फिर्के पुल बन्यो ‘डेन्जर जोन’
सरकारी निकाय र ठेकेदारको लापरवाहीले पोखराको फिर्के खोलाको पुल सवारीसाधन र पैदल यात्रुका लागि ‘डेन्जर जोन’ मा परिणत भएको छ।
देशको पर्यटकीय राजधानी पोखरालाई बाग्लुङसँग जोड्ने भूपि शेरचन राजमार्गको प्रवेश बिन्दु हो, पोखराको जिरो पोइन्ट। तीन किलोमिटर पर फिर्के खोलाको पुलसम्म ६ लेनको फराकिलो बाटो छ।
पुल तरेपछि विन्ध्यवासिनीसम्मै ६ लेनको बाटामा सवारीसाधन निर्बाध हुइँकिन्छन्। पदैल यात्रुका लागि पनि दुवै किनारतिर सडकपेटी छ।
तर फिर्के खोलाको पुल पुगेपछि सडक दुई लेनमा साँघुरिन्छ। किनकि पुल दुई लेनकै छ। त्यसमा पैदल यात्रुका लागि सडकपेटी पनि छैन।
फराकिलो र चिल्लो ६ लेन सडकमा दुवैतिरबाट सवारीसाधन कुदाएर आउने चालक साँघुरिएको फिर्के पुल नजिक पुग्दा झुक्किन्छन् र दुर्घटनामा पर्छन्। रफ्तारमा आएका कति सवारीसाधन त सीधै फिर्के खोलामा खस्छन्।
२०७३ सालमा पोखरा जिरो पोइन्टदेखि विन्ध्यवासिनीसम्म ६ किलोमिटर सडक बनेको थियो। तर मध्यभागमा पर्ने फिर्के पुल ६ लेनको बन्न सकेन। जसले गर्दा फिर्के पुल सवारीसाधन र पैदल यात्रुका लागि ‘डेन्जर जोन’ बनेको स्थानीय बासिन्दा बताउँछन्।
हदै लापरवाही
फिर्के खोलामा अत्याधुनिक तथा देशकै नमूना पुल निर्माण गर्ने भन्दै २०७५ सालमा शान्ति आरोग्य जेभीलाई ठेक्का दिइएको थियो। सडक डिभिजन कार्यालय, पोखराले ३० महीनाभित्र पुन निर्माण गर्ने गरी शान्ति आरोग्यसँग ठेक्का सम्झौता गरेको थियो। तर तीन पटक म्याद थपिंदा पनि पुल बन्न सकेको छैन।
पछिल्लो पटक थपिएको म्याद यही असार २७ गते सकिंदै छ। पुलको निर्माण कार्य भने सकिएको छैन। पुल निर्माणमा खासै प्रगति पनि भएको छैन।
निर्माण कम्पनीले सम्झौता अनुसार काम नगरेपछि सडक डिभिजन कार्यालयले ठेक्का सम्झौता रद्द गर्न खोजेको थियो। त्यसअघि निर्माण कम्पनीलाई दिइने रकम पनि रोकेको थियो। त्यसपछि फिर्के पुलको काम झन् रोकिएको हो।
सडक डिभिजन कार्यालयले रकम रोकेपछि निर्माण कम्पनी शान्ति आरोग्य जेभीले सर्वोच्च अदालतमा रिट दायर गर्यो। सर्वोच्चले सडक डिभिजन कार्यालयलाई कारण देखाउ आदेश दियो। सर्वोच्चको आदेशसँगै फिर्के पुल निर्माण थप अन्योल बनेको छ। अलि अलि भइरहेको काम पनि मुद्दामामिलापछि रोकिएको स्थानीय बासिन्दा बताउँछन्।
सडक डिभिजन कार्यालयका इन्जिनीयर ध्रुव पोखरेलले पनि निर्माण कम्पनीको लापरवाहीले फिर्के पुल निर्माणमा ढिलाइ भएको बताउँछन्। “सर्वोच्चको उत्प्रेषण आदेशपछि जवाफ पठाइसकिएको छ,” पोखरेल भन्छन्, “अब छिटै यस विषयको टुंगो लाग्नेछ।”
समयमा पुल नबन्दा सर्वसाधारणले भने दुर्घटना खेप्नुपरिरहेको छ। त्यस वरपरका बासिन्दा दुर्घटनाकाे भयमा बाँचिरहेका छन्।
पाँच वर्षमा ७१ दुर्घटना
फिर्के पुलको १०० मिटर क्षेत्रमा दैनिकजसो दुर्घटना भइरहेका छन्। सानातिना दुर्घटनाको त लेखाजोखा नै छैन। ठूला दुर्घटनाको ट्राफिक प्रहरी कार्यालयले तथ्यांक राख्ने गरेको छ।
पछिल्लो पाँच वर्षमा ७१ सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय, गण्डकीको तथ्यांक छ। यो ट्राफिक प्रहरी कार्यालयले लेखाजोखा गर्न थालेयताको तथ्यांक हो। आर्थिक वर्ष २०७६/७७ देखि गत जेठसम्म भएका ७१ दुर्घटनामा १०३ जना घाइते भएका छन् भने एक जनाको त ज्यानै गएको छ।
दुवैतर्फ फराकिलो सडक एकाएक बीचमा साँघुरिदा सडक दुर्घटना निम्तिएको जिल्ला ट्राफिक कार्यालय, कास्कीका प्रहरी निरीक्षक भानु शर्मा बताउँछन्। “फराकिलो सडक बीचमा साँघुरिनु पनि एक कारण हो,” शर्मा भन्छन्, “योसँगै जिरो पोइन्टदेखि विन्ध्यवासिनीसम्म सडक बत्ती नहुँदा पनि दुर्घटना भइरहेका छन्।”
