इङ्ल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा
भारत इङ्ल्यान्डलाई पराजित गर्दै आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।
वेस्ट इन्डिजको गुएनास्थित प्रोविडेन्स स्टेडियममा गए राति भएको खेलमा भारतले इङ्ल्यान्डलाई ६८ रनले पराजित गरेको हो। भारतले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्ड १६.४ ओभरमा १०३ रनमै समेटियो।
इङ्ल्यान्डका लागि ह्यारी ब्रूकले २५, जोस बट्लरले २३, जोफ्रा आर्चरले २१ र लियम लिभिङस्टोनले ११ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतका लागि अक्षर पटेल र कुलदीप यादवले तीन-तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा १७१ रन बनाएको थियो। भारतका लागि रोहित शर्माले अर्धशतक प्रहार गरे। उनले ३९ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५७ रन बनाए।
त्यस्तै, सूर्यकुमार यादवले ४७, हार्दिक पान्ड्याले २३ र रवीन्द्र जडेजाले १७ रन बनाए।
इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन, रीस टोप्ले, जोफ्रा आर्चर, साम कुरन र आदिल राशिदले एक-एक विकेट लिए।
अब उपाधिका लागि शनिबार राति ८:१५ बजे दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुनेछ।