प्रमुख तीनै पार्टीले बोलाए बैठक
सत्ता समीकरण फेरबदल हुने भएपछि प्रमुख तीनै पार्टीले पदाधिकारी तथा सचिवालयको बैठक बोलाएका छन्।
नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सरकार बनाउने सहमति भएको छ। गए राति दुवै दलका शीर्ष नेताबीच सहमति भएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमति अनुमोदन गराउन दुवै दलले पदाधिकारी बैठक बोलाएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले बताए। कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको छ।
त्यस्तै, एमाले अध्यक्ष ओलीले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाएका छन्। आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उनको भनाइ छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पनि पदाधिकारी बैठक बोलाएका छन्। कांग्रेस र एमालेबीच भएको सहमति लगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको माओवादी सचिव गणेश साहले बताए। प्रधानमन्त्री दाहालले राजनीमा दिने कि नदिने भन्ने लगायत विषयमा छलफल हुने साहको भनाइ छ।
यसैगरी, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सचिवालय बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको रास्वपाले जनाएको छ।
यो पनि पढ्नुहोस् : कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति