‘जंगबहादुरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ’
‘राष्ट्र प्रतीकहरूमा बाँच्छ। विभूति बनाउँदा नेपाल राष्ट्रको निर्माणमा योगदान पुर्याएका व्यक्तित्वको खोजी गर्नुपर्छ। पासाङल्हामु, सीता, जनक, बुद्ध, अरनिको, शंखधर साख्वा यी सबै विभूतीय गरिमामा नअट्ने पात्र हुन्।’
कोलम्बिया विश्वविद्यालयबाट एशियाली भाषा तथा संस्कृति विषयमा विद्यावारिधि गरेका रमेश ढुंगेलले करीब तीन दशक त्रिभुवन विश्वविद्यालय अन्तर्गत सिनास, संस्कृति-पुरातत्त्व, मानवशास्त्र, समाजशास्त्र, बौद्ध अध्ययन आदि विभागहरूमा रही अन्वेषण र प्राध्यापनको काम गरेका छन्। अमेरिकाका अभिलेखालय, बेलायतको ब्रिटिश लाइब्रेरी र रोयल एशियाटिक सोसाइटी, युनिभर्सिटी अफ लन्डन, कोलम्बियाको साउथएशियन इन्स्टिच्यूट जस्ता प्राज्ञिक संस्थाहरूमा प्राध्यापन र अनुसन्धानका काम गरेका उनका सयौं लेख रचना र करीब एक दर्जन पुस्तक प्रकाशित छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थापनाकालदेखि नै संलग्न उनी हाल काठमाडौं विश्वविद्यालयको बौद्ध अध्ययन विषयको चेयरमेनका रूपमा जोडिएका छन्। उनकै अध्यक्षतामा बौद्ध तथा हिमाली अध्ययन विषयको स्नातकोत्तर तहको कलेज सञ्चालित छ। प्रस्तुत छ, उनै ढुंगेलसँग नेपालको इतिहास सम्बन्धी विविध विषयमा हिमालखबरका लागि गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंले ‘राज्य पुन:संरचना उच्चस्तरीय आयोग’ र कालापानी सीमा विवादबारे गठित कार्यदलको विज्ञ सदस्य भएर काम गर्नुभएको छ। तपाईंको अनुभवमा राजनीतिक विवाद निरूपणमा इतिहासको भूमिका कस्तो हुँदो रहेछ?
कुनै पनि देशको राष्ट्रियता, दुई देशबीचको सम्बन्ध, राज्यको पुन:संरचना लगायत विषयमा काम गर्दा इतिहासबारे जानकारी हुन आवश्यक छ।
राज्य पुन:संरचनाका सवालमा जातीय चिनारीको भूमिका बढी हुन्छ, जसलाई बुझ्न इतिहास चाहिन्छ। सम्बन्धित समुदायले आफूलाई जे भनेर चिनायो, त्यसलाई नै आधार मान्ने संयुक्त राष्ट्रसंघको अवधारणा छ। तर कहिलेकाहीं समुदायले आफ्नो चिनारी बढाइचढाइँ गर्ने वा लुकाउने हुँदा राष्ट्रसंघको जातीय चिनारी सम्बन्धी भावनात्मक व्याख्याले जातीय इतिहासको सन्दर्भ अनदेखा गर्न सक्छ। त्यसकारण जातीय वा ऐतिहासिक चिनारीलाई तथ्यहरूको तुलनात्मक अध्ययन गरी प्रमाणित गर्ने काम प्राज्ञहरूको हो।
जिओग्राफी (भूगोल) र कार्टोग्राफी (नक्शांकन)का आधारमा मात्र पुन:संरचनाको विवाद निरूपण हुँदैन। शुरूमा ६ प्रदेश विभाजनको जुन खाका बनाइएको थियो, त्यसमा विवाद भयो। यसपछि हामीले समुदायको थातथलो अर्थात् बसोबासको इतिहास, भाषा, संस्कृति आदिलाई राज्य पुन:संरचनाको आधार बनायौं।
प्रदेश निर्धारणमा प्राकृतिक भूगोल र इतिहासले भूमिका खेल्छ। नदी सभ्यतासँगै बसोबासको रूपरेखा कतातिर मोडिएको छ, त्यसको खोजी गर्नुपर्छ जसका लागि इतिहास बुझ्नुपर्छ। जस्तो- अहिले कोशी प्रदेशको नाममा विवाद छ। चिनारीसँग जोडिएको खुवालुङको प्रश्नले इतिहासलाई घचघच्याएको छ। प्रदेशको नाम कोशी राख्ने कि किरात भन्ने सवालमा ऐतिहासिक प्रमाणहरूको खोजी गर्नुपर्छ। बसोबास र थातथलोको ऐतिहासिक तथ्यहरूले यस क्षेत्रमा भइरहेको विवाद निरूपणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
दुई देशका सिमानाहरूको सवालमा पनि इतिहासको भूमिका हुन्छ। विशेषतः कालापानी, लिपुलेक, लिम्पियाधुराको सवालमा सुगौली सन्धिका दस्तावेज र त्यसअघिका नेपाल-भारत सम्बन्धका आधारहरूको खोजी हुनुपर्छ। ती क्षेत्रमा कसले शासन गरेका थिए? शासनव्यवस्था कसरी चलेको थियो? यसको अध्ययनले मुख्य प्रश्नमा पुर्याउँछ।
चन्द्रशमशेरले गर्व्याङमा शासन गरेको दस्तावेज पाइएको छ। ब्रिटिशले शासन गरेको भनिएको क्षेत्रमा नेपालतर्फका ‘दुईछापे’ सनद लाएर राज्य गरेका प्रमाण छन्। त्यसैले भारतसँग जोडिएका सीमा विवादको निरूपणमा ऐतिहासिक तथ्य-प्रमाणलाई नै अगाडि सार्नुपर्छ।
