‘महाधिवेशनले माधव नेपाललाई फेरि अध्यक्ष चयन गर्छ’
‘घनश्याम भुसाल कुनै पनि हालतमा नयाँ होइनन्। नयाँ हुनलाई त नयाँ पुस्ताबाट आएको हुनुपर्छ। ६३ वर्षको मान्छे कसरी नयाँ पुस्ताको हुन सक्छ र?’
नेकपा (एमाले)बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को दशौं महाधिवेशन असार १६ मा काठमाडौंको नेपाल प्रज्ञा-प्रतिष्ठानमा शुरू भएको छ। पाँच दिनसम्म चल्ने महाधिवेशनले नेतृत्व चयन गर्नेछ।
एकीकृत समाजवादीको नेतृत्वका लागि एकातिर सहमतिको प्रयास भइरहेको छ भने अर्कातिर अध्यक्ष नेपालसँगै सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल नेतृत्वको दौडमा छन्। महाधिवेशनमा केन्द्रित रहेर एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरसँग हिमालखबरका लागि धनु विश्वकर्माले गरेको कुराकानी :
एकीकृत समाजवादीको महाधिवेशन गर्न अझै तीन वर्ष समय थियो। किन अहिले महाधिवेशन गर्ने अवस्था आयो?
अहिले महाधिवेशन नगरेको भए पनि हुन्थ्यो। २०७८ भदौ ९ गते निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र पाएका थियौं। त्यसको पाँच वर्षभित्र महाधिवेशन जहिल्यै गरे पनि हुन्थ्यो।
विद्रोह गरेर पार्टी बनाएका हौं। कतिपयले ‘यो पार्टीले न थ्रेसहोल्ड कटाउन सक्यो न त राष्ट्रिय पार्टी हुन सक्यो। जुन तरीकाले पार्टी अगाडि बढ्नुपर्ने हो, त्यो हुन सकेन। केही केही मान्छे र नेताहरू पुरानै घर फर्किए’ भन्ने गरेका थिए।
त्यो आरोप खेपिरहनुपर्दा साह्रै पीडा भइरहेको थियो। त्यो पीडाबाट मुक्ति पाउनका लागि पनि किन विद्रोह गरेका थियौं भन्ने कुरा देश र दुनियाँलाई बताउन जरूरी छ।
अर्को, यो नयाँ पार्टीका रूपमा देखिए पनि २००६ सालमा बनेको कम्युनिस्ट पार्टीकै निरन्तरता हो। कमरेड पुष्पलालले स्थापना गरेको पार्टीकै निरन्तरता हो भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्नुपर्ने आवश्यकता छ।
त्यस्तै, २०६२/६३ सालको जनआन्दोलनको सफलतापछि समाज रूपान्तरणको एउटा प्रकिया सकियो। मुलुकबाट २४० वर्ष लामो राजतन्त्रलाई उन्मूलन गर्यौं। त्यो भन्नुको अर्थ हिजोको अर्धसामन्ती र अर्धपूँजीवादी चरण अब रहेन। अबको समाज पूँजीवादको चरणमा प्रवेश गर्यो।
अहिलेको पूँजीवादी समाजका लागि नयाँ क्रान्ति भनेको नेपाली विशेषताको समाजवाद हुन सक्छ। नेपाली विशेषताको समाजवादी क्रान्ति गर्न समाजवादी कार्यक्रम लिएर अगाडि बढ्नुको विकल्प छैन। यो कुरा संविधानमा पनि उल्लेख गरेका छौं। साझा संकल्प र दायित्व बनेको छ।
यस्तो वेला एकीकृत समाजवादीले नेपाली विशेषताको समाजवादी कार्यक्रम अगाडि सारेर अबको लक्ष्य समाजवाद हो भन्ने कुरा आमनेपाली र विश्व समुदायमा बताउनुपर्ने भएको छ। त्यसका लागि यो महाधिवेशन प्रस्थानबिन्दु हुन्छ। यसले नयाँ आशाको किरण जगाउनेछ। आमकम्युनिस्टको विश्वास जगाउनेछ। वामपन्थी एकताको शुरूआत पनि यसै बिन्दुबाट हुनेछ।
यस महाधिवेशनले नेपाली विशेषताको समाजवादी कार्यक्रम मात्रै नभएर राजनीतिक र संगठनात्मक प्रस्ताव पनि पारित गर्नेछ। त्यससँगै विधान पनि छ। यसरी चार वटा दस्तावेज पारित गर्नुका साथै दस्तावेजको मार्गदर्शनमा एकीकृत समाजवादीले काम गर्न योग्यतम नेतृत्व समूह चयन गर्नेछ। पाँच वर्षभित्र गर्नुपर्ने भए पनि नयाँ गतिका साथ अघि बढाउनुपर्ने आवश्यकता ठानेर अहिले नै महाधिवेशन आयोजना गरेका हौं।
नेतृत्वका लागि अहिले अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल अघि सरेका छन्। खनालको समूहले भुसाललाई समर्थन गर्ने समाचार आइरहेका छन्। एकीकृत समाजवादीमा पनि गुट बनाएर चुनावी प्रतिस्पर्धा हुन लागेको हो?
