एकीकृत समाजवादीको महाधिवेशनमा कसले के भने?
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले लोकतन्त्र खतरामा रहेको बताएका छन्।
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सबै मिलेर लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताए। “अहिले लोकतन्त्र खतरामा छ, लोकतन्त्र विरुद्ध देशी-विदेशी शक्ति लागेका छन्,” नेपालले भने।
उनले आफ्नो पार्टी संविधान र गणतन्त्रको रक्षाका लागि स्थापना भएकाले देशभरका जनतामा विश्वास बढेको बताए। जनताको अधिकार स्थापित गर्न आत्मविश्वासका साथ पार्टीलाई जनतामा केन्द्रित गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीले लोकतन्त्रको रक्षा तथा मुलुकको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे। एकीकृत समाजवादीमा रहेका अनुभवी नेताहरूले आगामी दिनमा राष्ट्रिय राजनीतिमा सही दिशानिर्देश गर्नुपर्नेमा देउवाले जोड दिए।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनवादी र समाजवादी क्रान्तिबारे जानकारी दिंदै राष्ट्रको विकास तथा सुशासनका लागि सबै दलले आपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताए।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आमजनता र नेतृत्वबीच मत फरक भएपछि समस्या आउने गरेको धारणा राख्दै दलहरू जनताप्रति जवाफदेही हुनुपर्ने विचार व्यक्त गरे। रोजगारी वृद्धि गर्न, शिक्षा, सहकारी लगायत राष्ट्रिय समस्या समाधानमा सबै दल एकजुट हुनुपर्ने लामिछानेको भनाइ थियो।
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले हजारौं शहीदको बलिदानबाट प्राप्त अहिलेको व्यवस्थालाई कमजोर हुन दिन नहुने बताए। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रमाथि स्वेच्छाचारिता, कमिशनतन्त्र, भ्रष्टाचार बढ्दै गएकाले त्यसको न्यूनीकरण गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।
जनमत पार्टीका अध्यक्ष सीके राउतले लोकतान्त्रिक आन्दोलनमा एकीकृत समाजवादीका नेताहरूको ठूलो योगदान रहेको बताउँदै समाजवादी आदर्श अवलम्बन गर्ने नेताहरूले सोही अनुरूप आचरण सरल बताउनुपर्ने बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विशेष परिस्थितिमा गठित पार्टीलाई देश र जनताको सेवामा क्रियाशील रहन सुझाव दिए। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सम्पूर्ण राष्ट्रको विकास तथा जनताको समृद्धिका लागि पार्टीभित्र नयाँ वैचारिक दृष्टिकोण महाधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरिन्।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्दले राष्ट्रिय स्वाधीनता बलियो बनाउन सबै दलबीच सहमतिको खाँचो औंल्याए। लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले जनताको सामाजिक-आर्थिक रूपान्तरणका लागि संविधान संशोधन आवश्यक रहेको बताए।
आइतबार शुरू भएको एकीकृत समाजवादीको महाधिवेशन पाँच दिनसम्म चल्नेछ। सोमबारदेखि बन्द सत्र शुरू हुनेछ। महाधिवेशनले केन्द्रीय नेतृत्वको चयन गर्नेछ।