भारतले आफ्नो भनी दाबी गरेका र सैनिक समेत राखेका गुन्जी, नाबी लगायत झमेला भएका ठाउँलाई हाम्रा दस्तावेज र सुगौली सन्धिले समेत नेपालको हो भन्ने प्रमाणित गरेका छन्। सीमाको आधार कालीलाई मान्दा, पश्चिमबाट आउने काली हो कि लिपुलेकबाट झर्ने काली हो भन्ने प्रश्नले झमेला उठाएको अवस्था छ। यसका लागि पुराना ऐतिहासिक दस्तावेज नै हेर्नुपर्छ। पुराना दस्तावेजमा अहिले कालापानी भनिएको ठाउँलाई ‘छुछेन’ अर्थात् तातोपानी भनिएको छ। यहाँ खसहरूको मेला लाग्थ्यो। भाषिक इतिहास र भाषिक पुरातत्त्वको कोणबाट कालापानीको उद्भवको इतिहास खोज्न जरूरी हुन्छ।
मैले अध्ययन गरेका पुराना ऐतिहासिक दस्तावेजमा अहिले भारतीय सेनाले ओगटेको क्षेत्रको नाम कालापानी थिएन। त्यहाँबाट करीब २५ किलोमिटर परको कुती भन्ने बस्ती चाहिं खास कालापानी हो। सेन्ट्रलएशियाको टार्टारिक भाषामा ‘कु’ को अर्थ कालो र ‘ती’ को अर्थ पानी अर्थात् कालोपानी हुन्छ। मगर भाषाको नामान्तमा ‘डी’ वा ‘दी’ (राम्दी, म्याग्दी, रिडी, मर्स्याङ्दी) आउने पानी तथा नदी बोधार्थक शब्दहरूले टार्टारिक भाषासँग सम्बन्ध राखेको देखिन्छ। यसकारण कुनै कालखण्डमा बस्न दिइएको चौरलाई नै कालापानी र त्यस नजीकको खोलालाई काली भनेर विवाद निकाल्नु गलत हो।
मगर भाषामा पानी जनाउने ‘डी’ वा ‘दी’ शब्दले सेन्ट्रलएशियासँग सम्बन्ध राख्छ भन्ने तथ्य बुझ्न भाषाविज्ञान र भाषिक पुरातत्त्वको ज्ञान हुनुपर्छ। यहीं झल्किन्छ इतिहासको महत्त्व।
कुती भनेको कालो पानी भएकाले कुती खोला जोडिएपछि मूल खोलाको नाम काली रहन गयो। त्यहाँको बस्तीलाई कुती अर्थात् कालापानी भनियो। त्यसैले अहिले जसलाई कालापानी भनिएको छ, त्यो कालापानी होइन। कालापानी भनेको कुती नै हो।
भाषिक पुरातत्त्वको कुरा उठान गरिहाल्नुभयो, तपाईं त तिब्बती भाषा र लिपिको विज्ञ। नेपालको इतिहास अध्ययन गर्न नेपाली-इतर भाषा र लिपिको ज्ञान हुनु कत्तिको आवश्यक हो?
इतिहास अध्ययनमा अभिलेखहरूको लिप्यन्तरण तथा भाषान्तरण पहिलो महत्त्वपूर्ण काम हो भने त्यसका आधारमा इतिहासलाई विभिन्न दृष्टिकोणबाट व्याख्या गर्नु दोस्रो महत्त्वपूर्ण काम हो।
हाम्रो क्षेत्रमा लिपिको इतिहासको फेद ब्राह्मी लिपि हो। ब्राह्मीका अनेक शैली र स्वरूपमध्ये प्राचीन नेपालमा लिच्छवि लिपि देखा पर्यो। लिच्छवि लिपि नै तिब्बती भाषामा लेञ्जा भनिने रञ्जना, भुजिमों, गोलमों, पाचुमों, प्रचलित नेवारी लिपि लगायतको उत्पत्तिको आधार बन्न पुग्यो। देवनागरी लिपिको मूल जरो पनि लिच्छवि लिपि हो। सम्भोटा भनिने प्राचीन तिब्बती लिपिको इतिहास पनि ब्राह्मी लिपिमै जोडिन्छ।
त्यसैले लिच्छवि तथा मल्लकालका अभिलेख र दस्तावेजको अध्ययन गर्न यी लिपिको ज्ञान हुन आवश्यक हुन्छ।
नेपालको इतिहास निर्माणमा भारतीय मैदानी सभ्यता जत्तिकै हिमाली सभ्यता र संस्कृतिको पनि देन छ। तर हामीमा एकपक्षीयता बढी हुँदा इतिहास लेखनको आयाम साँघुरिएको देखिन्छ। हिमाली सभ्यता र संस्कृतिको अध्ययन गर्दा टार्टारी, कुमाउनी र गढवाली भाषा र तिब्बती लिपिहरू पनि जान्नुपर्छ।
दाम्लो, नाम्लो र काम्लो, डोल्पा, रोल्पा र हुम्ला जस्ता शब्दहरू संस्कृत भाषाका होइनन्। नेपालका जनजातीय बोधार्थक नदीका नामलाई पनि पछि संस्कृतकरण गरिए जसका पुरानो नाम मगर, गुरुङ, तिब्बती, टार्टारी लगायत हिमाली जातिका भाषाबाट व्युत्पत्ति भएका हुन्। हिमाल कञ्चन र सफा भएकाले कञ्चनजंघा नाम राखिएको तर्क गर्नु हास्यास्पद हो। कञ्चनजंघाको पुरानो नाम त तिब्बती भाषासँग सम्बन्धित छ, जसलाई घाङछेनझोङ-ङा भनिन्छ। यसको अर्थ ‘पाँच महाहिमालको क्षेत्र’ भन्ने हुन्छ।
यसकारण इतिहासको व्याख्यामा भाषिक पुरातत्त्वको ज्ञान हुनै पर्छ। नेपालको इतिहासको अध्ययनका लागि टार्टारिक, तिब्बती, चिनियाँ जस्ता हिमाली भाषाका साथसाथै उर्दू, फारसी जस्ता भाषाको पनि महत्त्व छ।
नेपालको इतिहासको कुरा गर्दा इतिहासविद्हरूबीच यसको काल विभाजनमा मतैक्य छैन। तपाईंका विचारमा नेपालको इतिहासको काल विभाजनको आधार कत्तिको मौलिक र मिल्दो छ? यसमा पुनर्विचार गर्नुपर्छ कि पर्दैन?
