राष्ट्रिय परीक्षा बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीका आधारमा सार्वजनिक गरेको एसईईको नतीजामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण छन्, किन?
राष्ट्रिय परीक्षा बोर्डले असार १३ मा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतीजा प्रकाशन गरेको छ। विगत सात वर्षदेखि प्रचलनमा रहेको व्यवस्थालाई परिवर्तन गरेर यस वर्षदेखि नयाँ ‘लेटर ग्रेडिङ’ प्रणाली लागू गरिएको थियो। ग्रेडिङ प्रणालीका आधारमा नतीजा प्रकाशन हुँदा आधाभन्दा बढी अर्थात् ५२.१४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्।
एसईई दिएका चार लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख २२ हजार ४७२ विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार दुई लाख ४२ हजार ३१३ विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेडिङ (एनजी)’ मा परेका छन्।
उनीहरूमध्ये पनि दुई विषयमा एनजी हुने विद्यार्थी एक लाख १५ हजार ८३४ जना छन्। उनीहरूले साउन १८ र १९ गते हुने ग्रेड वृद्धि परीक्षा दिन पाउने शर्मा बताउँछन्। उनीहरूले ग्रेड वृद्धि गर्न सकेमा आउँदो शैैक्षिक सत्रमै कक्षा ११ मा भर्ना हुन पाउनेछन्। तीन पटकसम्म ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने व्यवस्था छ।
त्योभन्दा पनि बढी एक लाख २६ हजार ४७९ विद्यार्थी दुईभन्दा बढी विषयमा एनजीमा परेका छन्। उनीहरूले अहिले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछैनन्। अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ वा फेरि कक्षा १० मै पढ्न पनि पाउनेछन्।
राष्ट्रिय परीक्षा बोर्डले यही वर्षदेखि ‘लेटर ग्रेडिङ’ प्रणाली लागू गरेको हो। यो प्रणाली अनुसार विद्यार्थीले सैद्धान्तिक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्छ। २५ अंकको प्रयोगात्मक परीक्षा हुने भएकाले ७५ अंकको सैद्धान्तिक परीक्षामा कम्तीमा २७ अंक ल्याउनुपर्छ।
यसअघि ननग्रेडिङ प्रणाली लागू थियो। जसमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याए पुग्थ्यो। सैद्धान्तिकमा कम नम्बर भए पनि प्रयोगात्मकमा पाउने नम्बरले गर्दा अंक पुग्ने गरेको थियो। जसले गर्दा एसईई दिएका प्रायः सबै विद्यार्थी उत्तीर्ण अर्थात् कक्षा ११ मा भर्ना हुन योग्य हुन्थे।
एसईईले विद्यार्थीमा मानसिक दबाब परेको भन्दै ‘ननग्रेडिङ’ प्रणाली लागू गरिएको थियो। यो प्रणाली सात वर्षसम्म चलेको थियो। सबै विद्यार्थी उत्तीर्ण हुँदा पढाइको स्तर खस्किएको भन्दै यस वर्षदेखि ‘ग्रेडिङ’ प्रणाली लागू गरिएको छ।
नयाँ प्रणालीका कारण धेरै विद्यार्थी एनजी भएको अध्यक्ष शर्माको भनाइ छ। “गत वर्षसम्म त शून्यदेखि २० सम्म अंक आउने विद्यार्थीलाई पनि ग्रेडेड गरेर माथि पठाउँथ्यौं, यस वर्ष नयाँ लेटर ग्रेडिङ प्रणाली अनुसार नतीजा निकाल्दा त्यसो गरिएन,” शर्मा भन्छन्। विगतको तुलनामा राम्रो ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत बढेको उनको भनाइ छ।
नयाँ प्रणाली अनुसार एनजीमा परेका विद्यार्थीको संख्या धेरै देखिए पनि पढाइमा सुधार हुने एकथरी विज्ञहरूको भनाइ छ। अर्कोथरी विज्ञ भने ‘ग्रेडिङ’ वा ‘ननग्रेडिङ’ भन्दा पनि पढाइको स्तर सुधार्न ध्यान दिनुपर्ने बताउँछन्। लेटर ग्रेडिङ प्रणालीबारे विज्ञका विचार :
शिक्षण संस्कृतिमा परिवर्तन आवश्यक : बालचन्द्र लुइँटेल, शिक्षाविद्
एकातिर हाम्रो समाज विश्व सँगसँगै परिकल्पना, सिर्जनशीलता जस्ता कुराको लहरमा प्रवेश गरिसक्यो भने अर्कातिर हामी उही पुरानै ढंगले परीक्षा लिने परिपाटीतिर फर्किइरहेका छौं। विद्यार्थीले ‘कति सिक्यो, किन सिक्न सकेन, कहाँ कहाँ सुधारको खाँचो छ’ भनेर केलाउनुपर्नेमा ‘कति घोक्यो र उतार्यो’ भन्नेतिर केन्द्रित भयौं।
