आजदेखि पेट्रोल र डिजेलको मूल्यवृद्धि
नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरिएको आयल निगमले जनाएको छ। सोमबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेलमा पाँच रुपैयाँ वृद्धि गरिएको हो।
त्यस्तै, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ। मूल्यवृद्धिसँगै चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा कायम गरिएको छ। त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य १५४ रुपैयाँ ५० पैसा पुगेको छ।
सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य १५६ रुपैयाँ पुगेको निगमले जनाएको छ।
काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य १५७ रुपैयाँ कायम भएको निगमले जनाएको छ।