विभिन्न इतिहासविद्सँग छलफल र विमर्श नै नगरी नेपालको इतिहासको काल विभाजन गरिएको छ। त्यसमा पनि जुन रीत पछ्याइएको छ, यूरोपेली शैलीको प्रभाव देखिन्छ।
हामीले नेपाल संवत् शुरू भएपछि जयस्थिति मल्लको उदयसम्मको पूर्व मल्लकाललाई ‘अन्धकार युग’ भनेर पढ्यौं। तर के त्यो कालखण्ड साँच्चै अन्धकार युग थियो त? पूर्व मल्लकालमा एकातिर वैदिक सनातनी धर्म-संस्कृतिको विकास हुँदै थियो भने अर्कातिर बौद्ध धर्मको पुनरुत्थानको युग पनि थियो। काठमाडौं उपत्यका र तिब्बतबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध मजबूत हुँदै थियो। त्यस वेला राजनीतिक इतिहास केही खजमजिएको देखिन्छ नै, तथापि यूरोपको इतिहासको अन्धकार युग भनिएकै शैलीमा काठमाडौंको पूर्व मल्लकाललाई अन्धकार युग भन्न मिल्दैन।
यूरोपमा आठौं-नवौं शताब्दीदेखि १३औं-१४औं शताब्दीसम्मको युग ज्ञान-विज्ञानका दृष्टिकोणले खस्कँदो थियो। तर यही समयमा बागमती सभ्यता उन्नत अवस्थातिर उन्मुख थियो। इतिहासविद् धनवज्र वज्राचार्यले पनि आफ्ना लेखहरूमा पूर्व मल्लकालबारे यसै किसिमले प्रकाश पार्नुभएको छ।
पूर्व मल्लकालमा भाषा, कला, साहित्य, संस्कृति र सभ्यताको दृष्टिकोणले खस प्रदेश पनि उन्नत अवस्थामा थियो। यूरोपमा चर्चको दमन, भाषा र संस्कृतिको खस्कँदो अवस्था लगायत कारणले यूरोपेली ऐतिहासिकहरूले त्यहाँको पूर्व मध्यकाललाई अन्धकार युग (डार्क एज) भनेका हुन्। उनीहरूको यो इतिहासको काल विभाजनको आधारलाई यहाँ स्वर्णयुग वा अन्धकारयुग भनेर काल विभाजन गर्नु अमिल्दो देखिन्छ।
काठमाडौं उपत्यकालाई मात्र हेर्दा प्राचीनकाल, मल्लकाल र शाहकाल नामका एकरेखीय काल विभाजन देखिन्छ, जुन ठीकै पनि होला। तर यसले समग्र नेपालको इतिहासको काल विभाजनको प्रतिनिधित्व गर्दैन। जस्तो- नेपाल संवत् शुरू भएपछिको काललाई मध्यकाल भनिए पनि जयस्थिति मल्लको उदय नहुँदासम्म कालक्रममा खजमजिएको देखिन्छ। यति वेला पश्चिम खस क्षेत्रमा केकस्तो अवस्था थियो, त्यो लेखिएको छैन। वस्तुतः खसपूर्वका टार्टारीहरूको सामाजिक, सांस्कृतिक र राजनीतिक इतिहासबारे अध्ययन नै भएको छैन।
पश्चिम तिब्बतमा श्याङशुङ अधिराज्य हुँदा र त्यसअघि हुम्ला-जुम्लाको अवस्था के थियो? यसबारे अध्ययन भएको छैन। खसअघि त्यस क्षेत्रमा टार्टारीहरू (जसलाई ‘सोग्पो’, ‘होर्पो’ भनिन्थ्यो)को शासन थियो, जसको एउटा झुन्ड चीन पुगेर बादशाह वा सम्राट्का रूपमा स्थापित भयो। तिनीहरूकै केही झुन्ड हिमाली काखमा रहे, जुन बिस्तारै विलीन भए। ती टार्टार सोग्पो-होर्पोहरू नै हाम्रो गण्डकी भेगका मगरहरू हुनपर्छ भन्ने मलाई लागिरहेको छ।
यसकारण पनि नेपालको इतिहासको काल विभाजन अलि सतही ढंगबाट गरिएको देखिन्छ। कहिलेदेखि कहिलेसम्मलाई प्राचीनकाल भन्ने नै अस्पष्ट छ। नेपाल संवत् शुरू भएसँगै मध्यकाल शुरू भएको भन्ने तर्कमाथि प्रश्न उठाउन सकिन्छ।
मूलतः काल विभाजन हुँदै गर्दा सभ्यताको प्रवाहमा के परिवर्तन आयो? लिच्छविकालको सामाजिक तथा सांस्कृतिक प्रवाहले मल्लकालमा पनि निरन्तरता पाएको छ। प्रताप मल्लको समय र जयप्रकाश मल्लको समयमा खासै फरक भेटिंदैन। पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरिसकेपछि त्यसअघिको मल्लकालभन्दा त्यसपछिको शाहकालको सामाजिक-सांस्कृतिक संरचनामा तात्त्विक भिन्नता देखिंदैन।
किरातअघि गोपाल र महिषपालवंशीहरूले शासन गरेको साहित्यिक र पौराणिक प्रमाणहरू छन्। तर ती वैदिक सभ्यताका उत्तराधिकारी हुन् भन्ने पनि कुनै प्रमाण छैन। गाई पाल्नेलाई गोपाल, भैंसी पाल्नेलाई महिषपाल भनिने पशुपालक र कृषक समूहहरूको वंशगत आधारमा काल विभाजन गर्नु कत्तिको वैज्ञानिक हो?
