मृगस्थलीको संस्कृत पाठशाला
योगी नरहरिनाथ लगायत ब्रह्मचर्याश्रम सञ्चालक समितिका पदाधिकारीहरू विद्यार्थीलाई आफ्नो राजनीतिक उद्देश्य पूर्तिका लागि प्रयोग गर्न उद्यत देखिएपछि विद्यार्थीलाई पढाइमा मात्र लगाउने ध्येय सहित लागिपरेका अध्यापकद्वय भोलानाथ पौडेल र ज्ञानमणि नेपालले विरक्तिएर पाठशाला छाड्नुपरेको थियो।
ज्ञानमणि नेपालको जन्म भोजपुर जिल्लाको सिक्तेलकोट निवासी भानुभक्त तथा अम्बिकादेवी (अन्नपूर्णदेवी) नेपालका प्रथम सन्तानका रूपमा खोटाङको पुरानागाउँस्थित आफ्नै मामाघरमा विसं १९८९ को माघ शुक्ल पञ्चमीमा भएको हो। एउटी बहिनीको जन्म दिएर माताजीको निधन भएपछि ११ वर्षकै उमेरमा ज्ञानमणि मातृस्नेहबाट वञ्चित हुनुपर्यो। पछि, कान्छी आमा विष्णुमायाबाट पाँच छोरा र दुई छोरी जन्मिएपछि आठ भाइबहिनीका अभिभावक भएर उहाँका दिन व्यतीत हुन थाले।
ज्ञानमणिको पहिलो विवाह १० वर्षकै उमेरमा लक्ष्मीमादेवीसँग भएको थियो। २००५ सालमा लक्ष्मीमादेवीको निधन भएपछि उहाँको दोस्रो विवाह जयन्तीदेवीसँग भयो। पाँच जना छोरामध्ये पहिलो र कान्छा छोराको शिशु अवस्थामै निधन भएको र काहिंलो छोराको बाल्यकालमा निधन भएपछि दुई छोरा तथा धर्मपत्नीका साथ उहाँको जीवनयापन भइरहेको थियो। २०५५ सालमा धर्मपत्नीको समेत निधन भएपछि ज्ञानमणि एकल जीवनयापन गर्न बाध्य हुनुभयो। (शैलेन्दुप्रकाश, ज्ञानका मणि अर्थात् चक्रपाणि, अन्नपूर्ण पोस्ट्, २०८१ जेठ ५)
भोजपुर, टक्सारको भाषा पाठशालामा केही समय पढेपछि ज्ञानमणिले गोगनेको पाठशालामा पढ्नुभएको रहेछ। त्यसपछि पढाइलाई निरन्तरता दिन ओखलढुंगा माम्खाका लक्ष्मीप्रसाद पोखरेलको साथ लागेर काठमाडौं आउनुभएछ। पं. नयराज पन्तसँग लक्ष्मीप्रसादको चिनजान भएकाले उनकै सिफारिशमा ज्ञानमणि २००४ सालमा नयराजको पाठशालामा भर्ना भई पढ्न थाल्नुभयो। त्यति खेर नयराज बनारसबाट सिद्धान्तज्योतिषमा प्रथम श्रेणी (विसं १९९४)मा आचार्य पास गरी काठमाडौं फर्केर प्रचलित शिक्षापद्धतिमा चित्त नबुझाई प्राचीन ढंगले समग्र पाठ्यवस्तु पढाइनुपर्छ भन्ने धारणा बमोजिम १९९७ सालदेखि केही विद्यार्थी बटुली पढाउन थाल्नुभएको रहेछ।
नेपालको प्राचीन इतिहासमा नयाँ प्रकाश (२०१९), महिरावणवध नाटक विवेचनात्मक अध्ययन (२०४०), नेपालनिरुक्त (२०४०), पशुपतिनाथको दर्शन स्पर्शन पूजन सम्बन्धमा समीक्षा (२०४३), नेपाल भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष (२०४५), नेपालको महाभारत (२०५०), मेरो गुरुकुलीय शिक्षा र सहपाठी (२०५४), नेपाल निरूपण (२०५५), भैरवानन्दनाटकम् (२०५७) लगायत दुई दर्जनभन्दा बढी पुस्तकका