पद्मश्री पुरस्कारका लागि १५ पुस्तक छनोट
पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तक छनोट भएका छन्।
पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले शनिबार छनोट भएका पुस्तकको सूची सार्वजनिक गरेका छन्। २०८० सालमा प्रकाशित पुस्तकबाट सूची सार्वजनिक गरिएको हो।
२०८० सालको पुरस्कारका लागि विष्णु सापकोटाको उपन्यास अडिएका पाइला, कृष्ण गौतमको उपन्यास अद्वैत, सानु शर्माको कथा संग्रह अर्को देशमा, रोशन शेरचनको निबन्ध संग्रह गल्ली संसार, भानु बोखिमको उपन्यास गोधूलि गीत, विश्व कुइकेलको उपन्यास गोपीचा र कुमार नगरकोटीको संस्मरण जोगियाना छनोट भएका छन्।
त्यस्तै, चिरञ्जीवी वाग्लेको उपन्यास बहादुर शाह, सुमिनाको कविता संग्रह बागी स्त्रीको आत्मकथा, राजेन्द्रमान डंगोलको नियात्रा बादलडाँडा, अखण्ड भण्डारीको उपन्यास बोरा, गोविन्दप्रसाद कुसुमको उपन्यास भृकुटी, गोपी सापकोटाको संस्मरण लन्डन अनप्लग्ड, अरुण गुप्ताको निबन्ध संग्रह संस्कृति चिन्तन र भुवनहरि सिग्देलको जीवनाख्यान साखेजुङको उकालो पुरस्कारका लागि छनोट भएका हुन्।
प्रतिष्ठानलाई प्राप्त १८६ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तकको छनोट भएको अध्यक्ष लामिछानेले जनाएका छन्। यीमध्ये अर्को महीना उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरिनेछ। तिनैमध्ये एक पुस्तकले पुरस्कार पाउनेछ।