यस्तो भयो भने दुःखको कुरा हुन्छ। तीन जनाबीच प्रतिस्पर्धा भयो भने एकले जित्ने र दुई जनाले हार्छन् नै। दुई जनाले हार्दा आममतदाता र प्रतिनिधिमा खल्लोपन ल्याउनेछ। यसले निराशा पनि बढाउन सक्छ।
यस्तो हुन नदिन सकेसम्म चुनावी प्रतिस्पर्धामा नजाने र तीनै नेताको मानसम्मान राखेर अहिलेको नेतृत्वलाई अनुमोदन गर्ने विचार गरिरहेका छौं। सगौरव पार्टी एकताको सन्देश दिन लागिरहेका छौं।
सकभर यही नेतृत्वको निरन्तरताका लागि तीनै नेतालाई सर्वसम्मति गर्न दबाब दिन्छौं। यदि त्यसो भएन भने पनि माधव नेपालको नेतृत्वलाई अनुमोदन गर्ने कि अरूलाई अध्यक्ष बनाउने भन्ने महाधिवेशन प्रतिनिधिको जिम्मामा छ। महाधिवेशन प्रतिनिधिहरू माधव नेपालको नेतृत्वलाई अनुमोदन गरेर फर्किनुहुनेछ।
एमालेबाट विभाजन भएर आएपछि भइरहेको पहिलो महाधिवेशनमै तीन गुटमा प्रतिस्पर्धा हुँदा कार्यकर्तामा निराशा छाउँदैन त?
हिजो विद्रोह गरेर पार्टी पुनर्गठन गर्नुपर्ने वेलामा पनि उत्साहितभन्दा पीडादायी अवस्थामै थियौं। किनभने हाम्रा ऊर्जाशील दिनहरू, उमेर, बैंस सम्पूर्ण एमाले बनाउन, आन्दोलन हाँक्न र सिंगो कम्युनिस्ट आन्दोलनमा समर्पित गरेका थियौं। त्यस वेला थुप्रै खालका त्याग, तपस्या र बलिदानी दिनुपरेको थियो। कैयौं दौंतरीले शहादत प्राप्त गर्नुभयो। कैयौं पटक मृत्युसँग जम्काभेट गरेर बाँचेका हौं। त्यस्तो परिस्थिति झेलेर आएका हामी अहिले एकताबद्ध भएर जाँदा राम्रो हुन्छ।
अर्को, एमालेबाट विरक्त भएर आए पनि नयाँ पार्टीको झन्डा आत्मगौरवका साथ उठाउने स्थिति भयो भने राम्रो हुन्छ। यो पार्टी पुनर्गठनमा आएका सबै विद्रोही हौं। हाम्रो पार्टीका अध्यक्ष माधवकुमार नेपाल मूल विद्रोही हुन्। हामी अरू सबै सहयोगी विद्रोही हौं। यी सबै सहयोगी विद्रोहीको भावना नकुँडिने गरी एकताबद्ध भएर जान सके धेरै राम्रो हुन्छ।
महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्छ कि चुनावमै जानुहुन्छ?
सर्वसम्मति हुने एउटा सूत्र भनेको माधवकुमार नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित अथवा वरिष्ठ नेताका ठाउँमा रहने र घनश्याम भुसालले महासचिवमा रहने हो। यो नै सहमतिको उच्चतम बिन्दु हो।
खनालजी र घनश्यामजीहरूले यो सूत्र मान्नुभएन भने महाधिवेशनमा उपस्थित प्रतिनिधिको अत्यधिक मतले कमरेड माधवकुमार नेपाललाई नै पुनः एक पटक अध्यक्ष बनाउनेछ। अरू केही कमरेडले अरू पदका लागि प्रतिस्पर्धा गर्नेछन्। तर यो त्यति मीठो शब्द त होइन।
अध्यक्ष नेपाललाई नै फेरि अध्यक्ष बनाउनुपर्ने कारण के छ?