त्यस्तै, किरातकालपछि एकै पटक लिच्छविकालको कुरा गरिन्छ। वास्तवमा किरातकाललाई विस्थापन गर्ने लिच्छविहरू नभएर वर्मावंशी हुन्। तर अधिकांश इतिहासविद् किरातहरू लिच्छवि शासकबाट पराजित भएको कुरा गर्छन्। वर्मावंशका १२/१३ जना शासक भेटिएका छन्। तिथिमितियुक्त अभिलेख सहितको राजा जयवर्माको मूर्तिले वर्मावंशको इतिहासलाई अकाट्य रूपमा प्रमाणित गर्छ। लिच्छविकालका अभिलेखहरू परिशीलन गर्दा पनि अनेकौं वर्माहरूको नाम पाइन्छ।
लिच्छवि राजनीतिमा समेत वर्माहरूको भूमिका रहेको देखिन्छ। चाँगुनारायणको मन्दिर हरिदत्त वर्माले बनाएको वंशावलीको कथन छ। यही मन्दिरलाई राजा अंशुवर्माले जीर्णोद्धार गरेका थिए। तर एउटा शक्ति समूहका रूपमा लामो समय आफ्नो अस्तित्व कायम राखेका वर्मावंशलाई वंशावलीकार र इतिहासविद्हरूले काल विभाजन गर्दा बिर्सिएको देखिन्छ।
यस्तै, लिच्छविकाल कहिले सकियो भन्ने पनि प्रस्ट छैन। किनकि पूर्व मध्यकालसम्म पनि नामान्तमा ‘देव’ नामधारी राजाहरूको अस्तित्व देखिंदा नेपाल संवत्को शुरूआत भएसँगै मध्यकालको शुरूआत भएको भनिने कमजोर तर्कलाई मान्ने कि नमान्ने? देवहरू लिच्छविकै वंशगत निरन्तरता हुन् कि होइनन्?
तराईबाट ल्याइएका जयस्थिति मल्लको समयदेखि मल्ल राजाहरूको स्पष्ट तिथिक्रम देखिन्छ। यहाँनेर जयस्थिति मल्लको ‘अस्पष्ट पहिचान’ बारे थप छलफलको खाँचो छ। त्यसैले माथि उल्लिखित तथ्यका आधारमा नेपालको इतिहासको काल विभाजन पुनर्विचार गर्नु अत्यन्त आवश्यक देखिएको छ।
यसरी हेर्दा त नेपालको इतिहास भनेर काठमाडौंको इतिहास पढाइनु पनि त न्यायोचित भएन नि, होइन?
इतिहासविद् धनवज्र वज्राचार्यले मूलतः नेपालका तीन वटा स्थानलाई सभ्यताको मूलथलो भनी लेख्नुभएको छ- नेपालको पश्चिमोत्तर दिशामा रहेको कर्णालीको खस सभ्यता, तिरहुतको सिम्रौनगढ सभ्यता र काठमाडौं उपत्यकाको नेवा सभ्यता।
हामीलाई खसहरू कर्णाली क्षेत्रका राजा मात्र हुन् भनियो, जुन गलत हो। खसलाई कर्णालीका शासक मात्र भनेर बुझ्दा त ‘खारी प्रदेश’ ले ओगटेको खस सभ्यता संकुचन हुन्छ। ‘खारी प्रदेश उदभव्’ भन्ने अभिलेख सहितको वाक्यले तिब्बतलाई जनाउँछ। ‘खार’ ले तिब्बती भाषामा दरबार भएको ठाउँबाट आएको भन्ने भाव बुझाउँछ। ‘ताक्लाखार’ अर्थात् ताक्लाकोटमा पुरानो दरबार थियो। यस आधारबाट ताक्लाकोट अर्थात् खारी प्रदेशसँग खसहरूको सम्बन्ध देखिएको छ। यसर्थ कर्णाली क्षेत्रका रूपमा मात्र नबुझी पश्चिम तिब्बतसम्म फैलिएको ‘याचे’ साम्राज्यभित्र खस क्षेत्र पर्छ भनेर बुझ्नु बढ्ता इतिहाससम्मत होला।
खसहरूको साम्राज्य त अहिलेको नेपालभन्दा विशाल थियो। सारमा त खसहरू नागरिक हुन्। राजाहरू ‘याचे’ अर्थात् यक्षराज हुन्। तिब्बती भाषामा ‘याचेपा’ ले शासक र ‘खाचेपा’ ले प्रजा भन्ने बुझाउँछन्। यही कारण ‘खाचेपा’ ले आफूलाई राजा भनेर बुझाउन ‘खसदेशाधिपति’ भनेर विरुदावली लेखाए। खसहरूको विषयमा यति कुरा पनि व्याख्या हुन सकेको छैन हाम्रा इतिहासविद्हरूबाट।
त्यसकारण काठमाडौं उपत्यकालाई मात्र आधार केन्द्र मानी नेपालको इतिहासको काल विभाजन गर्नु, नेपालको इतिहास भनेर काठमाडौं उपत्यकाको मात्र इतिहास पढाउनु ठीक होइन। तर तीन वटा मुख्य सभ्यतामध्ये काठमाडौं महत्त्वपूर्ण सभ्यता भएको र अहिले पनि नेपालको राजधानी भएकाले काठमाडौंको इतिहास नै नेपालको इतिहास भनी बुझिन गएको हो।
काठमाडौं बाहिरको क्षेत्रीय इतिहास लेखनको अवस्था के हो र यो उपेक्षामा किन परेको हो?
