एकीकृत समाजवादीको महाधिवेशनमा खनालको नेतृत्वमा अध्यक्षमण्डल
नेकपा (एकीकृत समाजवादी)ले दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको महाधिवेशनको बन्द सत्रले अध्यक्षमण्डल गठन गरेको हो। अध्यक्षमण्डलमा वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रवेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुसाल, महबुज आलम र गणेश विक सदस्य छन्।
अध्यक्ष नेपालले महाधिवेशन सम्पन्न गर्न अध्यक्षमण्डलका अध्यक्ष खनाललाई टोपी र झोला प्रदान गरी जिम्मेवारी हस्तान्तरण गरे। अध्यक्षमण्डललाई सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने, विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्तावेज बनाएर पारित गर्ने जिम्मेवारी तोकिएको छ।
त्यस्तै, बन्द सत्रले उपमहासचिव प्रकाश ज्वाला संयोजक रहेको तीन सदस्यीय माइन्यूट लेखन कमिटी गठन गरेको छ। यसमा गंगालाल तुलाधर र विजय पौडेल सदस्य छन्।
यसैगरी, बन्द सत्रले उपमहासचिव जगन्नाथ खतिवडाको संयोजकत्वमा बहस नोट कमिटी गठन गरेको छ। यस समितिमा राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, भवीश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खान, सरिता खड्का र नवराज श्रेष्ठ सदस्य छन्।
बन्द सत्रमा पुराना कम्युनिस्ट नेताहरू सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, शम्भु शाह, रामऔतार पासवान, हुन्छेबहादुर ढुकुचू, नारायणप्रसाद वैद्य, शीतल झा र विजयलाल श्रेष्ठलाई सम्मानित गरिएको छ।
महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधि सहभागी छन्। असार २० गतेसम्म सञ्चालन हुने महाधिवेशनले नेतृत्व चयन गर्नेछ।
यो पनि पढ्नुहोस् : ‘महाधिवेशनले माधव नेपाललाई फेरि अध्यक्ष चयन गर्छ’