कीर्तिमानी आरोही पुर्जाका विवादित कदम
![कीर्तिमानी आरोही पुर्जाका विवादित कदम](https://www.himalkhabar.com/uploads/posts/800X600/nirmal-purja-main-1719672915.jpg)
गैरकानूनी आरोहण, हेलिकोप्टर र नागरिकता दुरुपयोग, यौन दुर्व्यवहार, सगरमाथाबारे अफवाह फैलाएको जस्ता आरोपले ख्याति खस्किंदै गएका निर्मल पुर्जा कारबाही पन्छाउन दौडधूप गरिरहेछन्।
हिमाल आरोहणमा लोभलाग्दो ‘करिअर’ थियो, निर्मल पुर्जासँग। आठ हजारभन्दा अग्ला १४ हिमाल ६ महीना ६ दिनमै चढेर विश्वकीर्तिमान बनाएका थिए। भलै त्यो पछि नर्वेजियन आरोही क्रिस्टिन हरिला र तेन्जिङ शेर्पाले तिनै हिमाल ९२ दिनमै चढेर तोडिदिए। तैपनि पुर्जाको रवाफ कम थिएन। खासगरी हिमाल पुगेर गरेका साहसिक उद्धारले उनलाई चर्चाको चुलीमा राखिरहेकै थिए।
सन् २०२१ को नोभेम्बरमा अमेरिकी कम्पनी नेटफ्लिक्सले वृत्तचित्र बनाइदिएपछि पुर्जाको ख्याति झन् बढ्यो। त्यो वृत्तचित्र त्यति वेलासम्म सबैभन्दा हेरिएकोमा दरियो। विश्वका कहलिएका ओस्प्रे, नाइकी, रेडबुल, ग्रिभेल, स्कार्पा लगायत कम्पनीले पुर्जालाई सद्भावना दूतका रूपमा रातो कार्पेट बिछ्याए।
विश्वचर्चित पडकास्टर जोई रेगनले आफ्नो शोमा निम्त्याए। ती कम्पनीबाट विना मिहिनेत आउने रकम पुर्जाका लागि ठूलो आयस्रोत बनेको थियो। उनले आफ्नै नाममा आरोहणमा प्रयोग हुने ‘गियर’ को व्यापार शुरू गरेका थिए। त्यस बाहेक लाखौं रुपैयाँ लिएर धनाढ्यहरूलाई हिमाल आरोहण गराउँथे।
शिखरमा पुगेको उनको रवाफ अहिले एकै पटक आधारशिविरमा झरेको छ। कारण, दुई विदेशी पर्वतारोहीले उनलाई यौन दुर्व्यवहारको आरोप लगाएका छन्। पूर्व मिस फिनल्यान्ड समेत रहेकी पर्वतारोही लोटा हिन्ट्साले नेपाल आएका वेला आफूलाई काठमाडौंको होटल म्यारिओटमा कफी पिउन बोलाएर यौन दुर्व्यवहार गरेको बताएकी छन्। हिन्ट्साका अनुसार होटल पुगेपछि व्यापार सम्बन्धी गफ गर्न भन्दै कोठामा लगेर पुर्जाले जबर्जस्ती गर्न खोजेको थिए। त्यस्तै, अमेरिकी आरोही डा. अप्रिलले के-टू हिमाल आरोहणमा गएका वेला पुर्जाले यौन दुर्व्यवहार गरेको बताएकी छन्।
यी गम्भीर आरोपसँगै उनले सद्भावना दूतका रूपमा पाइरहेको मानसम्मान र आर्थिक आर्जन तत्काललाई बन्द भएको छ। नाइकी र रेडबुल बाहेक सबै कम्पनीले सहकार्य तोडेका छन्।
एकपछि अर्को विवाद