वस्तुतः क्षेत्रीय इतिहास लेखनलाई महत्त्व नदिइएकै हो। तथापि २०२७ सालमा तत्कालीन प्रज्ञा प्रतिष्ठानले कर्णाली प्रदेशको अध्ययनका लागि पाँच जनाको समूह खटाएको थियो। सरकारका पक्षबाट क्षेत्रीय इतिहास अध्ययनका लागि गरिएको यो पहिलो प्रयास हो। यही कामबाट सत्यमोहन जोशी चर्चित हुनुभयो। तथापि उहाँले लेखेको कर्णाली प्रदेशको इतिहास पुस्तकका सबल र दुर्बल पक्षहरू नभएका होइनन्।
पछि, धनवज्र वज्राचार्यले पनि कर्णाली प्रदेशको इतिहासमा केही काम गर्नुभयो। योगी नरहरिनाथले उपत्यका बाहिरका धेरै ऐतिहासिक सामग्री संकलन र प्रकाशन गर्नुभएको छ। देवीप्रसाद श्रेष्ठ र रत्नाकर देवकोटाहरूले पनि खस क्षेत्रको अध्ययनमा योगदान पुर्याएका छन्।
उपत्यका बाहिरको इतिहासको खोजमा संशोधन मण्डलको देन तुलनात्मक रूपमा कम पाइन्छ। तर इतिहास शिरोमणि बाबुराम आचार्यको देन यसमा अलि बढी देखिन्छ।
म आफैंले मुस्ताङ क्षेत्रको अध्ययन गरेको छु। राजाराम सुवेदी, टेकबहादुर श्रेष्ठ र सूर्यमणि अधिकारीहरूले पनि केही मात्रामा बाइसे-चौबिसे क्षेत्रको अध्ययन गरेका छन्। यसअघि ह्यामिल्टन आदिले मात्र त्यस क्षेत्रमा वंशावलीको खोजी सहित केही काम गरेका थिए। त्यस्तै, जुशेप टुची (खस सहित पश्चिम हिमालय), इमानसिं चम्जोङ (किरात र मोरङ विजयपुरतर्फ), मोहन खनाल (सिम्रौनगढ सहित सेन र खस सभ्यता), जगमान गुरुङ (गण्डकी क्षेत्र र गुरुङ विषय), विष्णुप्रसाद घिमिरे र निर्मल श्रेष्ठका पाल्पा र सेन सम्बन्धी अध्ययनलाई पनि यस सन्दर्भमा उल्लेख गर्नुपर्छ जस्तो लाग्छ। यद्यपि अहिले पनि गण्डकी र कर्णाली प्रदेशको एकसरो अध्ययन भएको छैन।
दुःखद कुरा त, इतिहास पढाउँदा काठमाडौं उपत्यकाको इतिहासलाई नै काल विभाजनको आधार बनाउने र काठमाडौंका शासकको मात्र व्याख्या गर्ने, पूर्व मल्लकाल र मल्लकालको इतिहास पढाइने, अर्थात् समग्र नेपालको इतिहास भनेर काठमाडौं उपत्यकाको इतिहास लेख्ने, पढ्ने र पढाउने गलत प्रवृत्ति भयो।
क्षेत्रीय इतिहासको कुरा गर्दा सिम्रौनगढ र काठमाडौं उपत्यकाको इतिहासको सम्बन्धका विषयमा पनि चर्चा गर्नुपर्छ। मुगल आक्रमणबाट सिम्रौनगढको पतन भएपछि त्यहाँका अन्तिम राजा हरिसिंह देव शरणार्थी बनी काठमाडौं पस्न आउँदा बाटामै उनको मृत्यु भयो। तर रानी देवलदेवीले भाइभारदार, गुरु पुरोहित, नोकरचाकर र निकटका जनता सहित भक्तपुर त्रिपुर दरबार (माइती)मा राजनीतिक शरण पाइन्। अन्ततोगत्वा सिम्रौनगढका तिरहुतेलाई काठमाडौंको राजगद्दी दिइयो। स्थितिराजलाई सिम्रौनगढबाट ल्याई त्रिपुर दरबार हुलेर ज्वाइँ बनाई उपत्यकाको राजगद्दीमा राख्ने बाटो देवलदेवीले बनाइन्।
अहिलेका केही इतिहास अध्येता जयस्थिति मल्ललाई गाली गर्छन्। बिचरा जयस्थिति मल्ललाई युवावस्थामै ल्याएर अनेक जालझेल गरी ज्वाइँ बनाइयो र गद्दीनसिन राजपुत्री राजल्लदेवीका पतिका नाताले उनले राजा समेत बन्नुपरेको थियो।
त्यति वेला यहाँको आन्तरिक राजनीतिको किचलोले उनी हैरान थिए। अझ भनौं, सिम्रौनगढमा मुस्लिम आक्रमण भएपछि त्यहाँको दरबार अर्थात् राज्य नै काठमाडौंमा गाभिएको थियो। सिम्रौनगढकी देवी तुलजा भवानीले उपत्यकामा मान्यता पाइन्। त्यस वेलाका विद्वान्हरूले पनि काठमाडौं उपत्यकामा मान र इज्जत पाए। त्यस कारण सिम्रौनगढको सांस्कृतिक राज्यको मानक रूपरेखा काठमाडौंमै गाभिएको छ भनिएको हो।
उपत्यकाको राजनीतिक निर्णयमा सिम्रौनगढका पण्डितहरूको हात हुन्थ्यो। राजल्लदेवीसँग विवाह भएको १४ वर्षपछि मात्र स्थितिराज (मल्ल) राजाधिराज घोषित भएका थिए। उनको खास नाम समेत थाहा छैन। स्थिति बसाएका हुनाले उनलाई जयस्थिति र डोलाजीप्रथा अनुसार ससुरालीको थर दिएको हुनाले मल्ल भनिएको मात्र हो। त्यसपछि मात्र काठमाडौं उपत्यकाका तीन शहरको केन्द्रीय प्रशासनको खास रूप देखापर्यो। जयस्थिति मल्लले वास्तवमा तीन वटा राज्यलाई एउटै प्रशासनको रूप दिनुपरेको थियो।
काल विभाजनमै फर्कौं, अघि तपाईंले स्वर्णयुग र अन्धकार युगको भाष्य अमिल्दो भयो भन्नुभएको थियो। नेपालको इतिहासमा लिच्छविकाललाई ‘स्वर्णयुग’ मान्दै गर्दा मल्लकालको सामाजिक-सांस्कृतिक योगदानलाई कुन कोणबाट हेर्न सकिएला?
