सरकार फेरिने भएपछि शेयर बजारमा उत्साह
सत्ता समीकरणमा फेरबदल आउने तय भएसँगै शेयर लगानीकर्ताहरू उत्साहित देखिएका छन्।
शेयर बजार परिसूचक नेप्सेको सूचकांक तीव्र गतिमा बढेपछि सकारात्मक सर्किट ब्रेक लागेको छ। परिसूचक तीव्र गतिमा बढेपछि निश्चित अवधिका लागि कारोबार रोक्ने प्रक्रिया सर्किट ब्रेक हो।
शेयर बजारमा ११ बजे कारोबार शुरू भएको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेको थियो। यसपछि २० मिनेटका लागि कारोबार रोकियो। पहिलो मिनेटमै कारोबार भएका २१६ कम्पनीको मूल्य बढ्न पुगेको थियो। जम्मा एउटा कम्पनीको मूल्य घटेको थियो।
फेरि कारोबार खुले लगत्तै नेप्से परिसूचकको वृद्धि पाँच प्रतिशत पुगेको थियो। यसपछि फेरि सर्किट ब्रेक लागेको छ। लगातार तीन पटक सर्किट ब्रेक लागेमा अर्थात्, परिसूचकको वृद्धि ६ प्रतिशत पुगेमा आजका लागि कारोबार रोकिन्छ।
गए राति नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार बनाउन समझदारी गरेका थिए। समझदारी अनुसार नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन्।