स्रष्टा ज्ञानमणिका सयौं लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। ज्ञानमणिका कृति इतिहास विधामा मात्र सीमित छैनन्, विभिन्न विद्वान्ले संस्कृत र नेपाली भाषामा लेखेका ग्रन्थहरूको सम्पादनमा पनि उहाँको विद्वत्ता प्रदर्शन भएको छ। ज्ञानमणिको विषयमा महेशराज पन्तको शब्दलाई सापटी लिने हो भने “गुरुले चिताएजति विद्या हासिल गर्न नसके पनि संशोधन–मण्डलको परिपाटीबाट शिक्षा पाएका, नयराज पन्तका चेलाहरूले नेपालको विद्या सम्बन्धी इतिहासमा युगान्तकारी काम गरे। ... दीर्घ जीवनभर ज्ञानमणि नेपालले गरेको साधनाबाट नेपालको इतिहास लेखनले फड्को मार्यो भनी भन्न कत्ति पनि हिचकिचाउनुपर्दैन।” (महेशराज, ‘सहरमा ढुक्कले लेखपढ गर्नु सम्भव छैन’, कान्तिपुर, २०८१ जेठ १२)
यसरी ज्ञानमणिले सम्पादन गर्नुभएका विभिन्न किसिमका सत्कार्यमध्ये पं. भोलानाथ पौडेल (यस पंक्तिकारका पिताज्यू) र ज्ञानमणि नेपालले सँगै अध्यापन गर्नुभएको मृगस्थलीको संस्कृत पाठशालाका बारेमा केही लेख्ने धृष्टता यहाँ गरिएको छ।
विद्यार्थीहरूलाई सर्वात्मना पठनपाठनमा दत्तचित्त गराउने उद्देश्यले खाना र वासको समेत व्यवस्था मिलाएर ब्रह्मचर्याश्रम नामक संस्थाको स्थापना २००५ सालमा भएको रहेछ। शुरूमा बूढानीलकण्ठमा यसको स्थापना भए पनि एक वर्षपछि पशुपतिको मृगस्थलीमा सारिएको रहेछ। यस संस्थाका अध्यक्ष योगी नरहरिनाथ हुनुहुन्थ्यो भने संरक्षक कविराज हरिप्रसाद खकुरेल हुनुहुँदो रहेछ।
कविराज खकुरेल र योगी नरहरिनाथ उतिखेर शासकहरूको नजरमा परेका गण्यमान्य व्यक्ति हुनुहुन्थ्यो। पं. नयराज पन्तले महाबौद्ध मासंगल्लीमा खोल्नुभएको पाठशालामा विद्यार्थीले थोरै समयमै दक्षता हासिल गर्न सफल भएको विषय तात्कालिक विद्वत्समुदायमा चर्चाको विषय बनेको थियो।
ब्रह्मचर्याश्रममा संस्कृत पाठशाला खोलेपछि त्यहाँ उपयुक्त अध्यापकको पनि आवश्यकता पर्यो। यसैले पाठशालाका लागि शिक्षक पठाइदिनुहोस् भनी योगी नरहरिनाथका तर्फबाट पं. नयराज पन्तलाई अनुरोध गरियो। उहाँले आफ्ना शिष्यहरूमध्येबाट उम्दा दुई जना पं. भोलानाथ पौडेल र ज्ञानमणि नेपाललाई खटाई पठाउनुभयो। यस विषयमा ज्ञानमणिले विस्तारमा लेख्नुभएको छ, जुन यस प्रकार छ–
