संविधान संशोधनको चर्चाबाट हिन्दू राष्ट्र र राजसंस्था पक्षधर उत्साहित हुनु जरुरी छैन : कमल थापा
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालले नेपाली कांग्रेस र नेकपा (एमाले)ले गर्ने भनेको संविधान संशोधनबाट राजावादी र संघीयता विरोधीहरू उत्साहित हुनुपर्ने कारण नरहेको ठहर गरेको छ।
थापाको अध्यक्षतामा बुधबार बसेको राप्रपा, नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हिन्दू राष्ट्र पक्षधरलाई समेत उत्साहित नहुन आग्रह गरेको छ। बैठकको निर्णयमा भनिएको छ, ‘...कथित संविधान संशोधनको चर्चाबाट हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना र प्रदेश संरचनाको खारेजी चाहनेहरूले उत्साहित हुनपर्ने वा स्वागत गर्न हतारिनुपर्ने कुनै आवश्यकता छैन।’
संविधान संशोधनका निम्ति नयाँ गठबन्धन बनाउनुपरेको अमूर्त तर्क केवल सत्ता आरोहणलाई पुष्टि गर्ने निरर्थक बहाना भएको राप्रपा, नेपालको भनाइ छ।