प्रधानमन्त्री दाहाललाई राजीनामा दिन आह्वान गर्ने एमालेको निर्णय
सत्ता समीकरण बदलिएसँगै नयाँ सरकार गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट राजीनामा दिन आह्वान गर्ने नेकपा (एमाले)ले निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालयको बैठकले मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए। बैठकका निर्णयबारे जानकारी दिंदै ज्ञवालीले भने, “एमाले र कांग्रेसबीच भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२)को सरकार निर्माणका लागि भोलिसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आह्वान गर्ने निर्णय गरेका छौं।”
प्रधानमन्त्री दाहालले राजीनामा नदिएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी छ। राजीनामा नदिएमा के गर्नुहुन्छ भन्ने प्रश्नमा ज्ञवालीले भने, “दुई ठूला दलबीच नयाँ सरकार गठन गर्ने सहमति भइसकेपछि उहाँले मार्गप्रशस्त गर्नुहुन्छ होला। मार्गप्रशस्त गर्नुभएन भने अर्को निर्णय गर्छौं।”
कांग्रेस र एमालेबीच असार १७ गते राति नयाँ सरकार गठन गर्ने सहमति भएको थियो। त्यसपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले कांग्रेससँगको सहमतिलाई स्वागत गरेको छ। “एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने एमाले र कांग्रेसबीच भएको समझदारीलाई स्वागत सहित समर्थन गर्ने निर्णय भएको छ,” ज्ञवालीले भने।
त्यस्तै, राष्ट्रिय सहमतिको सरकारका लागि सहयोग गर्न सबै दललाई आह्वान गर्ने निर्णय भएको उनले बताए। “एमाले र कांग्रेसको सहमति अनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीतिक स्थायित्वमा योगदान गर्न संसद्मा रहेका सबै दललाई आह्वान गर्ने निर्णय भएको छ,” उनले भने।
यसअघि मंगलबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले पनि एमालेसँगको सहमतिको स्वागत गरेको थियो। यसलाई अनुमोदन गर्न बुधबार बिहान कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।