पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने यात्रु अलपत्र परेका छन्।
राजमार्गको दैलेख खण्ड अन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको छ। पालेतडा-पादुका खोलाबीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी नायब उपरीक्षक सुनील न्यौपानेले बताए।
सडक अवरुद्ध भएपछि सवारीसाधन बाटामै रोकिएका छन्। गए रातिदेखि नै यात्रु अलपत्र छन्।
पहिरो पन्छाउने प्रयास भइरहेको डीएसपी न्यौपानेले बताए। अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
त्यस्तै, मध्यपहाडी राजमार्गको रुकुम खण्ड पनि पहिरोले अवरुद्ध भएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका-८, किटनीमा बिहीबार साँझ पहिरो खसेको थियो।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाटो खुलाउने प्रयास जारी रहेको बताए। स्थानीय बासिन्दासँगै सुरक्षाकर्मी पहिरो पन्छाइरहेका छन्।