“मोहनशमशेर श्री ३ महाराज भएपछि मृगस्थली गोरक्षपीठका महन्तमा योगी नरहरिनाथ नियुक्त हुनुभयो। उनी मोहनशमशेरका ससुराली खलकका नाताका मान्छे हुन् भन्ने कुरा सुनिन्थ्यो, नभन्दै त्यस वेला योगीज्यूको ठूलो प्रतिष्ठा थियो। योगीजी संस्कृतप्रेमी हुँदा उहाँ नै यस आश्रमका हर्ताकर्ता अध्यक्ष भएपछि यो ब्रह्मचर्याश्रम मृगस्थलीमा सर्यो र मोहनशमशेरहरूकै ठूलो धर्मशालामा चल्न थाल्यो। पछि यसमा नयराज गुरुले चलाएकै गुरुकुलीय शिक्षा पद्धति चलाउनुपर्छ भन्ने निर्णय ब्रह्मचर्याश्रम सञ्चालक समितिले गरेछ। आश्रमका संरक्षक हरिप्रसाद खकुरेलको घर गणबहालमा मेरो निवास भएको हुँदा छोरा डम्बर हाम्रै पाठशालामा पढ्थे, अर्का छोरा रमेशलाई पनि म पढाइदिन्थें। यसैले योगीजीको र हरिप्रसाद खकुरेलको प्रयासले नै त्यो निर्णय भएको थियो। त्यसपछि ब्रह्मचर्याश्रममा पढाइ चालू गर्न शिक्षक दिनुपर्यो भनी गुरुकहाँ खबर आयो। गुरुले भोला गुरुलाई र मलाई पठाउने निधो गर्नुभयो। भोलागुरुले शास्त्री परीक्षा पास गरेको हुनाले अध्यापक नियुक्त गर्न केही शुभाशङ्का भएन, मलाई चाहिँ बुद्धिप्रकाश र योगीजीले ठहराई नियुक्त गर्नू भन्ने सल्लाह भएछ र मलाई गुरुले बुद्धिप्रकाशको घर इन्द्रचोकमा पठाउनुभयो। म गएँ। वरिपरि हिन्दुस्थानी पत्रपत्रिका फिँजाएर उनी पल्टिरहेका। उनी त्यस वेलाका बुज्रुक राजनीति खेल्ने व्यक्तिमा गणना गरिन्थे। ‘जयतु संस्कृतं’ आन्दोलनका सञ्चालकमा बाहिर पूर्णप्रकाश ब्राह्मण देखिए पनि भित्रभित्र गोटी चाल्ने यिनै थिए भनिन्थ्यो। म जानेबित्तिकै उनले सुतीसुती दराजबाट एउटा पुस्तक थुत्त झिकेर पल्टाएर यसको अर्थ गर त भनेर दिए। मैले तत्काल त्यसको सार अर्थ गरी दिएपछि ‘ठीक छ’ भनेर एउटा सानो चिर्कटोमा केही लेखेर नरहरिनाथजीकहाँ जानू भनेर दिए। त्यहाँबाट सरासर मृगस्थली गएर पत्र दिएँ। योगीले त्यो पत्र देख्नेबित्तिकै एउटा कागजमा श्लोक लेखेर अर्थ गर्न दिनुभयो। त्यसको अर्थ मैले सरर्र गरिदिएँ। योगीले दुवै हात उठाएर मलाई स्याबासी दिनुभयो। शास्त्रीले आचार्यले पनि यसरी अर्थ लाउन सक्दैनन् भने अरू ढिलो किन गर्नु ? आजैदेखि भरना भएर पढाउन थाल्नू भनेर संस्कृत भाषाबाटै निकै मेरो प्रशंसा गर्नुभयो। भोला गुरु र म स्वयंसेवक रूपमा पढाउनेमा नियुक्त भयौं। भिक्षाबाट आश्रम चलेको थियो। विद्यार्थीसँगै हामी पनि त्यहीं खाने बस्ने गर्थ्यौं। बिहानभरि त्यहाँ पढाएर दिउँसो दशै बजे हामी पाठशालामा उपस्थित हुन्थ्यौं। बेलुका राति पुगेर खाना खाएर आफ्नो लेख्ने, पढ्ने गरेर राति ११ बजे सुत्थ्यौं। बिहान ४ बजे नै उठेर स्नानादि नित्यकर्म सकेर पढ्न पढाउन बस्तथ्यौं। यसरी हाम्रो दैनिक दिनचर्या चल्न लाग्यो।” (मेरो गुरुकुलीय शिक्षा र सहपाठी, २०५४, पृ.१५)
यी वाक्य पढ्दा उतिखेरको प्रशासन कति छिटोछरितो रहेछ भन्ने देखिन्छ। किनभने एकै दिन दुई ठाउँमा दुई पदाधिकारीबाट अन्तर्वार्ता लिई सोही दिन परिणाम प्रकाशन गरी नियुक्ति दिनु भनेको उदाहरणीय कार्य होइन त?
