जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पनि नयाँ गठबन्धनलाई समर्थन गर्ने जनाएको छ।
जसपाका महासचिव मोहम्मद इस्तियाक राईले नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनलाई समर्थन गर्ने बताएका छन्। यससँगै सरकारमा सहभागी जसपाका मन्त्रीलाई आजै राजीनामा दिन निर्देशन दिइने महासचिव राईले बताए।
प्रतिनिधि सभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने भएकाले मन्त्रीहरूलाई राजीनामा दिन लगाइने उनको भनाइ छ। “परिवर्तित राजनीतिक घटनाक्रम अनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थिति अनुरूप पार्टी अगाडि बढ्नेछ,” राईले भने।
जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्री छन्। प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नवलकिशोर साह सुडी वनमन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री छन्।
जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझ वा भोलि बिहान ७ बजे पदाधिकारी बैठक बस्ने उनले जानकारी दिए। नयाँ गठबन्धनलाई समर्थन गर्ने विषयमा बैठकले निर्णय गर्ने राईले बताए। यससँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने उनको भनाइ छ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले यसअघि नै नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरिसकेको छ। प्रतिनिधि सभामा लोसपाका चार सांसद छन्।
नेकपा (एमाले)ले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ। यसअघि बुधबार साँझ एमालेका मन्त्रीले राजीनामा दिएका थिए।
एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री, पदम गिरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री, राजेन्द्र राई खानेपानीमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, भगवती चौधरी महिलामन्त्री, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, हरि उप्रेती रक्षामन्त्री र बलराम अधिकारी भूमि व्यवस्था तथा गरीबी निवारणमन्त्री मन्त्री थिए।
यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। एमाले सचिवालय बैठकले बुधबारसम्म प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गरेको थियो। दाहालले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको थियो।
नेपाली कांग्रेस र एमालेबीच असार १७ गते राति नयाँ सरकार बनाउने सहमति भएको थियो। आगामी चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली आलोपालो प्रधानमन्त्री हुने उल्लेख छ। पहिला एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनेछन् भने त्यसपछि चुनावसम्म कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने तय भएको छ।