एमालेसँगको सहमति अनुमोदन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
नेकपा (एमाले)सँग भएको सहमति अनुमोदन गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
गए राति कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति बनेको थियो। सहमतिमा दुवै दलले आलोपालो सरकारको नेतृत्व गर्ने तय भएको छ।
यसबारे जानकारी दिन कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएका थिए। देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा एमालेसँगको सहमतिबारे छलफल भएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताए।
एमालेसँगको सहमतिलाई पदाधिकारी बैठकले स्वीकार गरेको महतले बताए। “एमालेसँग महत्त्वपूर्ण मुद्दालाई केन्द्रबिन्दुमा राखेर एउटा समझदारी भएको छ,” महतले भने, “राजनीतिक स्थायित्व दिन, संविधानलाई समसामयिक रूपमा संशोधन गर्न दुई दलबीच सँगै अगाडि बढ्ने र आवश्यकता अनुसार अरू दललाई सहभागी गराउने सहमति भएको छ।”
कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा सभापति देउवाले एमालेसँगको सहमतिबारे जानकारी गराएका थिए। यो सहमतिलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने तय भएको महतले बताए।
सभापति देउवाले बुधबार बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। बैठकले एमालेसँगको सहमति अनुमोदन गर्ने महतले जानकारी दिए।
यस्तै, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न गएको भन्ने समाचार गलत भएको महतले बताए। “शेरबहादुर देउवा र ओलीजी राष्ट्रपतिकहाँ पुगे भन्ने समाचारमा सत्यता छैन,” उनले भने।