उत्कृष्ट भाव बुझाउन स्वर्णयुग भनिएको हो। यस विषयमा राष्ट्रले मापदण्ड बनाएर निरूपण गर्नुपर्ने हो। तर भावनामा डुबेर लिच्छविकाललाई स्वर्णयुग लेखिदिएका कारण लामो कालसम्म त्यही मान्यता स्थापित भयो। स्वर्णयुगको भाष्यमाथि हामी कसैले पनि प्रश्न गरेनौं।
प्रथमतः ऐतिहासिकताका दृष्टिकोणले लिच्छविकाल प्रामाणिक युग हो। भगवान्लाल इन्द्रजी भट्ट, सिल्भा लेभी, आर नोली र जर्ज ब्हुलर आदिले यहाँका प्राचीन अभिलेख अध्ययनको थालनी गरे। लिच्छविकालका २०० भन्दा बढी अभिलेखले यस युगका विविध पक्षमाथि प्रकाश पार्छन्।
लिच्छविकालका अभिलेखमा व्यक्त सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक संकेतका आधारमा धेरै बहकिएर बालचन्द्र शर्मा लगायतले स्वर्णयुगको कल्पना गरेको देखिन्छ। यस तर्कलाई स्थापित गर्न सबैभन्दा बलियो आधार लिच्छविहरूको आत्मनिर्भरतालाई लिइएको छ। तर सानो अर्थतन्त्र र रजौटा जस्तो संयन्त्र भएको हुनाले स्वर्णयुगको भाष्यमाथि प्रश्न उठान गर्न सकिन्छ।
लिच्छवि शासकको राजनीतिक भूगोल कत्रो थियो भन्नेमा पनि प्रश्न जोडिन्छ। कतिपय विद्वान्ले वर्तमान नेपालको क्षेत्रफल जत्तिकै लिच्छविहरूको राजनीतिक भूगोल थियो भनेर लेखेका छन्। तर यो अस्पष्ट आधार हो। लिच्छविहरूको सांस्कृतिक फैलावटबारे बोलिहाल्न गाह्रो छ।
पूर्व मध्यकालमा पाल्पासम्म पनि यसको फैलावट पुगेको देखिन्छ। जुम्लास्थित लामाथाडामा तिब्बती भाषामा ‘हेधर्माहेतुप्रभवा’ र ‘ॐमाने पेमे हुँ’ लेखिएका शिलहरूका आधारमा त्यहाँसम्म लिच्छविहरूको प्रभाव फैलिएको धनवज्र वज्राचार्यले लेख्नुभएको छ। तर उहाँको यो तर्क गलत छ, किनभने यस्ता शिल र छापहरू गुम्बा भएका ठाउँमा सहजै पाइन्थे र पाइन्छन्। अर्को, यो हिमाल र तिब्बतमा व्यापक रूपमा चलेको धार्मिक चलन हो भने ती शिलका अक्षर पनि लिच्छवि होइनन्, तिब्बती हुन्। यसकारण उहाँको यो तर्क संशोधन गर्न लायक छ।
व्यापार व्यवसाय राम्रो, सानो अर्थतन्त्र, स्पष्ट राजनीतिक इतिहास र व्यवस्थित प्रशासन प्रणालीका आधारमा यस काललाई स्वर्णयुग भनिएको हो। तर स्वर्णयुगको मापन गर्ने स्पष्ट आधार छैन।
मल्लकालको सामाजिक-सांस्कृतिक वैभवता, तिब्बतसँगको व्यापार, कला र वास्तुकलाको उच्चतम उन्नति, शिक्षा, साहित्य र दर्शनको उच्च अवस्था आदि लगायत तर्कहरूका आधारमा मल्लकाललाई कसरी मूल्यांकन गर्ने भन्ने प्रश्न सान्दर्भिक छ। मल्लकालको सांस्कृतिक वैभवलाई समेत अवमूल्यन गर्ने हुनाले लिच्छविकालको अतिशय बढाइँचढाइँ त्यति जरूरी हुँदैन जस्तो लाग्छ।
अझ महत्त्वपूर्ण त, उत्तर भारतमा मुसलमानको बाह्य आक्रमण भएपछि वैदिक र बौद्ध सभ्यता तहसनहस हुन पुग्यो। विशाल भारतले लिएको त्यत्रा बौद्ध तथा वैदिक संस्कृतिको जगेर्ना गर्ने र बचाउने सहित त्यस विषयका निर्णायक नीति सहितका जिम्मेवारी नेपालको काँधमा पुग्यो। यो १०औंदेखि १३औं-१४औं शताब्दीसम्मको कुरा हो।
त्यति वेला बौद्ध विद्वान् पण्डितहरू काठमाडौं उपत्यका नआई दीक्षित भएको मानिंदैनथ्यो। तिब्बतमा बोनहरूसँगको सांस्कृतिक, धार्मिक किचलोपछि राजनीतिक विचलन पनि भएकाले त्यस ताका समस्यैसमस्या भएको थियो। नेपालबाट नेपाल तथा भारतका पण्डित जम्मा भई तिब्बत पुगेर घनघोर प्रयासपछि बौद्ध धर्मको पुनः उद्धार हुनुमा नेपालको प्रमुख भूमिका थियो। त्यसै समयमा सबैभन्दा बढी संख्यामा विहार र मन्दिरहरू बने। काठमाडौं उपत्यका बौद्ध तथा वैदिक शिक्षा संस्कृतिको केन्द्र बन्न पुग्यो। तान्त्रिक पद्धतिको वाम मार्गको पनि आफ्नै किसिमको विकास भएको थियो, जसले तिब्बतलाई धेरै ठूलो प्रभाव पार्यो। एक किसिमले काठमाडौं उपत्यका (नेपाल)ले धार्मिक र सांस्कृतिक क्षेत्रमा स्वतन्त्र रूपमा योगदान पुर्याएको थियो। यसकारण मध्यकाल र पूर्व मल्लकालसम्म काठमाडौं उपत्यकालाई स्वर्णयुग मान्न सकिन्छ।
स्मरणीय छ, लिच्छवि सभ्यता भने उत्तर भारतको गुप्त साम्राज्य र उत्तरतर्फ तिब्बतको यार्लुङ सम्राट्हरूको व्यापक प्रभावमा रहनुपरेको थियो। त्यसकारणले पनि लिच्छविकाललाई स्पष्ट रूपमा स्वर्णयुग भनेर ठोकुवा गर्न गाह्रो छ।
पछिल्लो मल्लकालमा पनि जयस्थिति मल्ल, महेन्द्र मल्लको सुधार र मल्लकालीन कला-वास्तुकलाको भव्यतासँग तुलना नगरी लिच्छविकाललाई मात्र हेरेर स्वर्णयुग भन्ने तर्क उपयुक्त लाग्दैन। तिब्बतमाथि आफ्नो आर्थिक वर्चस्व नै कायम राख्न सक्ने मल्ल राजाहरूको राजनीतिक सामर्थ्यको तुलनामा लिच्छविहरूको हैसियत कमजोर नै देखिन्छ।
नेपालको इतिहासमा पराजित पक्ष वा भुइँमान्छेको स्थान चाहिं कस्तो पाउनुहुन्छ?