अहिले नेपाली भाषामा महाकाव्य लेख्ने साहित्यकार रमेश खकुरेल एवं वैदिक वाङ्मयका विशेषज्ञ ऋषिराम पोखरेलहरू उतिखेरका यस पाठशालाका विद्यार्थी हुन्। ‘मैले संस्कृत साहित्य, दर्शन, पुराण र व्याकरणमा जे जति ज्ञान पाएँ त्यो यसै पाठशालाको प्रतिफल हो’ भनेर रमेश खकुरेलले यस पाठशालाको बारेमा यसरी आफ्नो कृतज्ञता प्रकट गर्नुभएको छ- “विद्यालयमा नयराज पन्तका चेलाहरू भोलानाथ पौडेल, ज्ञानमणि नेपाल र देवराज पौडेल गुरु भएर आउनुभयो। मलाई ज्ञानमणि दाइ पनि गुरु हुन सक्नुहुन्छ जस्तै लागेन तर बिस्तार बिस्तार यिनै गुरुत्रयबाट जति मैले ज्ञान पाएँ, संस्कृत साहित्य, दर्शन, पुराण र व्याकरणको त्यही पूँजी आजसम्म मेरो जम्मा जेथा हो भन्न सक्छु।” (ज्ञानमणि नेपाल: अक्षरको अभिवादन, ज्ञानगुन प्रकाशन, विसं २०६८, पृ.२)
विद्यार्थीले पहेंलो धोती, पहेंलै कुर्ता लगाउनुपर्ने, जुत्ता लाउन नपाइने, बिहान चार बजे नै उठेर नुहाउन बागमतीमा गइसक्नुपर्ने नियम हेर्दा यस पाठशालाको अनुशासन निकै कडा थियो भन्न सकिन्छ। यस सम्बन्धमा रमेश खकुरेलले आफ्नो अनुभव यसरी लेख्नुभएको छ- “पाँच सालमा म पशुपति मृगस्थलीमा रहेको ब्रह्मचर्याश्रममा भर्ना गरिएँ। मेरा बुबा स्व. कविराज हरिप्रसाद खकुरेल संरक्षक भई खोलिएको त्यो विद्यालय गुरुकुल परम्परामा आधारित थियो। पहेँलो धोती र कुर्ता, शिरमा पहेँलै कपडाको साफा, गोडामा जुत्ता लाउन नपाइने, बिहान चार बजे उठेर वागमतीमा गई नुहाएर आई हवनकुण्डका छेउमा बसेर एक सय आठ गायत्रीजप, स्वस्तिवाचन, रुद्रीपाठ, समिधा र चरु हवन गरेर शान्तिपाठ प्रातःकर्म थिए भने दिनमा संस्कृतको अध्ययन गर्नुपर्थ्यो घरघरबाट उठाएको भिक्षाको अन्नले विद्यालय चलेको थियो।” (उही, पृ.१)
यस किसिमले विद्यार्थीहरूको पढाइको व्यवस्था राम्रैसँग चलिरहेकै थियो। परन्तु यसै समयमा विद्यार्थीहरूलाई राजनीतिमा लगाउने कि नलगाउने भन्ने विषयमा मतमतान्तर भयो। ‘अस्माभिरपि शिक्षामन्त्रिणा भाव्यम्’ (हामी पनि शिक्षामन्त्री हुनुपर्छ) भन्ने विचार बोकेका नरहरिनाथ लगायतका पदाधिकारीहरू विद्यार्थीलाई आफ्नो राजनीतिक उद्देश्य पूर्तिमा प्रयोग गर्न उद्यत देखिए भने पं. नयराज पन्तको निर्देशनमा रही अध्यापनमा लागेका पं. भोलानाथ पौडेल र ज्ञानमणि नेपालले विद्यार्थीलाई अहिलेदेखि नै राजनीतिमा लगाई उनीहरूको उच्च अध्ययनसम्म पुग्ने आकांक्षामा कुठाराघात गर्न हुँदैन भनेर प्रखर रूपमा विरोध गरे।
