प्रतीक थापासँग जोडिएको अपराधको जालो
नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापाले करोडौं रुपैयाँ लेनदेन गरेको थुनामा रहेका अभियुक्तहरूले अदालत र प्रहरी समक्ष बयान दिएका छन्।
नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको योजनाकारको आरोप लागेका प्रतीक थापा पक्राउ परेका छन्। फरार भएको एक वर्षपछि प्रतीकलाई प्रहरीले असार १४ गते काठमाडौंको बौद्धबाट फेला पारेको जनाएको छ।
संगठित अपराध, राज्य विरुद्धको कसूर लगायत आरोप लागेका प्रतीक यस घटनाको योजनाकार रहेको अभियोग छ। उनले विभिन्न होटल, रेस्टुरेन्टदेखि मन्त्री निवासमै समेत रकम लेनदेन गरेको आरोप छ। पिता रामबहादुर थापा गृहमन्त्री भएको वेला प्रतीक प्रमुख स्वकीय सचिव थिए। त्यही पदको दुरुपयोग गर्दै उनी संगठित आपराधिक समूहमा लागेको प्रहरीको दाबी छ।
२०८० वैशाख २ मा जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको अभियोगपत्रमा प्रतीकलाई नक्कली भूटानी शरणार्थीको सबैभन्दा माथिल्ला तहमा बसेर अपराध गरेको भनिएको छ। प्रतीक सहित बिचौलियाहरू सानु भण्डारी, केशव दुलाल, गृह मन्त्रालयका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई र सन्दीप रायमाझीले सबैभन्दा माथिल्लो तहमा बसेर योजना बनाउने भूमिका खेलेको अभियोजनपत्रमा उल्लेख छ। सन्दीप पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा हुन्।
प्रतीकले यस बापत करोडौं रुपैयाँ लिएको पीडित एवं प्रतिवादीहरूले अदालती बयानमै खुलाएका छन्। प्रमुख योजनाकारका रूपमा एकै तहमा बसेर सँगसँगै काम गरेका केशव दुलालले समेत प्रतीकले भूटानी शरणार्थीको आवरणमा आफू र आफ्नो नातेदारलाई अमेरिका पठाइदिने भन्दै रकम लिएर फिर्ता नगरेको अदालतमा बयान दिएका थिए।
काठमाडौंको नक्सालस्थित नीलगिरि थकाली भान्साघरमा प्रतीकले २५ लाख रुपैयाँ लिएको दुलालले अदालत समक्ष बताएका थिए। दुलाल अहिले पुर्पक्षका लागि थुनामा छन्। उनी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री छँदा स्वकीय सचिव थिए।
प्रहरीसँगको बयानमा त दुलालले तत्कालीन गृहमन्त्री थापाले समेत रकम लिएको बताएका थिए। थापा २०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री थिए।
राष्ट्रिय सभाको चुनाव हुनुअघि मन्त्री निवासमै तीन करोड रुपैयाँ बुझाएको दुलालको भनाइ थियो। तर थापाले यसलाई अस्वीकार गरेका छन्। २०७४ माघमा थापा राष्ट्रिय सभामा चुनिएका थिए।
प्रतीकले २०७६ असारमा नीलगिरिमै थप एक करोड रुपैयाँ लिएको पनि दुलालले प्रहरीसँगको बयानमा बताएका थिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सल्लाहकार अजयक्रान्ति शाक्य, तत्कालीन गृहसचिव प्रेमकुमार राई, काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले प्रतिव्यक्ति एक करोड रुपैयाँ लिएको पनि दुलालले प्रहरीसँग बयानमा भनेको अभियोगपत्रमै उल्लेख छ। तर काम नभएपछि रकम फिर्ता माग्दा ६० प्रतिशत मात्रै फिर्ता हुने खबर प्रतीक मार्फत आएको पनि दुलालले प्रहरीसँग भनेका छन्। रकम फिर्ता लिन दबाब दिंदा प्रतीकले ‘जे मन लाग्छ त्यही गर्नु’ भनेर धाकधम्की दिएको पनि दुलालले बताएका थिए।
प्रतीकले रकम लिएको खुलाउने दुलाल मात्रै होइनन्, अर्का प्रतिवादी रामशरण केसी पनि छन्। दुवै जनाले अदालतमा बयान गर्दा प्रतीकले रकम लिएको बताएका थिए।
नीलगिरि भान्साघरमै आफूले एक करोड ५० लाख रुपैयाँ र प्रेमराज पन्थीले एक करोड रुपैयाँ प्रतीकको निर्देशनमा दुलाललाई बुझाएको केसीले अदालती बयानमा भनेका थिए। प्रतीकको सहमति विना रकम नदिने भनेपछि दुलालले प्रतीकलाई झिकाएको केसीले बताएका थिए।
“हामीले प्रतीक थापालाई नबोलाई पैसा दिंदैनौं भनेपछि दुलालले फोन गरेर प्रतीकलाई बोलाए। प्रतीकले दिए हुन्छ भनेपछि मेरो एक करोड ५० लाख र पन्थीको एक करोड गरी दुई करोड ५० लाख रुपैयाँ दुलाललाई नगदै दिएका हौं,” केसीले २०८० जेठ १७ गते अदालतमा दिएको बयानमा भनेका छन्।
त्यो रकम दुलालले आई टेन गाडीको डिकीमा राखेको पनि केसीले खुलाएका छन्। यस बाहेक प्रतीककै निर्देशनमा थप एक करोड ३४ लाख रुपैयाँ अर्का बिचौलिया सानु भण्डारीको आईसीएफसी फाइनान्स र हिमालयन ब्यांकको खातामा जम्मा गरिदिएको केसीले अदालत र प्रहरी दुवैलाई दिएको बयानमा बताएका छन्। भण्डारी पनि पुर्पक्षका लागि थुनामा छन्।
गौशालास्थित रोज स्टार होटलमा बसेर समेत यो गिरोहले आफ्नो काम गरेको अनुसन्धानबाट खुलेको थियो। दुलाल, भण्डारी र सागर राईले आफ्नो होटलबाट प्रतीकका लागि भन्दै डबल ब्ल्याक लेबल रक्सी लगिदिने गरेको होटलका सञ्चालक रोजन खत्रीले प्रहरीमा गरेको ‘बयान कागज’ मा उल्लेख छ।
अनुसन्धानका क्रममा त थापाको परिवार नै यो गिरोहबाट आएको रकम व्यवस्थापनमा लागेको पक्राउ परेकाहरूले नै बताएका थिए। सानु भण्डारीले प्रहरी बयानमा २०७६ साउन २५ गते नैनकला थापालाई एक करोड रुपैयाँ पुल्चोकस्थित मन्त्री निवासमा दिएको खुलाएका थिए। नैनकला पूर्व गृहमन्त्री थापाकी पत्नी हुन्।
यद्यपि यसलाई पुष्टि गर्ने सबूत नभएको भन्दै प्रहरीले अभियुक्त बनाएन। थापा गृहमन्त्री छँदै सुरक्षा सल्लाहकारमा नियुक्त भएका इन्द्रजित राई पनि यो मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। राईका छोरा निरज भने फरार छन्।
यो पनि पढ्नुहोस् :