हार्नेहरूको इतिहास नलेख्नु भनेको जित्नेहरूको पनि इतिहासको प्रमाण नहुनु हो। भगवान् भनिने रामचन्द्रको कथा लेख्दा रावण हराएनन् नि!
पराजितहरूको इतिहास लेख्ने पाटो सैद्धान्तिक हिसाबले हिस्टोरियोग्राफीको विषय हो। हिस्टोरियोग्राफिकल अध्ययनमा अभिलेख तथा पुरातात्त्विक प्रमाणलाई जोड दिएर नागरिकको सामाजिक, सांस्कृतिक तथा राजनीतिक इतिहास लेखिन्छ। हालको राज्य बन्नुअघि केकस्ता राज्य थिए र उनीहरूको उत्थान र पतन कसरी भयो भन्ने जान्नका लागि हार्नेहरूको इतिहास पनि लेख्नै पर्छ। तर हिस्टोरिसिज्म र हिस्टोरियोग्राफीको मर्म थाहै नपाई नेपालको इतिहास लेखिएको छ।
अभिलेखहरूमा शासकको वर्णन हुन्छ। शासकले धारण गरेका विरुदावलीहरूले शासकको अतिशय व्याख्या गरेका हुन्छन्, हिस्टोरियोग्राफीले यिनलाई मान्दैन।
अर्कातिर, अभिलेखहरूको खोजी र लिप्यन्तरण अनि भाषान्तरण र व्याख्या समेत इतिहासविद्हरूको महत्त्वपूर्ण काम हो। तर व्याख्यानशास्त्र अर्थात हर्मिन्युटिक्सको कोणबाट नेपालको इतिहासको व्याख्या भएकै छैन। हर्मिन्युटिक्सले प्रश्न उठाउँछ, तथ्यहरूको विश्लेषण गर्छ। जस्तो- राजा कुनै युद्ध लडिरहँदा नागरिक के गरिरहेका थिए? अंशुवर्माले खोपासीको माटो ल्याउँदा नागरिकको सहमति थियो कि थिएन? खोज्नुपर्ने यो हो।
नेपालको इतिहासबारे विदेशी विद्वान्हरूले पनि प्रशस्तै लेखेका छन्। उनीहरूका लेख कत्तिको विश्वसनीय छन्?
नेपालको इतिहास लेखनको क्षेत्रमा सिल्भा लेभी, भगवान्लाल इन्द्रजी भट्ट र राहुल सांकृत्यायनहरूले केही काम गरे। यीमध्ये नेपाली इतिहासबारे सांकृत्यायनका धारणाहरू अस्पष्ट छन्। उनी बौद्ध धर्मका त्रिपिटकाचार्य वा ठूला विद्वान् थिए नै, तर विद्वान् हुँदैमा उनले लेखेका सबै कुरा सही हुन्छन् भन्ने त छैन।
अपवाद बाहेक त्यति वेलाका विदेशी लेखकको ध्येय नेपालको सामाजिक, सांस्कृतिक, वनपैदावर, बाटोघाटो लगायत समग्र वस्तुस्थिति साम्राज्यवादीहरू समक्ष पुर्याउने थियो। कर्कप्याट्रिक, ह्यामिल्टनहरू यस कार्यमा लागेका थिए। पछि सिल्भा लेभी, लुसियानो पेटेक र टुची लगायत केही विद्वान्ले अलि गहिरोसँग नेपालको अध्ययन गरे। उनीहरू संस्कृत, तिब्बती र चिनियाँ भाषामा दक्ष हुनुका साथै प्राचीन लिपिको ज्ञान भएकाले लेखनमा पनि कम त्रुटि पाइन्छ। यद्यपि उनीहरूका पुस्तक पूरै भर पर्ने खालका छैनन्। मूलतः उनीहरूले अन्वेषणको काममा बढी जोड दिए।
सिल्भा लेभीले केही अभिलेख संकलन गरे। संशोधन मण्डलले लेभी नै अभिलेखहरूको खोजी गर्ने पहिलो व्यक्ति हुन् भनी लेखेको छ। तर लेभीभन्दा पहिले नै ब्रायन हज्सनले मल्लकालका सयौं अभिलेखको संकलन गरेको कुरा मैले बेलायतस्थित ‘ब्रिटिश लाइब्रेरी’ मा हज्सन सामग्री उपर काम गर्दा पत्ता लगाएँ।
पुरातत्त्वविद् शुक्रसागर श्रेष्ठले कीर्तिपुरका मल्लकालीन अभिलेख ‘आफूले सबैभन्दा पहिला पत्ता लगाई उतार गरें’ भनी लेखेको कुरा गलत ठहर गरियो। किनकि श्रेष्ठभन्दा डेढ सय वर्ष पहिले नै हज्सनले उतारिसकेका थिए। यसकारण नेपालका अभिलेखहरूको खोजकार्य वा अध्ययनको परम्परामा सिल्भा लेभी, भगवान्लाल इन्द्रजी भट्ट र जर्ज बुल्हरभन्दा पहिले नै हज्सनले थालनी गरेकाले उनीहरू प्रथम भन्ने अवधारणामा विनिर्माण जरूरी भएको छ।
बौद्ध धर्म र संस्कृति र नेवार सभ्यताको खोजमा ब्रायन हज्सनको अभिरुचि भएकाले उनी मल्लकालको परिशीलनमा बढी केन्द्रित भए। फ्रान्सका युजिन बुर्नोफ भनिने इन्डोलोजिस्ट र बेलायतका ब्रायन हज्सनले बौद्ध धर्म सम्बन्धी पहिलो पटक पुस्तक प्रकाशन गरेका थिए। बुर्नोफ सिल्भा लेभीका गुरु थिए भने हज्सनका साथी।
