अस्पतालको शय्यामा इतिहास लेखनको चिन्ता
सिकिस्त बिरामी परेर अस्पतालको शय्यामा रहँदा पनि डाक्टर र नर्सलाई ज्ञानमणि नेपाल भनिरहनुभएको थियो, “मलाई चाँडै निको बनाएर घर पठाइदिनोस्, लेख्दै गरेको पुस्तक सक्नु छ। अरू ६ वटा पुस्तक प्रकाशन गर्नु छ। अझै धेरै काम पूरा गर्न बाँकी छ।”
लामो समयपछि २०५० सालमा भोजपुर गएको थिएँ। २०३२ सालतिर हाम्रो सबै परिवार तराईतिर बसोबास गर्न थालेपछि त्यता जाने मेसो मिलेको थिएन। जागीरको व्यस्तता र यातायातको असुविधाका कारण आउजाउ गर्न कठिन थियो। यसबीचमा भोजपुरमा विमानस्थल बन्यो र जहाज चढेर पुगियो।
विमानस्थलबाट भोजपुर सदरमुकाम पुग्न करीब तीन किलोमिटर हिंड्नुपर्छ। त्यही हिंडाइका क्रममा एक जना राई भाइसँग भेट भयो।
चिनाजानी गरेपछि ती भाइले सोधे, “ज्ञानमणि नेपाल को पर्नुहुन्छ?”
मैले भनें, “उहाँको भाइ हुँ।” लगत्तै उनलाई सोधें, “ज्ञानमणि नेपाललाई चिन्नुहुन्छ?”
ती भाइले भने, “प्रत्यक्ष चिनजान र भेटघाट त छैन, तर उहाँको नामले परिचित छु। उहाँका केही रचना पढेको पनि छु। तर मलाई के चाहिं अचम्म लाग्छ भने, यो जिल्लाभर उहाँलाई नचिन्ने शायदै कोही होला! उहाँ काठमाडौंतिर बस्नुहुन्छ भन्ने सुनेको छु, जिल्लातिर आएको पनि त्यति थाहा छैन। तर उहाँको प्रख्याति यो भेगभरि नै छ। यहाँका नेताहरूलाई मान्छेले त्यति चिन्दैनन्, तर उहाँलाई ठूलो विद्वान् भनेर सबैले जान्दा रहेछन्।”
हामी गफ गर्दै भोजपुर बजार पुग्यौं। दुवै आआफ्नो बाटो लाग्यौं।
दाजु ज्ञानमणिको प्रख्याति त्यतिखेर कस्तो थियो भने, हामी सबै उहाँकै नामबाट चिनिन्थ्यौं। पूर्वाञ्चलभरि नै उहाँको प्रख्याति थियो। पूर्वाञ्चलभरिकै विद्वान्मा कहलिएको नाम ज्ञानमणि थियो।
भोजपुरबाट जब म पढ्न धरान गएँ, सालको दुई/तीन पटक घरमा आउजाउ हुन्थ्यो। त्यस वेला अरुण र तमोर नदी डुंगाबाट तर्नुपर्थ्यो। एक जनालाई घाट तर्न २५ पैसा लाग्थ्यो। अरुण, दूधकोशी र तमोर मिसिने त्रिवेणीमा नदी तर्दा एक मोहोर लाग्थ्यो। आउँदा र जाँदा कम्तीमा एक रुपैयाँ चाहिन्थ्यो। भोजपुरबाट धरानसम्म आउजाउ गर्दा बाटोमा कुनै चिज पनि किन्न पाइँदैनथ्यो। खाने, ओढ्ने-ओछ्याउने सबै सामान लिएर हिंड्दा पनि घाट तर्ने पैसा भने जोहो गरेर हिंड्नुपर्थ्यो।
त्रिवेणीघाटको ठेक्का मझेनी बूढी (दिलकुमारी माझी)ले लिएकी हुन्थिन्। मझेनी बूढीलाई म ज्ञानमणि बाजेको भाइ भनेपछि घाट नि:शुल्क तारिदिन्थिन्। ज्ञानमणि दाजुको नाम लिएपछि मझेनी बूढीले घाटको पैसा नलिने मात्र होइन, त्यहाँ वास बस्नुपर्यो भने भाँडाकुँडा र दाउराको पैसा पनि लिन्नथिन्। त्यस वेला भाँडाकुँडा र दाउरा प्रयोग गरे बापत प्रतिव्यक्ति २० पैसा तिर्नुपर्थ्यो। कहिलेकाहीं ज्ञानमणि दाजुसँगै आएको वेला परियो भने त असाध्यै खातिरदारी र मेजमानी पाइन्थ्यो। दाजुलाई बूढीले असाध्यै आदर गर्थिन्।