अत्यधिक दुर्घटना हुन थालेपछि दुई वर्षअघि ट्राफिक प्रहरीले फिर्के खोलाको पुलछेउमा ‘रोड डिभाइडर’ राखेको थियो। त्यसपछि भने दुर्घटनामा केही कमी आएको शर्माको भनाइ छ।
तथापि दुर्घटना हुने क्रम रोकिएको छैन। “फिर्के पुलमा सडक दुर्घटना हुन थालेपछि पटक पटक बैठक र छलफल पनि गरिएको छ, तर पुल नबन्दासम्म जोखिम नै छ,” प्रहरी निरीक्षक शर्मा भन्छन्।
सवारी चालकका लागि मात्रै होइन, पैदल यात्रुका लागि पनि फिर्के पुल ‘डेन्जर जोन’ बनेको छ। दुवैतिर साँघुरिएको पुलमा पैदल यात्रुका लागि हिंड्ने ठाउँ समेत छैन।
जसले राजमार्गमा पैदल यात्रुका लागि सडक दुर्घटनाको जोखिम झन् बढाएको छ। रातसाँझ त हिंड्न नसकिने स्थानीय बासिन्दा बताउँछन्।
आघातमा स्थानीय
फिर्के पुलको छेउमै छ स्थानीय तेजेन्द्रबहादुर कोइरालाको किराना पसल। लामो समयदेखि किराना पसल चलाउँदै आएका ५५ वर्षीय कोइराला फिर्के खोला पुलमा अनगिन्ती दुर्घटना देखेको सुनाउँछन्। पहिले त उनी दुर्घटना हुने बित्तिकै उद्धारका लागि जान्थे, प्रहरीलाई फोन गर्न सहयोग गर्थे।
तर आजभोलि दुर्घटना हुँदा पहिला जस्तो दौडिएर पुग्दैनन्। “दुर्घटना भएपछिको दृश्य, रगत देख्दा अहिले अत्तालिन थालेको छु,” कोइराला भन्छन्, “दुर्घटना हुँदा जान सक्दिनँ, डर लाग्छ।”
दुर्घटना देख्दा देख्दा राति पनि तर्सिने गरेको उनको भनाइ छ। जसले गर्दा दुर्घटना हुने बित्तिकै उद्धारका लागि जान हिम्मत नजुट्ने उनी सुनाउँछन्। “पुल निर्माण नहुँदा दुर्घटना भइरहेका छन्, तर यतिका वर्षसम्म कसैले वास्ता गरेको छैन,” उनी भन्छन्।
अर्का स्थानीय नरेन्द्र कोइराला भने फिर्के खोला वरपर दुर्घटना हुने बित्तिकै सहयोगका लागि दौडिन्छन्। आँखै अगाडि दुर्घटना हुँदा थपक्क बस्न नमिल्ने उनी बताउँछन्। “पुल निर्माणमा ढिलाइ हुँदाको असर नागरिकले भोग्नुपरेको छ,” कोइराला भन्छन्।
सवारीसाधनसँगै पैदल यात्रु पनि दुर्घटनामा पर्ने गरेको उनी सुनाउँछन्। “फिर्के पुलमा पैदल यात्रु हिंड्ने सडकपेटी छैन,” उनी पुलतिर इशारा गर्दै भन्छन्, “स्कूले बालबालिकालाई जोगाउनै मुश्किल भइरहेको छ।”
स्थानीय आदेश कोइराला बालबालिका पुल वारपार नगर्दासम्म हेरिराख्छन्। गाडीले ठक्कर दिइहाल्छ कि भन्ने चिन्ता लाग्ने गरेको उनी बताउँछन्।
अझ पुल साँघुरो भएकाले रातमा दुर्घटना हुने गरेको कोइरालाको भनाइ छ। “जिरो पोइन्टबाट नै सवारीसाधन तीव्र गतिमा आउँछन्,” उनी भन्छन्, “यो बाटोमा राम्रो सडक बत्ती पनि छैन। अनि चालकले बाटो साँघुरिएको देख्न नपाउँदै दुर्घटना भइहाल्छ।”
रातदिन दुर्घटना देख्दै आएका स्थानीय बासिन्दालाई आघात परिरहेको छ। जसले गर्दा वरपरका बासिन्दा पटक पटक सरकारी निकायसम्म पनि पुगेका छन्। अनुगमनमा आउने सरकारी कर्मचारीलाई त पटक पटक खबरदारी गरेका छन्।
तैपनि पुल निर्माणको कार्य अघि बढेको छैन, झन् लथालिंग अवस्था छ। “फिर्के खोलाको निर्माण लथालिंग देख्दा त दिक्क लाग्छ,” उनी भन्छन्।
फिर्के पुल पोखरा महानगरपालिकाका वडा नं. ४ र ५ को सिमानामा पर्छ। पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुली सडक डिभिजन कार्यालय र ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाइ भइरहेको बताउँछन्। “पटक पटक बैठक, छलफल र खबरदारी गर्दा पनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन,” वडाध्यक्ष पराजुली भन्छन्, “६ वर्षदेखि पुल निर्माणको काम जहाँको तहीं छ, स्थानीयलाई सास्ती भइरहेको छ।”
यो पुल निर्माण नहुँदा नजिकैको गणेश मार्ग पनि निर्माण गर्न नसकिएको उनको गुनासो छ। यसले जोखिम बढाएको उनी बताउँछन्। “पुल नबन्दा नागरिकको ज्यानै जोखिममा छ,” वडाध्यक्ष पराजुली भन्छन्, “अहिले पानी पर्न थालेसँगै पुल छेउछाउको भाग भासिएको छ, त्यसले झन् जोखिम बढाएको छ।”