मुकुल ढकाल मुखमा कालो टेप लगाएर रास्वपा बैठकमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा महामन्त्री डा. मुकुल ढकाल मुखमा कालो टेप लगाएर उपस्थित भएका छन्।
रास्वपा केन्द्रीय कार्यालय, बालाजुमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ढकालले मुखमा कालो टेप लगाएका हुन्। महामन्त्री ढकालले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका थिए।
सभापति रवि लामिछाने लगायत केन्द्रीय सदस्यले बैठकको प्रत्यक्ष प्रसारण गर्न सहमति जनाएनन्। बैठकको प्रत्यक्ष प्रसारण नगरेको विरोधमा मुखमा कालो टेप लगाएको उनले बताएका छन्।
यसअघि उनले देशका ३९ जिल्ला घुमेर रास्वपाको अवस्थाबारे प्रतिवेदन तयार गरेका थिए। उनले सभापति लामिछानेलाई बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा रास्वपाको जनाधार खस्किंदै गएको उल्लेख छ।
अहिलेकै जस्तो अवस्था रहेमा आगामी चुनावमा रास्वपालाई साख जोगाउनै मुश्किल हुने प्रतिवेदनमा औंल्याएका छन्। उनको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो।
यसअघि रास्वपाले ढकालसँग स्पष्टीकरण पनि मागेको थियो। पार्टीमा छलफल नहुँदै प्रतिवेदन बाहिर ल्याएर पार्टी अनुशासन उल्लंघन गरेको आरोप उनलाई लगाइएको थियो।
त्यस्तै, केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुने जनाइएको छ। नेपाली कांग्रेस र नेकपा (एमाले)ले नयाँ सरकार बनाउने सहमति गरेपछि रास्वपा सचिवालय बैठकले त्यसमा सामेल नहुने निर्णय गरेको थियो।