नर्कमा को आउँथ्यो र ?” उनी भन्छिन्, “सँगै पसल चलाउने मेरी एउटी साथी पनि अहिले यसरी गुजारा चलाइरहेकी छन्।”
हिमालखबरसँग यस्ता ६ महिला सम्पर्कमा आएका थिए जो सडक व्यापार खोसिएपछि यौनधन्दामा लाग्न बाध्य भएको बताउँछन्। सबैको एउटै आवाज छ, “फूटपाथमा व्यापार गर्न दिइएको भए यो पेशामा लाग्ने थिएनौं।”
यौनश्रमिकको अधिकारका क्षेत्रमा काम गर्दै आएको मायाको संसार संस्थाकी अध्यक्ष सुनीता लामाका अनुसार महानगरले आयआर्जनको आधार खोसेसँगै आर्थिक रूपमा कमजोर कतिपय महिला यौनपेशामा लाग्न बाध्य छन्। सडकबाट विस्थापन गरेपछि महानगरले उनीहरू कहाँ गए भनेर सोधीखोजीसम्म नगरेकामा लामाको गुनासो छ।
“कोरोनापछि बल्लतल्ल तंग्रिएकाहरूलाई विकल्प नदिई सडकबाट हटाइँदा कति ऋणमा डुबेका छन्। दिउँसो नकमाए बेलुकी छाक नटर्ने परिवार धेरै छन्। अन्यत्र पनि रोजगारको अवसर छैन,” लामा भन्छिन्, “त्यसैले महिलाहरू शरीर बेच्न बाध्य भए।”
काठमाडौं महानगरको सामाजिक विकास विभाग प्रमुख विमला कोइराला सडक व्यापारबाट विस्थापित महिलाहरू देहव्यापारको जोखिममा पर्ने पाटोमा आफूहरूको ध्यान नपुगेको स्विकार्छिन्। “यसमा कसैले अध्ययन गरेर भनेको छैन,” कोइराला भन्छिन्, “यद्यपि हामी आर्थिक रूपमा कमजोर महिलाहरू विभिन्न जोखिममा पर्नेबारे संवेदनशील छौं।”
उनी विस्थापित महिलाहरूलाई महानगरले सञ्चालन गर्दै आएको विभिन्न सीप प्रशिक्षणमा सहभागी हुन आग्रह गर्छिन्। “यसमा विभिन्न संघसंस्था मार्फत पनि जोडिन सकिन्छ, फूटपाथबाट विस्थापित हुनेहरूकै लागि यस्तो कार्यक्रम ल्याइएको हो,” उनी भन्छिन्।
यो पनि पढ्नुहोस् :