पुर्जालाई यसपालिको सगरमाथा आरोहण पनि महँगो सावित भयो। उनलाई अनुमति नलिई आरोहीलाई सगरमाथाको आइसफल र दोस्रो शिविरसम्म पुर्याएको, दोस्रो शिविरमा हेलिकोप्टर लगेको आरोप छ। हेलिकोप्टर चालक शोभित गौचनलाई नागरिक उड्डयन प्राधिकरणले ‘ग्राउन्डेड’ गरे पनि सँगै गएका पुर्जालाई कारबाही भइसकेको छैन।
![nirmal purja_1.jpg](https://www.himalkhabar.com/uploads/editor/Himal/nirmal purja_1.jpg)
यसपालिको वसन्त याममा अधिकांश कम्पनीले आरोहण टुंग्याइसक्दा पनि पुर्जा आधारशिविरमै थिए, अन्तिम समिट विन्डोमा आरोहण गर्ने भनी। त्यही क्रममा उनले दोस्रो शिविरबाट साउथ समिट हुँदै बाल्कोनीसम्मको डोरी काटिएको हल्ला फैलाए। फेसबूक, ट्वीटर, इन्स्टाग्राम आदिमा भिडिओ समेत बनाए।
त्यति नै वेला ल्होत्से हिमाल चढेका पायोनियर एक्सपिडिसन्सका आरोही त्यहाँबाट आधारशिविर नआई सगरमाथा चढ्ने भनी चौथो शिविरमा गएर बसेका रहेछन्। त्यतैबाट शिखर पुगेर फर्किएका उनीहरूले डोरी सारसौंदो फेला पारे। तर यतिन्जेल पुर्जाले डोरी काटिएको भनी संसारभर हल्ला फैलाइसकेका थिए। पुर्जाले हिमालमा आफूभन्दा माथि कोही नभएको ठानेर त्यो हल्ला फैलाएको हुन सक्ने पर्यटन विभागका कर्मचारीहरू बताउँछन्।
दोस्रो शिविरदेखि शिखरसम्म डोरी टाँग्ने काम खुला प्रतिस्पर्धाबाट गरिंदै आएकामा यस वर्षको ठेक्का सेभेन समिट ट्रेक्सले पाएको थियो। पुर्जाले विश्वकीर्तिमान बनाउँदा गाइड र अन्य बन्दोबस्तीका सामान जुटाएर सघाएको सेभेन समिट ट्रेक्स र पुर्जाको कम्पनीबीच व्यापारिक प्रतिस्पर्धा रहेको चर्चा आरोहण वृत्तमा चल्ने गरेको छ।
हिमालमा डोरी टाँगेर बाटो बनाइदिंदै आएका शेर्पाहरू पुर्जाले उल्टै आफूहरूले नै डोरी काटे जस्तो अफवाह फैलाएको भन्दै आक्रोशित थिए। त्यसैले उनीहरूले पुर्जालाई काठमाडौंको लाजिम्पाटस्थित मनास्लु होटलमा डाकेर माफी माग्न सुझाव दिए। तर पुर्जा तयार भएनन्।
स्रोतका अनुसार यो विवाद साम्य नहुँदै पुर्जालाई होटल बाहिर टंकलाल घिसिङ, उनकी श्रीमती र आफन्तहरू पर्खिरहेका थिए। घिसिङको घरमा पुर्जाको इलाइट एक्सपेडको कार्यालय थियो। पुर्जाको कार्यालयबाट सल्किएको आगोले आफ्नो घर जलेको भन्दै घिसिङ क्षतिपूर्ति मागिरहेका थिए।
घिसिङका अनुसार शुरूमा भेट्नै नचाहेका पुर्जाले पछि एक करोड रुपैयाँ दिने आश्वासन दिए। तर रकम दिएनन्। बरु आफ्ना वकीलसँग कुरा गर्न भन्दै पन्छिए। त्यसपछि घिसिङ आफन्त बटुलेर होटलमै घेराउ गर्न पुगेका थिए। त्यति वेला उनी जसोतसो उम्किए पनि लफडा टुंगिसकेको छैन।
होला कारबाही?
