आगामी तीन दिन चार प्रदेशमा अत्यधिक वर्षाको प्रक्षेपण
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका चार वटा प्रदेशका केही जिल्लामा अत्यधिक वर्षाको सम्भावना रहेको जनाएको छ।
आगामी तीन दिन देशभर मनसुन थप सक्रिय हुने विभागको आकलन छ। न्यूनचापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना रहेको विभागले जनाएको छ।
असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। विशेष गरेर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा अत्यधिक वर्षाको सम्भावना छ।
त्यस्तै, बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा, गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङमा अत्यधिक वर्षा हुने प्रक्षेपण गरिएको छ।
लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्वमा पनि आगामी तीन दिन अत्यधिक वर्षा हुने विभागको अनुमान छ।
अत्यधिक वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।