अल्पमतमा परेको सरकारले दीर्घकालीन असर पर्ने निर्णय नगर्नू : एमाले
नेकपा (एमाले)ले दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ।
एमाले महासचिव शंकर पोखरेलले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी सरकार अल्पमतमा परेको स्मरण गराएका छन्। ‘वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्मतमा परेको अवस्था छ,” एमालेले भनेको छ।
संसद्का दुई ठूला दल नयाँ सरकार गठनका लागि सहमत भएकाले प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत पाउने अवस्था पनि नरहेको एमालेले जनाएको छ। यस्तो अवस्थामा दीर्घकालीन असर पर्ने निर्णय गर्न नहुने एमालेको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन नेकपा (एमाले) सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गर्दछ।”
सरकारमा सहभागी एमालेका मन्त्रीले बुधबार राजीनामा दिएका थिए। त्यससँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।