शूटिङमा बन्दूककै अभाव
थुप्रै विश्व च्याम्पियनसिपमा खेलाडी पठाइसकेको हाम्रो शूटिङ खेलको बिजोग कस्तो छ भने चार दशकसम्म पुराना राइफल र पेस्तोल जेनतेन मर्मत गरेर खेल धानिंदै आएको छ।
ओलम्पिकमा नेपालबाट शूटिङ खेलको प्रतिनिधित्व गर्ने पहिलो खेलाडी हुन्– नेपालगञ्जकी पार्वती थापा । ३१ वर्षअघि दक्षिण कोरियामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा उनले अनौठो समस्या भोग्नुपर्यो । बन्दूक एउटा थियो भने खेलाडी दुई जना । नेपालमा खेलाडीहरूले प्रशिक्षणमा भएका केही बन्दूक लिएर पालो पर्खेर खेल्थे ।
तर त्यहाँ भने सीमित समयमा प्रशिक्षण सकेर शूटिङ रेञ्ज (खेल स्थल) छोड्नुपथ्र्यो । उनी विगत सम्झिंदै भन्छिन्, “अर्को खेलाडी मभन्दा सिनियर हुनुहुन्थ्यो । उहाँलाई पालो दिंदा मैले अभ्यास नै गर्न पाइनँ ।”
तीन दशक बितिसक्दा पनि शूटिङ खेलमा बन्दूक अभावको समस्या अझै उस्तै छ । नेपालगञ्जमा तीन महीनाअघि भएको आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा शूटिङतर्फ १० मिटर एअर पेस्तोलको फाइनल खेल हुन सकेन ।
कारण, आयोजकसँग फाइनलमा पुगेका ८ खेलाडीलाई एकैपटक खेलाउने पेस्तोल थिएनन् । त्यसैले पहिलो चरणमा निस्केको परिणामकै आधारमा विजेता छनोट गरियो ।
यी दुई उदाहरणले शूटिङ खेलको दयनीय अवस्था देखाउँछ जुन नेपाल शूटिङ संघ गठन भएको चार दशक वित्दा पनि समाधान हुनसकेको छैन ।
दशकौं पुराना राइफलको भर
शूटिङ खेल शुरु भएको चार दशकयता खेलाडीहरूले दक्षिण एशियाली, एशियाली, ओलम्पिक र थुप्रै विश्व च्याम्पियनसिपमा भाग लिइसकेका छन् । तर आजसम्म पनि यो खेलको समस्या बन्दूकको अभावमै रुमल्लिएको छ ।
मुख्य कुरा त, बन्दूक महँगो हुने भएकाले खेलाडीले किन्न सक्दैनन् । अर्कातिर, हाम्रो देशमा कानूनी र प्रक्रियागत झन्झटका कारण यसको खरीद सहज छैन । नेपाली सेना र नेपाल प्रहरीसँग भएका हतियार खेल प्रयोजनमा उपलब्ध हुने कुरै भएन ।
शूटिङ संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग रहेका ९ राइफल र ७ वटा पेस्तोलले अहिलेसम्म शूटिङ खेल धानिंदै आएको छ । यी हतियार पनि पुराना र जीर्ण भइसकेका छन् । शूटिङमा प्रयोग भइरहेका राइफल ३८ वर्षसम्म पुराना छन् । तिनै राइफल जेनतेन मर्मत गरेर खेल्ने प्रक्रिया चल्दै आएको छ ।
भएका मध्ये केही राइफल २०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता अघि किनिएका थिए भने केही सन् १९९९ मा आठौं सागका वेला चीनले र तीन वर्षअघि एशियाली शूटिङ महासंघले उपहार दिएका हुन् । बन्दूकसँगै गोली र खेलाडीहरूको विशेष लुगा पनि प्रायः उपहारमै आउने गर्छ ।
नेपाल शूटिङ संघका सचिव तथा पूर्व मुख्य प्रशिक्षक प्रदीप खातीका अनुसार एउटा राइफलको मूल्य ३५०० देखि ४ हजार अमेरिकी डलर पर्छ । यस्तै, एउटा पेस्तोलको मूल्य ३ हजारदेखि ३२०० अमेरिकी डलरसम्म पर्छ जुन किन्ने हैसियत पहिलेदेखि अहिलेसम्मका खेलाडीहरूमा छैन ।
खाती भन्छन्, “त्यत्रो रकम खेलाडीसँग नहुने भएकाले विगतमा बन्दूक किन्ने भन्ने कुरा नै हुँदैनथ्यो । भएकै बन्दूकबाट खेलाडीले गाउँदेखि ओलम्पिकसम्म खेले ।”
शूटिङकी पुरानो खेलाडी पार्वती थापा २०३८ सालतिर एउटा अञ्चललाई एउटा हतियार दिइने गरेको सम्झिंदै अहिले विश्व बजारमा नयाँ प्रविधिका हतियारहरू आए पनि खेलाडीले प्रयोग गर्न नपाउनु विडम्बना भएको बताउँछिन् । “संसार कहाँबाट कहाँ पुगिसक्यो, तर खेलाडीहरूले हाम्रा पालामा जस्तै बन्दूक पर्खिनुपरेको हेर्दा मन कटक्क हुन्छ”, उनी भन्छिन् ।
अभावका बीच खेले पनि शूटिङका खेलाडीले प्रगति गरेका छन् । सन् १९८८ को ओलम्पिक खेलेयता शूटिङबाट प्रायः सबै ओलम्पिकमा नेपाली खेलाडी छानिएका छन् ।
सागमा के होला ?
अहिलेसम्म शूटिङका कुनै पनि खेलाडीसँग आफ्नै बन्दूक नभएकोमा हालै स्नेहा राणाले किनेकी छन् । निजी बन्दूकबाट प्रशिक्षण गर्दा निकै सुधार आएको बताउने उनी हतियार किन्न इच्छुक खेलाडीलाई राखेप र युवा तथा खेलकुद मन्त्रालयले सहज पारिदिनुपर्ने सुझाउँछिन् ।
तर सुरक्षासँग प्रत्यक्ष जोडिएको हुनाले बन्दूक किन्न सहज छैन । खेलाडीहरूले बन्दूक किन्न चाहे स्वीकृतिका लागि राखेप मार्फत खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालयमा पुग्नुपर्छ । शूटिङ संघका सचिव प्रदीप खाती भन्छन्, “केही खेलाडीले हतियार किन्न इच्छा देखाएका छन् । त्यसो गर्न गृह हुँदै परराष्ट्रसम्म संघका पदाधिकारीहरूले प्रयास गरिरहेका छन् ।”
शूटिङका खेलाडीलाई हतियार अभावले सताइरहँदा नेपालमा आउँदो मंसीरमा १३औं दक्षिण एशियाली खेलकुद (साग) हुँदैछ । उक्त प्रतियोगितामा पनि खेलाडीले पुरानै हतियारले प्रतिस्पर्धा गर्लान् त ? संघका सचिव खातीका अनुसार, सागका लागि संघले १० वटा एअर राइफल र १० वटा एअर पेस्तोलको माग गरिसकेको छ ।
१३औं सागमा एअर राइफल, एअर पेस्तोल र टिम इभेन्टस् (महिला र पुरुष) गरी २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । खाती भन्छन्, “आफ्नै देशमा हुने प्रतियोगिताको वेला हतियार बिग्रियो भने त बेइज्जत नै हुन्छ । त्यसैले यसपालि नयाँ हतियार आउला भन्ने लागेको छ ।”