यसबीच पर्यटन विभागले हिमाल आरोहणसँग जोडिएका विवादमा पुर्जालाई बयानका लागि पत्र काट्यो। स्रोतका अनुसार आमादब्लाम हिमालमा विना अनुमति कुवेती झन्डा फहराएपछि छानबिनको दायरामा तानिएका उनी त्यति वेला केही नेता र प्रशासकको सहयोगमा कारबाहीबाट जोगिएका थिए। कारबाहीको तयारी चल्दै गर्दा सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले हेलिकोप्टर पठाएर उक्त झन्डा हटाएका थिए।
विभागका कर्मचारीहरूका अनुसार त्यति वेलै कारबाही हुन्थ्यो त उनको १४ वटा अग्ला हिमाल आरोहणको कीर्तिमानी दौड पूरा नहुन सक्थ्यो। यी अघिल्ला बदमासीमा जोगिए पनि विभागले उनका पछिल्ला लापरबाहीलाई गम्भीरतासाथ लिएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ।
यसबीच विभागले पुर्जासँग काठमाडौं प्रहरीको उपस्थितिमा दुई पटक लिखित बयान लिइसक्यो। घटनासँग सरोकार राख्ने व्यक्ति र आरोहण कम्पनीका सञ्चालकसँग सोधपुछ, तिनले उपलब्ध गराएका तस्वीर/भिडिओको अध्ययनपछि विभागले पुर्जालाई कारबाहीको सिफारिश समेत गरेको छ।
![nirmal purja_2.jpg](https://www.himalkhabar.com/uploads/editor/Himal/nirmal purja_2.jpg)
विभागका कर्मचारीका अनुसार अनुसन्धान चलिरहेका वेला पुर्जाले प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर कारबाहीबाट बच्ने प्रयास गरेका थिए। प्रधानमन्त्री दाहालकी बुहारी बिना मगर र छोरी गंगा मार्फत दाहालसम्म पुगेका पुर्जा ओलीसम्म चाहिं उनका व्यापारिक साझेदार समेत रहेका यती समूहका सोनाम ल्हाक्पा शेर्पाको सहयोगमा पुगेका थिए।
स्रोतका अनुसार पुर्जा पर्यटनमन्त्री हितबहादुर तामाङ र पर्यटनसचिव गणेशप्रसाद पाण्डेयलाई भेट्न मन्त्रालय समेत पुगेका थिए। मन्त्रालयमै विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितलाई समेत बोलाउन लगाई तीनै जनासँग आफूलाई कारबाही नगर्न आग्रह गरेका थिए। पुर्जा त्यसअघि पण्डितलाई भेट्न विभाग पनि पुगिसकेका थिए। त्यति वेला पण्डितले उनलाई सगरमाथाको बदनाम गरेको भन्दै हप्काएका थिए।
त्यही विषयमा प्रधानमन्त्री कार्यालयबाट आफूलाई फोन गरेर सोधपुछ गरिएपछि महानिर्देशक पण्डित आक्रोशित थिए। त्यसैले मन्त्रालयमा भएको भेटमा पनि उनी पुर्जाले गल्ती गरिसकेकाले कसैले भनेर पनि कारबाही नरोकिने भन्दै विभाग फर्किएका थिए।
अनेक दबाबका बावजूद विभागले गैरकानूनी आरोहण अनुमति, हेलिकोप्टर र नागरिकता दुरुपयोग जस्ता विवाद थाती राखेर तत्काललाई डोरी काटिएको झूटो हल्ला फैलाई सगरमाथा आरोहण बदनाम गराएको विषयमा मात्र कारबाही गर्न मन्त्रालय समक्ष सिफारिश गरेको छ। विभाग स्रोतका अनुसार पुर्जालाई पर्यटन ऐन, २०३५ को धारा ३८ (१) अनुसार पाँच वर्ष नेपाल प्रवेशमा रोक वा १० वर्ष नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाउने सिफारिश छ।
यस बाहेक हिमाल आरोहणका क्रममा भएका घटनाबारे सरकारी प्रतिनिधिलाई खबर नगरेकामा उपधारा ७ अनुसारको कारबाही पनि सिफारिश गरिएको छ। पुर्जासँग बेलायती नागरिकता छ।
आरोहीलाई हिमाल आरोहणमा प्रतिबन्ध लागाउनु हदैसम्मको कारबाही मानिन्छ। विभागले यसअघि झूटो विवरण पेश गरी सगरमाथा आरोहण गरेको पुष्टि भएपछि नरेन्द्र यादव लगायत भारतीय आरोहीलाई पाँच वर्षसम्म नेपाल प्रवेशमा रोक लगाएको थियो।