महाधिवेशन प्रतिनिधिमा नेपालकै पकड, नयाँको रोजाइमा भुसाल
नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनमा सहभागी नयाँ प्रतिनिधिले घनश्याम भुसाललाई अध्यक्ष बनाउनुपर्ने बताएका छन् भने पुराना प्रतिनिधिले अहिल्यै माधव नेपालको विकल्प खोज्न नहुने तर्क गरेका छन्।
नेकपा (एमाले)बाट विभाजित भएर नयाँ दल बनेपछि नेकपा (एकीकृत समाजवादी) पहिलो पटक महाधिवेशनमा होमिएको छ। असार १६ गते शुरू भएको एकीकृत समाजवादीको महाधिवेशन पाँच दिनसम्म चल्नेछ भने असार १७ गतेदेखि बन्द सत्र शुरू भएको छ।
काठमाडौंको नेपाल प्रज्ञा-प्रतिष्ठानमा चलिरहेको बन्द सत्रमा विभिन्न दस्तावेजसँगै नेतृत्व चयनका लागि पनि छलफल भइरहेको छ। प्रज्ञा-प्रतिष्ठानमा महाधिवेशन प्रतिनिधि बाहेक नेता तथा कार्यकर्ताको पनि जमघट भइरहेको छ।
महाधिवेशनमा भाग लिन देशका विभिन्न भागबाट आएका प्रतिनिधिसँग हिमालखबरले कुराकानी गरेको छ। नेतृत्वको विषयमा सोधिएका प्रश्नमा उनीहरूले फरक फरक जवाफ दिएका छन्। पहिलो पटक महाधिवेशन प्रतिनिधि भएर आएका नेता तथा कार्यकर्ताले नयाँ नेतृत्वको चयन हुनुपर्नेमा जोड दिएका छन् भने पुराना प्रतिनिधिले अहिलेकै नेतृत्वलाई पार्टीको जिम्मेवारी दिनुपर्ने बताएका छन्।
काभ्रेबाट आएका टोपबहादुर वाइबा अध्यक्ष माधवकुमार नेपाल नै फेरि नेतृत्वमा आउनुपर्ने बताउँछन्। त्यस्तै, दोलखाका पासाङ शेर्पा, सर्लाहीका सुरेन्द्र लामा र मकवानपुरका गोविन्द चेपाङ पनि नेपाललाई नै पुनः अध्यक्ष बनाउनुपर्ने मत राख्छन्।
अहिले पार्टी पुनर्गठनको मुद्दा प्रमुख भएकाले नेपालले नै नेतृत्व गर्नुपर्ने उनीहरूको भनाइ छ। वाइबा भन्छन्, “माधव नेपालले एमालेसँग विद्रोह गरेर यहाँसम्म ल्याएका हुन्। अहिले नेपालकै आवश्यकता छ।”
पार्टी अलग भएको तीन वर्षमै नेपालको विकल्प खोज्न नहुने पुराना नेता तथा कार्यकर्ताको मत छ। एकीकृत समाजवादीलाई अन्य पार्टीकै दाँजोमा ल्याउन पनि नेपालको नेतृत्व आवश्यक भएको उनीहरूको भनाइ छ। नेपाललाई हटाउँदा जनमानसमा पनि नकारात्मक सन्देश जाने केहीको तर्क छ।
पार्टी फुटको औचित्य पुष्टि गर्न पनि नेपालकै नेतृत्व चाहिने उनीहरूको विचार छ। “पार्टीभित्रै विभिन्न समस्या छन्। एमालेसँग विद्रोह गर्ने मुख्य व्यक्ति माधव नेपाल हुनुहुन्छ, अहिले उहाँ नै हुनुपर्छ,” अर्की महाधिवेशन प्रतिनिधि सुनीता थापा भन्छिन्। एकीकृत समाजवादीलाई कांग्रेस र एमाले जस्तै ठूलो पार्टी बनाउन पनि लामो समय पार्टी चलाएको अनुभव र अभ्यास गरिरहेका नेपाल नै चाहिनेमा उनको जोड छ।
धादिङका धनबहादुर तामाङ पनि त्यस्तै तर्क गर्छन्। “हामी पार्टीमा टिकेकै माधव नेपाल भनेर हो। हिजो एमालेमा छँदा पनि माधवकै पक्षमा थियौं, आज पनि हुन्छौं,” तामाङ भन्छन्।
अहिले नेपालको विकल्प खोज्ने वेला नभएको उनको तर्क छ। भुसाललाई जिम्मेवारी दिंदा पार्टीभित्र गुट-उपगुट बढ्ने उनको चिन्ता छ। “वर्तमान अवस्थामा माधव नेपाल नै अध्यक्ष हुनुपर्छ, अहिले विकल्प खोज्ने वेला होइन,” तामाङ भन्छन्।
अछामबाट आएकी ललिता रेग्मी (केशरी) भने फरक मत राख्छिन्। नयाँ प्रतिनिधिका रूपमा आएकी रेग्मी पुस्तान्तरण र हस्तान्तरणको पक्षमा देखिन्छिन्। “पुराना नेतालाई सम्मान छ, तर आजको आवश्यकता नयाँ नेतृत्वको हो,” उनी भन्छिन्।
नयाँ बनेका दलमा युवा नेतृत्व रहेको उल्लेख गर्दै यो समय र समाजको माग भएको उनको भनाइ छ। उनी प्रश्न गर्छिन्, “पुरानालाई नै जीवनभर नेतृत्वमा राखिराख्दा म जस्ता नयाँले कहिले अवसर पाउँछन्, कहिले नेतृत्वमा पुग्छन्?”