मझेनी बूढी समाजसेवी थिइन्। घाटको ठेक्काबाट बचेको आफ्नै रकम बाटो बनाउने, भएका बाटा मर्मत गर्ने जस्ता कार्यमा खर्चिन्थिन्।
उनमा साहित्यिक चेतना पनि थियो। झ्याउरे शैलीका सवाई लेख्थिन् र ज्ञानमणि दाजुलाई सम्पादन गर्न लगाउँथिन्। केही पुस्तक प्रकाशन गरेकी समेत थिइन्। कसैले घाट तर्ने पैसा छैन भन्यो भने एउटा मूढो चिर्न लगाएर तारिदिन्थिन्।
अनुसन्धानलाई निरन्तरता
जति वेला म अलि अलि जान्ने-बुझ्ने हुन थालें, त्यस वेला ज्ञानमणि दाजुले हजुरबुबा वैयाकरणका कृतिहरू खोजेर सम्पादन गरी प्रकाशन गर्न थाल्नुभएको थियो।
पहिलो पटक हजुरबुबाका कविताहरूको सँगालो बनारसबाट छापेर ल्याउनुभयो। त्यस दिन घरमा उत्सव जस्तै भएको थियो। पढ्न जान्ने जति सबैले एक एक वटा किताब लिएर हजुरबुबाका कविता लय हालेर पढेको मलाई सम्झना छ। त्यस दिनभर हाम्रो घरमा वरपरका छरछिमेकी दाजुभाइ जम्मा भएका थिए।
संस्कृत, गणित र ज्योतिषशास्त्रका धुरन्धर विद्वान् नयराज पन्तको गुरुकुलीय पाठशालामा पढेर पारंगत भई उपाधि पाएपछि ज्ञानमणि दाजु आफ्नो थातथलो भोजपुरको साविक कोट गाविसको वितलव गएर अध्ययन-अनुसन्धान अगाडि बढाउनुभयो। त्यसै क्रममा पिताजी पं. भानुभक्त नेपालको देहावसान भयो। त्यसपछि घरव्यवहारको जिम्मा आमा विष्णुमाया र दाजुको काँधमा आयो। दाजु बाहेक हामी आठ जना दाजुभाइ-दिदीबहिनी नाबालक जस्तै भएकाले हाम्रो पढाइ, घरव्यवहार, खेतीपाती सबै व्यवस्थापन उहाँले नै गर्नुपर्यो। जसले गर्दा झन्डै डेढ दशक उहाँको अध्ययन-अनुसन्धानले तीव्रता पाउन सकेन।
गाउँमा एक प्रकारले खुम्चिएर बसेको अवस्थामा पनि दाजुले आफ्नो अध्ययन-अनुसन्धानलाई निरन्तरता दिइरहनुभयो। यसै अवधिमा हजुरबुबा वैयाकरणका कृतिहरू प्रकाशन गर्ने र पूर्वाञ्चलका पुराना र ओझेल परेको कवि-साहित्यकारका कृति खोजीमेली गरेर प्रकाशन गर्ने कार्यमा लागिरहनुभयो। मोफसलमा बसेर अनुसन्धानलाई निरन्तरता दिनु अत्यन्त गाह्रो काम हो। त्यसमा पनि यातायात र सञ्चार सुविधा नपुगेको तत्कालीन भोजपुरको अनकन्टार ठाउँमा बसेर स्रोतसाधनको अभावमा अनुसन्धान अगाडि बढाउनु सजिलो थिएन। त्यस्तो असुविधामा पनि दाजुले आफूलाई अद्यावधिक गराउँदै लैजानुभयो।
त्यस वेला काठमाडौंबाट प्रकाशन हुने एक मात्र पत्रिका गोरखापत्रको ग्राहक बनेका थियौं। पत्रिका काठमाडौंबाट हुलाक मार्फत पठाइन्थ्यो र एक महीनामा भोजपुर सदरमुकाम आइपुग्थ्यो। हुलाकले गाउँमा पुर्याउने चलन थिएन। सदरमुकाम गएको वेला एकमुष्ठ ल्याएर पढ्ने गरेको सम्झन्छु।
पछाडि नहट्ने बानी
ज्ञानमणि दाजुमा जस्तोसुकै अवस्थामा पनि अगाडि बढ्ने, पछाडि फर्केर नहेर्ने प्रवृत्ति थियो। यस सम्बन्धमा बाल्यकालीन सम्झना जोडेर यो प्रवृत्तिबारे प्रकाश पार्छु।
हाम्रो गाउँबाट भोजपुर सदरमुकाम पुग्न करीब तीन घन्टा हिंड्नुपर्थ्यो। सदरमुकाममा हरेक शनिबार हाट लाग्थ्यो। बिहान सबेरै हिंडेर दिनभर हाट भरेर बेलुका घर फर्कने चलन थियो। हाटबजारको चहलपहल हेर्न अनि जुलेबी र सेलरोटी खाने लोभले तीन/तीन घन्टा हिंडेर हाट भर्न गइन्थ्यो।
