पहिरोले पुरिएर एकै परिवारका पाँचको मृत्यु
पहिरोले पुरिएर गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।
गए राति आएको पहिरोले गुल्मीको मालिका गाउँपालिका-६, अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पुरिएको हो। घरसँगै ५६ वर्षीय भेषबहादुर विक, उनकी पत्नी ४७ वर्षीया सुन्तली विक, बुहारी ३० वर्षीया सीता विक, दुई नातिनी सात वर्षीया सपना विक र दुई वर्षीया विपना विक पहिरोमा पुरिएका हुन्।
पहिरो पन्छाउँदा पाँचै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए। पहिरोमा घर पुरिएको बिहान ७ बजे मात्रै थाहा पाएको स्थानीय बासिन्दाले बताए।
स्थानीय बासिन्दा बिहानैदेखि पहिरो पन्छाउन जुटेका थिए। स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पहिरो पन्छाएको मालिका-६ का वडाध्यक्ष दीपक भण्डारीले बताए।
त्यस्तै, पहिरोमा पुरिएर बाग्लुङमा गलकोट नगरपालिका-८, काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी पत्नी ५० वर्षीया वसन्ती विकको मृत्यु भएको छ। पहिरोले घर पुरिंदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका प्रहरी नायब उपरीक्षक विजय यादवले बताए।
गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका-८ का वडा सदस्य लोकनाथ कँडेलले बताए। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ।