छाता ओढेर झरी बोलाउने गीत
लामो समय पानी नपरेपछि थारू समुदायका महिला गोरु बेह्रना चलन अनुसार छाता ओढेर गीत गाउँदै गाउँ चहार्छन्, के यसरी चहार्दा पानी बर्सन्छ?
उखरमाउलो गर्मी खेपेर बर्दियाको बारबर्दिया क्षेत्रबाट असार ४ मा काठमाडौं फर्किन बाँकेको नेपालगन्जतिर लागें। धम्बोजी चोकमा उखुको जूस पिएर गर्मी भगाउने बहाना त बनाएँ, तर काम लागेन। नेपालगन्ज विमानस्थलतर्फ हुइँकिइरहेको बाइकमा पनि गर्मीले यति ऐया-आत्थु पार्यो कि, मानूँ आगोको लहरमै कुदिएको छ।
काठमाडौं ओर्लिंदा एकाएक शीतल महसूस भयो। सरसर्ती मोबाइलमा सामाजिक सञ्जाल चहार्दै गर्दा महिलाको गोरु बेह्रनाको तस्वीरमा नजर अडियो। बाँकेको राप्ती सोनारी क्षेत्रको यो तस्वीर सुविता थारूले पोस्ट गरेकी थिइन्।
रोपाइँको वेला जब लामो समयसम्म वर्षात हुँदैन, तब थारू महिलाले गीत गाएर पानी पार्ने उपाय खोज्छन्। त्यसैको एउटा उदाहरण हो, गोरु बेह्रना। यसलाई गैया बेह्रना पनि भनिन्छ। यस आलेखमा त्यही गोरु बेह्रना चलनको चर्चा गरिएको छ।
गोरु बेह्रनाको शुरूआत
गोरु बेह्रनाको सामान्य अर्थ गोरुलाई आफ्नो नियन्त्रणमा लिनु हो। थारू समुदायमा यो चलन सदीयौंदेखि नै चल्दै आएको छ। यसको प्रादुर्भाव महाभारतकालीन सम्बन्धसँग जोडिएको देखिन्छ।
पाण्डवलाई शरण दिएका विराट् राजालाई घुँडा टेकाउन कौरवका सेनाले उनका गोरु लगेका हुन्छन्। प्रतिष्ठाको प्रतीक गोरु फिर्ता नगरी नहुने अवस्थाले महाभारतको लडाइँ शुरू भएको मानिन्छ।
थारू समुदायमा रहेको गोरु बेह्रना चलनको सांस्कृतिक पाटोले महाभारतकालीन परम्परा झल्काउँछ। पानी नपर्दा छिमेकी गाउँको गोरु कब्जा गरिन्छ। यसको शुरूआत महाभारतकालबाटै भएको जनविश्वास छ।
गोरु बेह्रनाको तयारी
पानी नपरेपछि गाउँभरिका युवती गाउँको अगुवा बरघरको घरमा जम्मा हुन्छन्। व्यक्तिपिच्छे एक-एक माना चामल उठाउँछन्। विवाहितालाई भान्से बनाउँछन्। बेलुकीको खाना सँगसँगै खाएर छिमेकी गाउँको खेतबाट हलो चोरेर ल्याउँछन्।
शान्ति चौधरीका अनुसार त्यसपछि राति दुई युवतीलाई आँगनमा गोरु बनाई उल्टो हलो नार्छन्। अर्थात् फाली माथि अनि हलोको चरो तल पारेर जोत्छन्। अर्को दिन बिहानै छिमेकी गाउँको गाई समात्न दौडिन्छन्। गाई समात्न जाने वेला गीत गाउँछन्।
उत्तर डख्खिन चुरवा चम्के रे, कि बिजली टोरंगन,
काटी ढरबुँ, रैनी मछरिया, कि मेघवा बाबा पानी डेउ।
अर्थात्, चट्याङले उत्तर-दक्षिण चुरे चम्कियो। काटकुट पार्छु रैनी माछा, मेघ गर्जन सहित पानी देऊ।
गाई नभेटिए छिमेकी गाउँका विवाहिता महिला या युवतीलाई समातेर ल्याउने गरिन्छ। छिमेकी गाउँबाट खोज्न नआउँदासम्म गाई वा महिलालाई मेवामिष्ठान्न खुवाउने गरिन्छ।
