प्रचण्डसँग अब कसैको पनि विश्वास रहेन : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिर चरित्रका कारण कसैको पनि विश्वास नरहेको बताएका छन्।
विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्री दाहालको अस्थिर चरित्र र व्यवहारले नयाँ गठबन्धन बनेको बताए। एमालेसँग सहकार्यमा बसिराख्ने र कांग्रेससँग पनि लसपस गर्ने बानीले नयाँ गठबन्धन बनेको उनको भनाइ थियो। “एमालेसँग सरकारमा बसिरहेर पनि प्रचण्डले फेरि नयाँ खालको लसपस गर्नका निम्ति हातखुट्टा पसार्न थालेपछि अहिलेको दुर्घटना निम्त्याएको हो,” थापाले भने।
प्रधानमन्त्री दाहालकै कारण अहिलेको अस्थिरता सिर्जना भएको थापाको आरोप थियो। “नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थिर रहनुभयो कि उहाँसँग अब कसैको पनि विश्वास रहेन,” उनले भने।
उनले प्रधानमन्त्री दाहाललाई राजीनामा दिन सुझाव दिएका छन्। प्रधानमन्त्रीलाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्नु दाहालका निम्ति श्रेयस्कर हुने बताए।
महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको बताए। मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र एमाले सहितको राष्ट्रिय सरकार गठन हुन लागेको उनको भनाइ थियो।