कांग्रेस बैठकमा देउवाले भने- ओलीसँगको सम्बन्ध सुमधुर बनेको छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध अहिले सकारात्मक र सुमधुर बनेको बताएका छन्।
कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको सोमबारको बैठकमा सभापति देउवाले एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताबारे जानकारी दिएका हुन्। देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा कांग्रेस पदाधिकारीले बालकोट भेटवार्ताबारे सोधेका थिए।
कांग्रेस सभापति देउवा असार १५ गते ओली निवास बालकोट पुगेका थिए। दुवै नेताबीच करीब तीन घन्टा भेटवार्ता भएको थियो।
ओलीसँगको भेटवार्ताका विषयमा सोमबारको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा जानकारी दिएको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए। बैठकबारे सञ्चारकर्मीसँग कुराकानी गर्दै विश्वकर्माले भने, “समसामयिक राजनीतिबारे पनि बैठकमा छलफल भएको छ, सभापतिले बालकोट भेटवार्ताबारे जानकारी गराउनुभयो।”
विश्वकर्माका अनुसार देउवाले बैठकमा ओलीसँगको भेटवार्ता सकारात्मक रहेको बताएका छन्। “केपी ओलीजीसँग अत्यन्त सौहार्दपूर्ण वातावरणमा भेटघाट भएको छ। सकारात्मक कुराहरू छन्, यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं,” देउवाले बैठकमा भने।
सभापति देउवाले ओलीसँगको सम्बन्ध सुधार भएको पनि बैठकमा बताएका छन्। “ओलीजीले चिया खान बोलाउनुभयो। हामी गयौं, बस्यौं,” देउवाले कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीसँग भने, “अहिले हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर बनेको छ।”
देउवा र ओलीबीचको भेटवार्तालाई सत्ता समीकरण परिवर्तनको तयारीका रूपमा पनि चर्चा भइरहेको छ। यस विषयमा सोधिएको प्रश्नमा कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले भने, “दुई ठूला दलका नेताबीच भेटवार्ता भएपछि अनुमान लगाउनु स्वाभाविक हो, तर यस विषयमा सभापतिले धेरै जानकारी दिनुभएको छैन।”
यससँगै कांग्रेस बैठकमा भ्रातृ संस्थाको समयावधि थप्ने विषयमा पनि छलफल भएको छ। भ्रातृ संस्थाको म्याद असार १५ मा सकिएकाले थप्नुपर्ने दृष्टिकोण बनेको विश्वकर्माले बताए।
त्यस्तै, चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)का विषयमा पनि कांग्रेस बैठकमा छलफल भएको छ। यसलाई ऋणभन्दा पनि अनुदानमा रूपमा लिनुपर्ने निर्णय भएको उनले बताए। “बीआरआईलाई कांग्रेसले अनुदानका रूपमा स्विकार्छ, ऋणका रूपमा लिन नेपाल सक्षम छैन,” कांग्रेसका निर्णयबारे जानकारी दिंदै विश्वकर्माले भने, “कांग्रेस चीनसँग नकारात्मक छैन, तर नेपाल सरकार र नेपालको क्षमताका आधारमा बीआरआईका परियोजना ऋणमा होइन, अनुदानमा हुनुपर्छ।”
यसका लागि चीन सरकारसँग आग्रह गर्नुपर्ने कांग्रेसको निष्कर्ष छ।