अझै ५२ हजार शिक्षक पुगेका छैनन्। शिक्षकलाई तलब दिने बाहेक विद्यालय तथा शिक्षण सुधारमा लगानी नै छैन। कसरी पढाउने र कसरी परीक्षा लिने भन्ने दृष्टि नै भएन। यस्तो शिक्षण र परीक्षण संस्कृतिले अघि बढाउँदैन। यसमा परिवर्तन आवश्यक छ।
ग्रेडिङ प्रणालीले राम्रो प्रभाव पार्नेछ : मनप्रसाद वाग्ले, शिक्षाविद्
२०७२ सालमै ‘लेटर ग्रेडिङ’ प्रणाली कार्यान्वयन गर्ने वेलामा हामीले दिएको सुझाव बल्ल आएर कार्यान्वयन भएको छ। परीक्षामा सम्मिलित सबै उत्तीर्ण हुने भन्ने २०७३ साउन १४ गतेको गलत निर्णयको परिणाम सात वर्षसम्म हेरेपछि शिक्षा मन्त्रालय परिवर्तनको निष्कर्षमा पुगेको मैले बुझेको छु। यसका लागि मन्त्रालयलाई बधाई दिन चाहन्छु।
यसबीचमा लागू भएको ‘ननग्रेडिङ’ को व्यवस्थाले नपढे पनि उत्तीर्ण भइहालिन्छ भन्ने मान्यता विद्यार्थीमा र नपढाए पनि हाम्रा विद्यार्थी कक्षा ११ मा पुगिहाल्छन् भन्ने मान्यता शिक्षकमा हावी हुँदा शिक्षाको गुणस्तर खस्कियो।
सैद्धान्तिकमा ३५ प्रतिशत पनि अंक नल्याउने विद्यार्थीलाई उत्तीर्ण गर्नुको कुनै अर्थै छैन। यस पटक लागू गरिएको ग्रेडिङ प्रणालीले आगामी दिनमा उच्च शिक्षामा राम्रो प्रभाव पार्नेमा विश्वस्त छु।
पढाइमा नयाँ तरीका अपनाउँदा राम्रो नतीजा आउँछ : शारदा पौडेल, प्रधानाध्यापक, दरबार हाइस्कूल
हाम्रो स्कूलबाट करीब ९० प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन्। ‘ननग्रेडेड’ भएका करीब १० प्रतिशत पनि एक वा दुई विषयमा मात्रै छन्। देशभरको नतीजा हेर्दा हाम्रो राम्रो छ र खुशी बनाएको छ।
विगतका वर्षमा ‘ननग्रेडेड’ पद्धति नहुँदा विद्यार्थीमा मिहिनेत गर्ने बानी कम भइसकेको थियो। दाजुदिदीलाई खासै मिहिनेत नगरी कक्षा ११ मा पुगेको देखेका विद्यार्थीले के गर्लान् भन्ने डर पनि लागिरहेको थियो।
तर हामीले कक्षा ९ देखि नै बिहानबेलुका थप कक्षा राख्ने, कक्षालाई जतिसक्दो अन्तरक्रियात्मक बनाउने, विद्यार्थीबीच कपीको क्रस चेकिङ गराउने जस्ता नवीन तरीका अपनाएका थियौं। जसले गर्दा विद्यार्थीमा पढाइप्रति वितृष्णा बढ्न पाएन, रमाइलो रमाइलोमै सिकेछन्।
हाम्रो अनुभवमा त ‘ननग्रेडिङ’ पद्धति नै ठीक छ। बुझ्नका लागि पनि पढ्नुपर्छ, उत्तीर्ण भए मात्रै अघि बढ्न पाइन्छ भन्ने कुराले विद्यार्थीमा मिहिनेत गर्ने बानी बसाल्छ। त्यसका लागि पनि ‘ननग्रेडिङ’ पद्धति राम्रै छ।
गल्ती सबैको, मर्कामा विद्यार्थी : सुप्रभात भण्डारी, अध्यक्ष, नेपाल अभिभावक महासंघ
शैक्षिक गुणस्तर परीक्षण केन्द्रको रिपोर्ट ‘न्याशनल एसेस्मेन्ट अफ स्टुडेन्ट अचिभमेन्ट, २०२०’ का अनुसार कक्षा ८ मा गणित, विज्ञान, नेपाली र अंग्रेजी विषयमा विद्यार्थीको सिकाइको अवस्था ५० प्रतिशतभन्दा तल छ। एसईईको अहिलेको नतीजामा ५२.१४ प्रतिशत ‘ननग्रेडेड’ आउनुले ठ्याक्कै त्यही तस्वीरलाई प्रस्ट्याउँछ। यसको मतलब समस्या एकै चोटि कक्षा १० मा आएर वा नपढे पनि कक्षा ११ मा पुगिहालिन्छ भन्ने मान्यता मात्रैले आएको होइन।
कोही विद्यार्थी अनुत्तीर्ण नहुने व्यवस्था सहित अक्षर ग्रेडमा जानु वा ‘ननग्रेडेड’ गर्नुमा कुन राम्रो वा कुन नराम्रो भन्दा पनि किन र कहिलेसम्मका लागि यो व्यवस्था ल्याइएको हो, हेर्नुपर्छ। नयाँ मन्त्री आएपछि टालटुले नीति ल्याउने प्रचलन धेरै भयो। कहिले ४० प्रतिशत, कहिले ३२ प्रतिशत त कहिले ३५ प्रतिशत गरिएको छ।
विद्यार्थीले नपढी वा नसिकी प्रमाणपत्र पाउनुपर्छ भन्ने होइन, तर वर्षभरिको सिकाइलाई तीन घन्टामा मूल्यांकन गर्ने तरीकामाथि नै प्रश्न हो। विद्यार्थी ‘ननग्रेडेड’ हुनुमा कति भूमिका विद्यालय र शिक्षकको रह्यो होला, कति अभिभावकको। तर मूल्यांकन केवल विद्यार्थीको भयो, यो सही तरीका होइन।