दाजुको वेलाबखत सदरमुकाम जाने काम परिरहन्थ्यो। त्यसै क्रममा कहिलेकाहीं उहाँसँगै हाटबजार जाने मौका मिल्थ्यो। उहाँ असाध्यै चाँडो हिंड्नुहुन्थ्यो। हामी केटाकेटी भएकाले उहाँसँगै हिंड्न सक्दैनथ्यौं। घरबाट सँगसँगै निस्किन्थ्यौं, तर जति दगुर्दा पनि उहाँलाई भेट्न सकिंदैनथ्यो। उहाँ पछाडि फर्केर हेर्नुहुन्नथ्यो। हिंड्दा पनि केही चिन्तन गरिरहनुभएको भान हुन्थ्यो।
बाटो हिंड्दा पछाडि फर्केर नहेर्ने त्यही स्वभाव उहाँको जीवनमै झल्किएको थियो। पछाडि हट्ने बानी थिएन। ब्रह्मले देखेका र प्रमाणले भेटेको कुरामा उहाँ एक्लै सतीसाल जस्तो खडा रहनुहुन्थ्यो।
प्रामाणिक लेखनमा ध्यान
२०३३ सालमा ज्ञानमणि दाजु काठमाडौं फर्कनुभएपछि उहाँको अध्ययन अनुसन्धानले पुनः तीव्रता पायो। गुरु नयराज पन्तको गुरुकुलीय शिक्षाको सिकाइ नै तथ्य र प्रमाणमा आधारित अनुसन्धान र प्रकाशन गर्ने थियो। त्यही लेखन परम्परालाई जिउँदो राख्न इतिहासको अन्वेषण र व्याख्यामा उहाँ डटिरहनुभयो।
इतिहासका कतिपय स्थापित गलत मान्यतालाई प्रमाणका आधारमा खण्डन गरी सत्यतथ्य उजागर गर्न निरन्तर लाग्नुभयो। अंग्रेजसँगको युद्धमा पराजित भई नेपालको ठूलो भूभाग गुम्ने गरी सन्धि गर्ने भीमसेन थापाभन्दा गुमेको राज्यको केही भाग फिर्ता ल्याउने जंगबहादुर राणा राष्ट्रवादी र राष्ट्रप्रेमी हुन् भन्ने मान्यतामा उहाँ कहिल्यै डगमगाउनुभएन। राज्यले विभूति घोषणा गरेका भीमसेन थापाभन्दा जहानियाँ शासनको शुरूआत गर्ने जंगबहादुरलाई राष्ट्रवादी मानेको कुरा कहलिएका विद्वान्हरूलाई समेत पचेन। तथापि सत्य उजागर गर्ने उहाँको लेखनकार्य रोकिएन। यसले नै उहाँलाई स्थापित गरायो। प्रमाणले पुष्टि गरेका विषयमा कसैसँग सम्झौता नगर्ने र ब्रह्मले देखेको सत्य कुरा निर्भीक भएर प्रस्तुत गर्ने प्रवृत्तिकै कारण ९२ वर्षको उमेरसम्म उहाँको लेखन बलशाली बनेको थियो।
उहाँले जीवनमा दुई कुरा मात्र जान्नुभएको थियो- पढ्ने र लेख्ने। हामीले थाहा पाउँदादेखि उहाँलाई खाली बसेको देखेनौं। पढ्नु, लेख्नु नै उहाँको दिनचर्या बन्यो। जीवनको अन्तिम घडीसम्म अध्ययन-अनुसन्धान र लेखनकार्यले विश्राम पाएन। जोश र हिम्मत कायमै थियो। सिकिस्त बिरामी परेर अस्पतालको शय्यामा रहँदा पनि डाक्टर र नर्सलाई भन्दै हुनुहुन्थ्यो, “मलाई चाँडै निको बनाएर घर पठाइदिनोस्, लेख्दै गरेको पुस्तक सक्नु छ। अरू ६ वटा पुस्तक प्रकाशन गर्नु छ। अझै धेरै काम पूरा गर्न बाँकी छ।”
तर उहाँको त्यो इच्छा पूरा हुन पाएन। महाप्रस्थानको समय आइसकेको रहेछ। २०८१ जेठ १ गते १२:१६ बजे ब्रह्मलीन हुनुभयो।भौतिक शरीर नरहे पनि उहाँका कृति र सत्यतथ्य लेखन परम्पराले उहाँलाई चिरकालसम्म जीवित राख्नेछ।
(लेखक नेपाल सरकारका अवकाशप्राप्त सहसचिव तथा वैयाकरण नेपाल प्रतिष्ठानका अध्यक्ष हुन्।)
यो पनि पढ्नुहोस् :