दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकप
दक्षिण अफ्रिकालाई हराउँदै भारतले आईसीसी टी-२० विश्वकप जितेको छ।
गए राति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले पराजित गरेको हो। भारतले १७ वर्षपछि विश्वकप जितेको छ। यसअघि भारतले सन् २००७ मा पहिलो पटक टी-२० विश्वकप जितेको थियो।
वेस्ट इन्डिजको बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा भारतले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले आठ विकेट गुमाएर १६९ रन बनायो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ५२ रन बनाए। उनले २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे।
त्यस्तै, क्विन्टन डीककले ३९, ट्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतका लागि हार्दिक पान्ड्याले तीन, अर्शदीप सिंह र जसप्रित बुमराहले दुई-दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा १७६ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले ७६, अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्।
दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नार्टेले दुई-दुई विकेट लिए भने मार्को जानसेन र कागिसो रबाडाले एक-एक विकेट लिएका थिए।