गोरु बेह्रनामा सहभागी हुने युवती तथा महिलाले केटाको पोशाक लगाउँछन्। महाभारतमा गोरु छुटाउन लडाइँ भएको थियो भने थारू समुदायको गोरु बेह्रनामा गीत गाएर गोरु छुटाएर लगिन्छ।
छुटाउन आउँदा पनि गीतकै भाकामा वार्ता हुन्छ। कब्जामा राखेको टोलीले समय लम्ब्याउन खोज्छ भने छुटाउन आउने टोलीले छोड्न बिन्ती गर्छ।
सुनो सुनो बह्रैया भैया मितवा रे, सुनो रे मोर बिनती
जल्दीसे बन्दुकीमे फुलिया मेह्राई डेउ आजु रे राजा लरही।
अर्थात्, सुन, ए भाइ, मेरो बिन्ती सुन। छिटै बन्दूकमा गोली भरिदेऊ, आज राजा लड्नेछन्।
अर्को टोलीले जवाफ दिन्छ-
झिन झिन सुटवा कटैबुँ रे, कि सपटी बनैबुँ
उहे सपटी पहिर दुपर्ति राजा लडन जैही।
अर्थात्, मसिनो गरी धागो काट्न लगाउनेछु। त्यसैको सप्को बनाउनेछु, त्यही सप्को पहिरेर हाम्रा द्रोपदी राजा लड्न जानेछन्।
गोरु बेह्रनामा महिला पुरुषको भेषमा हुने भएकाले यहाँ द्रोपदीलाई पनि राजासँग तुलना गरिएको छ, सप्कोलाई नै बन्दूकको पर्याय मानिएको छ। गाउँमा आएको टोलीले लिएर जाँदा सिमानासम्म पुगेर बिदाइ गर्ने चलन छ।
गोरु छोडेपछि थारू युवतीहरू पेन्ट-सर्ट लगाएर सट्की बाँध्छन्। सट्की बँधाइ छड्के दुपट्टा बाँधे जस्तो हुन्छ। सबैको हात हातमा छाता हुन्छ। प्रायः जब प्रचण्ड गर्मीमा धानको बीउ राख्न पानी हुँदैन, तब पानी पार्न उनीहरू छाता ओढेर छिमेकी गाउँ गाउँ गीत गाउँदै तरकारी माग्न हिंड्छन्। यस वेला सजना गीत गाइन्छ भने पानी पार्ने भाकल गरिन्छ।
गीत गाउँदै छिमेकी गाउँदेखि टाढा टाढाको गाउँसम्म पुग्छन्, जसलाई फूला लोह्रे गैलक अर्थात् फूल चुस्न गएको भनिन्छ। गीतको शुरूआत गर्नेलाई मोह्रिन्या भनिन्छ। मोह्रिन्याले गीत उठाएपछि समूहले कोरस गाउँछ। गाउँबाट निस्किनुअघि गाइने गीत :
पश्चिउँसे उमरल, कारी री बडरिया रे, पुरुब चली जैठो
एक बुँद पनिया गिराइ डेउ, मोर हिरना भिजाइ डेउ।
(चौधरी, कल्पना। २०५९। सजना। विहान। १२ (९) पृ.१८।)
अर्थात्, पश्चिमबाट कालो बादल मडारियो, तर पूर्व भागेर बिलायो, एक बुँद पानी खसालिदेऊ, मेरो धर्ती भिजाइदेऊ।
प्रत्येक घर घरमा गीत गाउँदा प्रायः हरियो तरकारी, हरियो नभए लसुन, प्याज, आलु आदि तरकारी दिएर बिदा गरिन्छ।
यो दिन गोरु बेह्रना समूहले कसैको बारीको तरकारी, फलफूल टिपेर लगेमा कुनै बात लाग्दैन। बारीको रखबारी गर्नेहरू भेटिंदा उनीहरूको अगाडि पनि गीत गाउँदै तरकारी मागिन्छ। जस्तै :
अरि अरि बारी कि मल्किन्या रि, कि खोलो बजरा केवरिँया
जौन बाट दुनिया कि रिट, उहे र भर लेहबी।
अर्थात्, ए बारीकी मालिक्नी, बारीको दैलो उघार। दुनियाँको रीत जे छ, त्यति तिमीसँग मागेको हो, त्योभन्दा बढी लिंदैनौं।
