फणीन्द्र देवकोटा गण्डकीको ऊर्जामन्त्री नियुक्त
नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणीन्द्र देवकोटा गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नियुक्त भएका छन्।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार देवकोटालाई मन्त्री नियुक्त गरेका हुन्। उनले आइतबार नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि उनी मन्त्री नियुक्त भएका थिए। तर नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेपछि सांसदसँगै मन्त्री पद पनि गुमेको थियो।
त्यस विरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले एउटा पार्टीका सांसदलाई अर्को पार्टीले कारबाही गर्न नसक्ने भन्दै अन्तरिम आदेश दिएको थियो। देवकोटा प्रदेश सभाको निर्वाचनमा माओवादीको चुनाव चिह्नबाट चुनाव लडेका थिए। त्यसकै आधारमा माओवादीले आफ्नो सांसद भनेर दाबी गरेको थियो।
सर्वोच्चले भने माओवादीको चुनाव चिह्नबाट लडेको भए पनि उनी नेसपाको सांसद रहेको र निर्वाचन आयोगले पनि नेसपाको सांसदकै रूपमा प्रमाणपत्र दिएकाले माओवादीले कारबाही गर्न नसक्ने ठहर गरेको थियो। सर्वोच्चको आदेशपछि सांसद पद जोगिएसँगै उनी मन्त्री नियुक्त भएका हुन्।