सात पत्रकारलाई रोटरी पत्रकारिता पुरस्कार
रोटरी इन्टरन्याशनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा सात जना पत्रकारलाई पुरस्कृत गरिएको छ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच सात विधामा सात जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो। स्वतन्त्र लेखनीतर्फ रामु सापकोटा, आर्थिक तथा सामुदायिक विकासतर्फ अमर सुनार, खानेपानी तथा सरसफाइतर्फ तिलक तिवारी, सुरक्षित मातृत्व र बाल स्वास्थ्यतर्फ वसन्तप्रताप सिंह, आधारभूत शिक्षा तथा साक्षरतातर्फ विद्या राई, रोग तथा उपचारतर्फ स्वस्तिक श्रेष्ठ र शान्ति तथा द्वन्द्व व्यवस्थापनतर्फ टंक पन्तलाई पुरस्कृत गरिएको हो।
पुरस्कृत पत्रकारलाई सम्मानपत्रसँगै ५१ हजार रुपैयाँ प्रदान गरिएको छ। उनीहरूलाई रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वजू र पत्रकारिता अवार्ड समितिका निमित्त अध्यक्ष नम्रता शर्माले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।
त्यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्ड वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ। यसको राशि एक लाख एक हजार रुपैयाँ छ।
पत्रकारिता क्षेत्रमा व्यावसायिक जीवन बिताएका एक जनालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिन्छ। यसै वर्षदेखि यो अवार्ड प्रदान गर्न शुरू गरिएको हो।
यो अवार्ड सुरेश आचार्यले स्थापना गरेका हुन्। आचार्यका बुबा यज्ञप्रसाद आचार्यको स्मृतिमा अवार्ड स्थापना गरिएको संस्थाले जनाएको छ।