माधवकुमार नेपाललाई नै अध्यक्ष बनाउनुपर्ने धेरै कारण छन्। त्यसमध्ये दुई/चार वटा प्रतिनिधिमूलक कारणमा एमाले धारको र अहिले एकीकृत समाजवादीको पुनर्गठनसम्म आइपुग्दा यसका संस्थापक नेता माधवकुमार नेपाल हुनुहुन्छ।
२०४६ सालको जनआन्दोलनको नेतृत्व गर्दा त्यसको नीतिनिर्माताका रूपमा मुख्य योेजनाकार हुनुहुन्थ्यो। माओवादीको १० वर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन कहिले सिलगुडी पुग्नुभएको छ, कहिले आफ्ना नेताहरूलाई लखनऊ पुर्याउनुभएको छ त कहिले रोल्पा पुर्याउनुभएको छ। लामो समय माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर मुलुकमा नयाँ जनक्रान्तिको आवश्यकता बोध गराउनुभएको छ। यसको अगुवाइ र नेतृत्व गर्नुभएको छ।
संविधान निर्माण प्रक्रियामा विभिन्न प्रयत्न गर्नुभयो। प्रधानमन्त्री भएर कैयौं खालका जिम्मेवारी पूरा गर्नुभयो। पछिल्लो पटक केपी शर्मा ओलीले दुई/दुई पटक संसद् विघटन गरेर मुलुकलाई जबर्जस्ती प्रतिगमनतिर धकेलिसकेपछि, संविधान च्यातचुत पार्ने खालको स्थिति बनाएपछि मुलुकमा संघीयता, लोकतन्त्र र गणतन्त्रलाई कमजोर पार्ने प्रपञ्च भएपछि आफ्नै पार्टी अध्यक्षको विरुद्ध विद्रोहको झन्डा बोक्ने आँट गुर्नभयो। यदि त्यो आँट गर्नुभएको थिएन भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) कोही पनि सडकमा आउने थिएनन्। प्रतिगमन सच्चिंदैनथ्यो होला। आज संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल छत्रछायामा सास फेर्ने स्थिति पनि बन्दैनथ्यो होला।
यो मेरो मात्रै मनगढन्ते कुरा होइन। हाम्रै महाधिवेशन उद्घाटन समारोहमा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत अन्य दलका नेताहरूले पनि यिनै कुरा मुक्तकण्ठले प्रशंसा गरेका छन्। यो अभिभारा समाजवादीलाई छ। त्यसैले कमरेड नेपालको औचित्य र आवश्कयता अहिले पनि विद्यमान छ।
अहिले सबै पार्टीमा नयाँ पुस्ताको चर्चा भइरहेको छ। घनश्याम भुसाल पनि आफूले नयाँ पुस्ताको नेतृत्व गर्ने बताउँदै आएका छन्। भुसाललाई नेतृत्व दिंदा के फरक पर्ला र?
घनश्याम भुसाल कुनै पनि हालतमा नयाँ होइनन्। नयाँ हुनलाई नयाँ पुस्ताबाट आएको हुनुपर्छ। ६३ वर्षको मान्छे कसरी नयाँ पुस्ताको हुन सक्छ र? नयाँ हुनका लागि ३० देखि ४५ वर्ष उमेर समूहबाट आउन सक्नुपर्थ्यो। नयाँ बोतलमा पुरानो रक्सी हालेर नयाँपन दिन सकिंदैन। बरु पुरानै नेतृत्वलाई दोस्रो पटक निरन्तरता दिऔं भन्ने हो।
घनश्यामजीसँग योग्यता र क्षमता छ। अहिले घनश्यामको भन्दा पनि माधवको आवश्यकता छ। यो माग पार्टीभित्रको मात्रै होइन, समाजको पनि हो। अहिलेको परिप्रेक्ष्यमा माधवसँग जुन खालको अनुभव र दक्षता छ, त्यो अरूसँग छैन।
घनश्याम भतिजा पुस्ताका भए मान्न सकिन्थ्यो। घनश्याम माधवभन्दा सात वर्ष मात्रै कान्छा हुन्। भाइ पुस्ताका हुन्। यो नयाँ पुस्ता भनेर दिग्भ्रममा पर्न जरूरी छैन। बरु महासचिव भएर पाँच वर्ष माधवलाई सघाएर आगामी दिनमा अध्यक्ष बन्नका लागि थप निखारता ल्याए भने सुन्दर र सही बाटो हुन्छ।