स्थानीयले पनि हाँसीखुशी तरकारी टिपेर दिन्छन्। यसरी दिनभरि विभिन्न गाउँ चहारेर आफ्नै गाउँ फर्किन्छन्। सबै बसेको घरमा पुगेपछि भान्सेहरूसँग पनि गीत गाउँदै पानी मागिन्छ।
चारु कोना चारु कुइया परल जुर पानी
डेहु डेहु इहे गाउँक झटही ओरगिनिया सिटल जुर पानी।
डेहु डेहु गाउँक झटही ओरिगिनिया
सतरंग गोन्दरी, जहजुल खटिया।
अर्थात्, चारै कुना, चारै कुवामा चिसो पानी छ, ए गाउँकी ठूलो चुल्ठो भएकी अगुवा दिदी हामीलाई चिसो पानी दिनुहोस्। हामीलाई बस्न सप्तरंगी गुन्द्री अनि राम्रो खाटको व्यवस्था गरिदिनुहोस्।
गीत गाएर तीन/चार दिनसम्म गाउँ गाउँ पुग्ने गरिन्छ। खडेरी परेको वेला गाउँका अगुवाले प्रत्येक घरबाट एक जना महिलालाई गोरु बेह्रनामा पठाउने गरेको लमही नगरपालिका-४, छुटकी घुम्नाका बरघर देवराज चौधरी बताउँछन्।
त्यस्तै, कैलालीको कैलारी गाउँपालिका-४ मा पनि एक दशकपछि गोरु बेह्रना चलन पुनः शुरू भएको स्थानीय प्रेम दहित बताउँछन्। स्थानीय अगुवाको पहलमा गोरु बेह्रना शुरू गरिएको दहितको भनाइ छ।
गोरु बेह्रना विसर्जनको दिन भ्यागुतो समातेर ल्याइन्छ। भनिन्छ, भ्यागुतो समात्ने महिला पनि नांगो हुनुपर्छ। अब नांगिने चलन हराएको बताउँछिन् गोरु बेह्रनेहरूलाई हौस्याउने लमहीकी देवी चौधरी। “पहिले थियो होला, हाम्रो पालामा त्यसो गरेनौं, गीतसम्म गाएर रीत पूरा गर्छौं,” उनी भन्छिन्।
अन्त्यमा छोपिएको भ्यागुतोलाई खाना खुवाएर छोडिन्छ। त्यसपछि मात्र सामूहिक रूपले खाना खान्छन्। पकाउन नसकिएको तरकारी आपसमा बाँड्छन् पनि।
गोरु बेह्रनाको मिथक
गोरु बेह्रनाबारे विभिन्न मिथक छन्। त्यसमध्ये एक मिथक दाङको लमही नगरपालिका-३, उत्तर मजगाउँका पहुनराज चौधरी सुनाउँछन्। यो २०५९ सालको कोपिलामा पनि उल्लेख छ।
उहिल्यै एउटा देशमा एकदमै नाम चलेका प्रख्यात राजा थिए। ती राजाले हरेक वर्ष प्रजासँग पोत (कर) उठाउँथे। समय बित्दै जाँदा नोकरहरूले पोत उठाउन थाले। उनीहरूले पोत उठाउने काममा सफलता पनि पाए।
उनीहरू पोत उठाउन एक तपस्वीको घरमा भने गएनन्। एक कान, दुई कान, मैदान भने झैं एक दिन राजाले यो कुरा चाल पाए।
राजाले सोधे, ‘मेरो राज्यको सबैले पोत बुझाइसके। त्यो तपस्वीले किन बुझाएन?’
सबैसँग उठाउने तर एक जनालाई छोड्दा अपराध ठहरिने भन्दै दुई जना नोकरलाई राजाले तपस्वीसँग पोत उठाउन पठाए।
राजाको आज्ञा अनुरूप दुवै नोकर तपस्वीको घर पुगे। दुवैले राजाले मालपोत उठाउन पठाएको भने। तपस्वीले उनीहरूको कुरालाई सहज रूपमा लिए। तपस्वीले भने- ‘हे नवयुवक हो, लौ यो पोका बाटोमा कहीं पनि नखोलीकन राजालाई दिनू।’
तपस्वीले दिएको पोकामा के होला भनेर जिज्ञासा भयो। सशंकित पनि भए। कतै खाली पोको पो हो कि? हामीलाई झुक्याउन तपस्वीले यसरी दिए कि?
