हराएका दुई बालक पोखरीमा मृत भेटिए
![हराएका दुई बालक पोखरीमा मृत भेटिए](https://www.himalkhabar.com/uploads/posts/800X600/police-siraha-1719916331.jpg)
सिरहाको नरहा गाउँपालिका-३, खोरियाटोलस्थित पोखरीमा दुई बालक मृत भेटिएका छन्।
स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र आठ वर्षीय भान्जा आशिष मण्डल मृत भेटिएका हुन्। दुवै बालक पोखरीमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुक्तिनाथ सापकोटाले बताए।
डीएसपी सापकोटाका अनुसार दुवै बालक सोमबार दिउँसो हराएका थिए। परिवारजनले खोजीका लागि प्रहरीमा उजुरी दिएका थिए।
सोमबारदेखि नै खोजबिन शुरू गरेको भए पनि मंगलबार मात्रै दुवै बालक मृत भेटिएको डीएसपी सापकोटाले बताए। उनका अनुसार स्थानीय वसन्त यादवको पोखरीमा उनीहरू मृत फेला परेका हुन्।
उनीहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, सिरहामा राखिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सापकोटाले बताए।