अन्ततः भोलानाथ र ज्ञानमणिको मत पराजित हुन पुग्यो। विद्यार्थीलाई दायाँ-बायाँ नलगाई विद्याध्ययनमा मात्र लगाउने विचारधारा बोकेका दुई अध्यापकले विरक्तिएर पाठशाला छोड्नुपर्यो। ‘अहरहः स्वाध्यायमधीयीत’ (दिनका दिन आफैं पढ्नुपर्छ) भन्ने परम्परा कायम राख्न कटिबद्ध भई अध्यापनका लागि कस्सिएर गएका अध्यापकहरूले १८ महीनामै पाठशाला छोड्नुपर्ने अवस्था आइपर्यो। राणाशासन ढल्नुभन्दा एक वर्षअघि अध्यापकहरू पाठशाला प्रवेश गरेका थिए, राणाशासन ढलेको तीन महीनापछि बाहिरिए। पाठशाला छोड्दा अध्यापकले पदाधिकारी समक्ष बुझाएको पत्र, एक किसिमको राजीनामापत्र तल जस्ताको तस्तै प्रस्तुत गर्दै यो लेखोटलाई विराम दिन्छु।
पत्र–
“श्री
यो ब्रह्मचर्याश्रमको २००५ साल आषाढ शुक्ल एकादशीका दिन बूढानीलकण्ठमा स्थापना भएको हो त्यहाँ १२ महीना रही २००७ (२००६ हुनुपर्ने) आषाढ २० गते पशुपति मृगस्थलीमा सर्यो। २००६ साल पौषसम्म जम्मा १८ महिना संम चलाउदा पनी त्यहाँ कुनै पढाईको प्रबन्ध हुन शकेन। न कुनै काम त्यसले बाहिर देखाउन शक्यो। यस्तै हुँदा त्यहाँ असन्तोष फैलिनु स्वाभाविकै थियो। यसको फलस्वरूप त्यहाँ पढाइको सुधारको लागी छटपटी चल्दा ब्रह्मचर्याश्रमका कोषाध्यक्ष श्री बुद्धिप्रकाश साहित्याचार्य (अहिले स्वर्गीय) ले अध्यक्ष श्रीयोगी नरहरिनाथद्वारा विद्वन्मण्डलीमा हाम्रो पढाइको परीक्षा गरी, सो पढाई लाई पुरस्कृतसमेत गरी, हाम्रो पाठ्यक्रमअनुसार पढाई चलाउने निश्चय गरी हामीलाई अध्यापकत्व सुम्पियो। पछि गडबडी नहोस् भन्नाका लागि पहिले नै हामीले त्यस विषयमा तल लेखिएका ३ प्रतिज्ञा मानेका थियौं। ती यी हुन्-
(१) ३ वर्षसम्ममा पुराण भन्न शक्ने छात्रको योग्यता गराउने।
(२) गोष्ठीमा सम्बन्ध न गराउने र हल्ल खल्ल प्रचारमा न लाग्ने।
(३) योभन्दा असल अनुभूत कुनै पाठ्यक्रम वीचमा निस्कन्छ भने सो मान्ने।