अहिले एकीकृत समाजवादीको नेतृत्वका लागि अध्यक्ष नेपाल र महासचिव घनश्याम भुसाल दाबेदार देखिएका छन्। अर्का नेता झलनाथ खनालले चुनाव भएमा भुसाललाई सघाउने संकेत गरिसकेका छन्। महाधिवेशन प्रतिनिधि पनि त्यसै अनुसार चर्चा-परिचर्चा गरिरहेका छन्।
त्यस्तै, अर्का प्रतिनिधि दामोदर अर्याल पनि नयाँ नेतृत्व चाहिने बताउँछन्। अन्य पार्टीमा नयाँ पुस्ताले हस्तक्षेप गरिराखेको वेला एकीकृत समाजवादी पनि चुप लागेर बस्न नहुने उनको भनाइ छ। अर्याल भन्छन्, “अब समय फेरिएको छ, पाकालाई सम्मान, युवालाई काम हुनुपर्छ।”
सहमतिमा जोड
प्रज्ञा भवनमा उपस्थित धेरैको चाहना सहमतिमा नेतृत्व चयन हुनुपर्ने भन्ने छ। सहमति हुँदा एकताको सन्देश जाने उनीहरू बताउँछन्। चुनावपछि पार्टीमा गुट बन्ने उनीहरूको भनाइ छ। नयाँ घरमा पनि पुरानोमा जस्तै गुट बनाएर हिंड्न नहुने कतिपय प्रतिनिधिको तर्क छ।
पर्साबाट आएका प्रतिनिधि मनोज चौधरी अध्यक्षमा सहमति गर्नुपर्ने बताउँछन्। “चाहे माधव नेपाल आऊन्, चाहे घनश्याम भुसाल। सर्वसम्मति हुनुपर्छ,” उनी भन्छन्।
अहिले पार्टी निर्माण गर्नुपर्ने वेला भएकाले एकजुट हुनुपर्ने उनको भनाइ छ। “अहिलेसम्म पार्टीले ठूलो क्षति बेहोरेको छ, चुनावमा राम्रो नतीजा आएन। राष्ट्रिय पार्टी बन्न सकेन,” चौधरी भन्छन्, “सर्वसम्मति गरेर आमनेता, कार्यकर्ता र जनतालाई राम्रो सन्देश दिनुपर्छ।”
भुसाललाई प्रतिनिधिका प्रश्न
महासचिव भुसालको प्रशंसा गरेका महाधिवेशन प्रतिनिधिले पनि केही विषयमा भने प्रश्न गरेका छन्। उनी नेतृत्वका लागि ठीक भए पनि यसअघिको भूमिकालाई ध्यानमा राख्नुपर्ने उनीहरूको तर्क छ।
एमालेसँग विभाजन भएर एकीकृत समाजवादी बन्दा भुसालले ढुलमुले नीति लिएको केहीको भनाइ छ। विभाजन हुँदा एमालेमै रहेको, प्रतिनिधि सभाको चुनावमा टिकट नपाएर एमाले छोड्दा पनि नेकपा (माओवादी केन्द्र)सँग नजिक भएकोप्रति उनीहरूको असन्तुष्टि देखिन्छ।
एमाले छाडेको लामो समयपछि मात्रै एकीकृत समाजवादीमा आएको उल्लेख गर्ने प्रतिनिधि भुसालसँग सन्तुष्ट छैनन्। “घनश्याम भुसाल शुरूमै पार्टीमा आएको भए राम्रो हुन्थ्यो। माधव नेपाललाई उक्साएर आफू एमालेमै बसे,” बाँकेबाट महाधिवेशन प्रतिनिधि भएर आएकी भगवती अधिकारी भन्छिन्, “बीचमा माओवादीको शरणमा गए। तैपनि महासचिव बनायौं, अहिले अध्यक्ष बनाउने वेला भएको छैन।”
भुसाल यो कार्यकालमा महासचिव भएर अर्को पटक अध्यक्षका लागि उभिनुपर्ने केही प्रतिनिधिको भनाइ छ। केही भने खनालले सहयोग गर्ने भएपछि जित्ने सम्भावना रहेकाले अध्यक्षको उम्मेदवार बन्नुपर्नेमा जोड दिन्छन्।
नेपाल र भुसाल उम्मेदवार भएमा नेपालकै पल्ला भारी हुने देखिन्छ। एक केन्द्रीय सदस्यका अनुसार अहिले आएका प्रतिनिधिमा नेपालकै बहुमत छ। देशभरबाट छनोट भएर आएका प्रतिनिधिमा पुरानाकै बाहुल्य छ।
एकीकृत समाजवादीको महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधि आएका छन्। जसमा नेपालको पक्षमा एक हजारभन्दा बढी प्रतिनिधि रहेको एक केन्द्रीय सदस्यको आकलन छ। त्यस्तै, भुसाल र खनाल पक्षका प्रतिनिधिको संख्या जोड्दा ८०० हाराहारी पुग्ने अनुमान छ।