मनमा शंका-उपशंका गर्दै दुवैले पोको खोले। भित्र रगतले भिजेको कपडाको टुक्रा देखे। जसमा तपस्वीले आफ्नो कान्छी औंलाको रगतको थोपा दिएका थिए। त्यो देखेर झन् भयभीत भए। दुवैले तपस्वीको रगतले भिजेको कपडा पुरिदिए। तपस्वीले बुझाउनुपर्ने पोत पनि मिलेर तिरिदिए।
केही दिनपछि ठूलो खडेरी पर्यो, सुक्खा भएर चारैतिर हाहाकार मच्चियो। केही गर्न नसक्ने भएपछि राजाले उपायको खोजीका लागि राज्यभरिका पण्डितलाई बोलाएर सोधपुछ गरे। पण्डितले पनि केही उपाय सुझाउन सकेनन्।
छलफल हुँदै गर्दा एक पण्डितबारे जानकारी आयो। उनी गरीब भएकाले राजाको दरबार जान सकेका थिएनन्। राजाबाट उनलाई बोलाहट भयो।
ती पण्डितले भने, ‘राजा साहेब, म एउटा कुरा भन्छु, त्यो कुरा मान्नुभयो भने पानी पर्छ, नत्र त कुनै उपाय नै छैन।’
राजाले चाख मान्दै भने, ‘के कुरा हो?’
पण्डितले उपाय सुझाए, ‘राजा साहेब, साँझ परेपछि यो राज्यका स्त्रीमध्ये दुई वटा कन्यालाई नांगै भई उल्टो हलो जोताउन पठाउनुहोस्। त्यही दिन भ्यागुतालाई बाँधेर राख्न भन्नुहोस्। अर्को बिहान सबै स्त्रीलाई केटाहरूको पोशाक लगाउन पठाई दिनभरि सजना गीत गाएर फूल चोर्न पठाउनुहोस्। अनि साँझमा आएर बाँधेको भ्यागुतालाई दूधभात खुवाएर छोडिदिनुहोस्। अनि मात्र पानी पर्नेछ।’
राजाले त्यही अनुसार गर्न लगाए। राजाले दुई केटीलाई गोरु बनाएर अर्कीलाई हलो जोत्न लगाए। जोत्दै जाँदा त्यही तपस्वीको रगत लागेको कपडाको पोको बाहिर निक्लियो। त्यसको अर्को दिन घनघोर पानी बर्सियो।
त्यही कथामा विश्वास गरेर थारू महिलाले गोरु बेह्रना चलन शुरू गरेको किंवदन्ती छ। आज पनि त्यसलाई अनुसरण गरिंदै आएको छ।
गोरु बेह्रना सजनाको अन्तर्य
गोरु बेह्रना सजनामा मायाप्रेम, पौराणिक पात्रका गाथा, खेती प्रणाली तथा पशुपालनको वर्णन नै बढी भेटिन्छ। त्यस्तै, थारू समुदायको शिकारप्रतिको मोहले शिकारी युगको झल्को पनि सजनामा पाइन्छ।
गोरु बेह्रना चलन पानी पार्नका लागि मनाइने परम्परागत रीत भए पनि यसको अन्तर्य फरक भेटिन्छ। जस्तो कि महिलाले दाजुभाइको लुगा साटफेर गरेर समानताको सन्देश दिन्छन्।
त्यस्तै, घरधन्दाको कामले सधैं दिक्क हुँदा गीत गाएर रमाउन पनि पाउँछन्। छिमेकी गाउँका इष्टमित्रलाई भेट्ने फुर्सद निकाल्नै नसकिएको वेला गोरु बेह्रनाले मौका जुराउँछ।
थारू महिलाले यस वर्ष पनि गोरु बेह्रना सजना त गाएका छन्, तर यस पटक मनसुनले भनसुन मानेन। थारू महिलाको गीतले काम गरेन। पूर्वी नेपालबाट भित्रिएको मनसुन दुई सातासम्म पनि पश्चिम पुगेन। त्यहाँ अझै पर्याप्त पानी पर्न सकेको छैन।