यसमा त्यस वेलाका अध्यक्षलगायत सबै सदस्यको मञ्जूर भयो। त्यहीवमोजिम २००६ साल फागुन ३० गते सोमवार दशमीका दिन हामी यस ब्रह्मचर्याश्रम, मृगस्थलीमा आयौं। त्यस वेलासम्म त्यहाका छात्रहरूमा संस्कृतको सामान्य ज्ञान पनि थिएन। छात्रहरू लुताको प्रभावले सोझो हिंड्न नशक्ने हुँदा अस्पताल हो कि भन्ने भान पर्थ्यो। त्यो अवस्थामा आफूले सकेसम्म त्यसको सुधार गर्ने प्रयत्न गरियो। विस्तार विस्तार छात्रहरूले आफ्नो केही हित चिह्न खोज्न थाले। पढाइ पनि सप्रदै गयो। यताउतीबाट यस पढाइको प्रशंसा पनि सुनियो।
तर गाँजा चुरोट चियाको लत छुटाउने हाम्रो प्रयत्नले गर्दा त्यहाँका गाँजा चुरोट चिया भक्त केही मानिसहरूको हामी अप्रिय वन्नु स्वाभाविकै थियो। तिनीहरूकै कुरा सुनेर हो वा कुनै राजनीति कारणले हो यो पढाइ चलेको ५ महीना पुगेपछि अघि आफैंले गर्नुभएको प्रतिज्ञालाई विर्सी अध्यक्षजीले कौमुदी पढाउन भनी एउटा खेतालो खोजी विद्यार्थीलाई भडकाउने उद्योग गर्नुभयो।
तर त्यस वेला संरक्षक कविराज श्रीहरिप्रसाद खकुरेलजीको पुत्रस्नेहले गर्दा त्यो कुरा मस्याङ्ग्रिएर गयो। हाम्रो कुरा चलीरहेको थियो। पछि २००७ साल फागुन महिनामा ‘धर्मसभा’ भन्ने एउटा संस्था खुल्यो। त्यो संस्थामा तिमीहरूले पनि प्रचारक बन्नुपर्छ। सदस्यता ग्रहण गर्नु पर्छ भनी अध्यक्षजीले आग्रह गर्दा “आफ्नो सबै शक्तिद्वारा विद्याको रक्षा गर्नु नै हामीले आफ्नो कर्तव्य संझिएका छौं” त्यही विद्याको उपार्जनका लागी यती कष्ट हामीले सहीरहेका छौं। अहिले हामी पढ्न पढाउन छाडी राजनीति दाउपेचमा पर्दा आफ्नो र विद्यार्थीको समेत कसरी विद्याभ्यासको समयलाई नाश गरौं। तसर्थ पढुञ्जेल कुनै संस्थामा हामी हात हाल्दैनौं। पढाइ सिबाय अरू काम पनि हुन्न भन्दा भन्दै पनि सामान लिएर धर्मसभामा उपस्थित हुनू भन्ने आदेश वरावर दिने गर्न लाग्नु भयो। तर आखिरमा सानो टुडिखेलमा भएको श्री कोइरालाको भाषणमा धर्मसभाका उपरमा कुदृष्टिपात भएको हुदा धर्मसभाका सभापतिजी गुप्तवास वस्नु भयो। यति भए पछि केही दिनका लागी शाान्ति भयो। ब्रह्मचर्याश्रमका छात्रहरूद्वारा वनकालीमा सप्ताह लाउने भन्ने प्रस्ताव संरक्षकजीले चलाउनु हुदा १४ महिना सम्मको हाम्रो पढाइले त्यती गर्न सक्ने योग्यता भएको र सो कुरा सत्कार्य भएको हुदा छात्रहरूबाट सो काम हुन लाग्यो। वीचमा अध्य(क्ष)जी गुप्तवासबाट फर्कनुभए पछि यो ब्रह्मचर्याश्रमलाई धर्मसभाको अङ्ग हो भन्ने देखाउने कोशिस भयो। यो ब्रह्मचर्याश्रमलाई तटस्थ वनाइ विद्या पढाउदा राजनीति दाउपेच न हुने हुनाले यो संस्थालाई दाउपेच खेल्ने अखाडा जमाउने तानातानी चलीरहेको र धर्मसभामा मानिस जम्मा गर्नलाई ढ्वाङ फुकाएर छात्रहरूलाई शहर डुलाउने संम आदेश अध्यक्षजीले दिनु भएको हुदा यो ब्रह्मचर्याश्रम स्वयंसेवक तयार गर्ने अखडा रहेछ। विद्या कमाउने संस्था रहेनछ भन्ने कुरा सबै अबोधसम्मले स्पष्ट बुझे।
बुद्धिशक्तिवालाले हतियार बनाइएका जाच वुझ नगरी कुरौटेका भरमा आफ्नो एकोहरो विचार प्रकट गर्ने संरक्षक कविराज हरिप्रसाद खकुरेलजीले वनकालीको सप्ताहका साङ्गेका दिन सभाका वीचमा ती पुराण भन्ने छात्रहरूलाई सम्बोधन गरी धर्मसभामा नजाने यस्ता नास्तिक उस्ता नास्तिक भनी जङ्गिनुहुँदा जथाभावी दुर्वाच्य वोली विद्याको अनादर गरी तटस्थ नीति लिएर भिक्षा गरी दाउरा बोकेर विद्या पढाउँछौं भन्ने तिम्रा गुरुहरूले विद्या पढाउनू, हाम्रो आश्रमबाट तिमीहरू निस्क जाओ भन्ने वक्तव्य दिनुभएको र उता सञ्चालक वर्गको राजनीति दाउपेच चलेको र यस अवस्थामा विद्यार्थीहरूलाई सदाचारबाट तथा विद्याभ्यासबाट हटाई तिनीहरूलाई स्वयंसेवक बनाई आफ्नो पक्षमा धेरै मत (भोट) लिई प्राप्त भएको संसद् जस्ता उच्च संस्थाको आफ्नो सदस्यता नडगोस् भन्ने अभिप्राय भएका मनुष्यहरूका पनि नाना प्रकारका कुचेष्टा यस आश्रमका उपर वरावर हुन लागेकोले पनि हामीले यो आश्रमलाई दुःखपूर्वक छोड्न विवश हुनुपर्यो र स्वतन्त्र रूपले विद्या पढ्ने कोशिस हामीले गर्नै पर्यो। यो आश्रम पनि भिक्षाद्वारा नै चलीरहेको थियो भने, आफ्नो स्वार्थ छोडी सदाचारमा रही विद्या बुझ्न कोशिस गर्ने हामीहरूलाई मनु आदि प्राचीन आचार्यले देखाएको बाटोमा हिड्न लागेको देख्ता ईश्वरले कसो दया गरोइनन्।
अध्यक्ष संरक्षक मन्त्री सदस्यहरूले हाम्रो विदाइमा अवश्य पनि शुभाशीर्वाद दिनुहोला भन्ने हामीले आशा राखेका छौं।
भोलानाथ।”
(पूर्णिमा पूर्णाङ्क १३० पृ.१८५-८६ बाट)
यो पनि पढ्नुहोस् :