विदेशी लेखकहरूको इतिहास अध्ययनमा पक्षधरता देखिन्छ। अर्को, छोटो बसाइँमा अध्ययन गरेर लेख्ने हुँदा उनीहरूको लेखनमा त्रुटि पनि भेटिन्छन्। अलि लामो समय बसेर गहन अध्ययन गर्ने त हज्सन नै हुन्। विशेषतः समाज, न्याय प्रणाली तथा कुसुन्डा लगायत जनजातिको भाषाको अध्ययनमा उनको बढी योगदान छ।
हज्सन अध्ययन र अनुसन्धानका लागि नेपालमै जीवन बिताउन खोज्ने व्यक्ति हुन्। सबैभन्दा रोचक त, ‘भर्नाकुलर एजुकेशन’ अर्थात् यहींको स्थानीय भाषामा पढाउनुपर्छ भन्ने विचारका पक्षपोषक थिए उनी। तर अंग्रेजहरूले उनको तर्क मानेनन्। इन्डियन एजुकेशनल डिबेट किताबमा स्थानीय भाषामा शिक्षा दिनुपर्छ भन्ने हज्सनको तर्कलाई अस्वीकार गरिएको छ। नैतिक रूपमा हज्सनको जित भए पनि आधिकारिक रूपमा उनी पराजित भए। तर हज्सनले आफ्नो विचारलाई कहिल्यै छोडेनन्।
अभिलेख तथा शिलालेखहरूको खोज, नेवार सभ्यतामा विशेषगरी बौद्ध धर्म र संस्कृतिको खोजमा हज्सनको महत्त्वपूर्ण योगदान छ। विशेषतः बाटोघाटो, प्रकृति, संस्कृति र भूगोल तथा वनस्पतिहरूको अध्ययनमा उनी तल्लीन थिए। यद्यपि उनका कमजोरीहरू नभएका होइनन्।
तपाईंले त हज्सन पुस्तकालयमै पुगेर उनले नेपालबाट संकलन गरी लगेका ऐतिहासिक दस्तावेज पनि अध्ययन गर्नुभएको हो। नेपालको इतिहास लेखनमा उनको योगदानलाई विस्तृतमा बताइदिनुस् न।
सत्यमोहन जोशीले एक सन्दर्भमा ‘ब्रायन हज्सनको किताबको सन्दर्भ लिंदा मलाई गौरव हुन्छ। तर डा. ढुंगेलले त हज्सनले संकलन गरेका सबै पोका उधिन्नुभयो’ भनेको सम्झना छ मलाई। हज्सनले हिमाली क्षेत्रका धेरै विषयको ऐतिहासिक दस्तावेजका आधारमा अनुसन्धान गरेका हुनाले ब्रिटिश लाइब्रेरीमा सुरक्षित उनका सामग्रीलाई म ‘अनअर्गानाइज्ड इन्साइक्लोपेडिया अफ नेपाल स्टडी’ भनेर सम्झन्छु।
हिमाली क्षेत्रको अध्ययनको शुरूआतकर्ता नै हुन् उनी। पायोनियर अफ हिमालयन स्टडी किताब पनि प्रकाशित छ।
हिमालयन इथ्नोग्राफीमा उनले धेरै काम गरेका छन्। विशेषतः हिमाली जनजातिको उद्भवको इतिहास झल्काउने दस्तावेजहरूको खोजी तथा संकलन गरेका छन्। जातिगत समुदायलाई नै परिचालन गरेर उनले दस्तावेजहरू संकलन गरेका हुन्। दार्जीलिङमा रहँदा उनले अध्ययन-अनुसन्धानमा चासो राख्ने खरिदार जितमोहन नामका एक नेवार समुदायका व्यक्तिको मुख्य सहयोगमा त्यस क्षेत्रका दस्तावेज संकलन गरेका थिए।
हज्सनले आफ्नो अनुसन्धानमा विभिन्न क्षेत्रबाट स्रोतव्यक्तिहरू झिकाई, सम्पर्क गरी, अनुसन्धानमा विशेष महत्त्व दिएका थिए। यस क्रममा सम्बन्धित समुदायका स्रोतव्यक्तिका अनुसार (फलानो व्यक्तिका मुख जमानीले बताया अनुसार लेखेको हो भन्ने) यी सामग्री संकलन गरेको हो भनी हज्सन र जितमोहनहरूले आफ्ना टिप्पणीमा स्पष्ट उल्लेख गरेका छन्।
कर्कप्याट्रिक, ह्यामिल्टन र राणाकालमा अन्य विदेशी लेखकभन्दा उनको अनुसन्धान बढी प्राज्ञिक देखिनुको प्रमुख कारण आधिकारिकतामाथि उनको जोड नै थियो। तर प्राचीन अभिलेखको खोजीमा सिल्भा लेभी, भगवान्लाल इन्द्रजी भट्ट र जर्ज ब्हुलरहरूको योगदान छ।
दस्तावेज संकलनका लागि हज्सनले सम्बन्धित धनीसँग पत्रव्यवहार गरेको प्रमाणहरू पनि पाइएका छन्। कतिपय अवस्थामा आफूले पैसा दिएर दस्तावेज तथा कागजात उतार गर्न लगाएका थिए। हज्सन साहेबका लागि दस्तावेज उतार गरिदिए बापत ‘पञ्चविंशती मुद्रा प्राप्ता’ भनेर भिक्षु अमृतानन्दले पैसा बुझेपछि गरेको भर्पाई समेत भेटिएको छ।
यसकारण हज्सनले यहाँबाट बाकसका बाकस कागजातहरू चोरेर लगे भन्ने जुन हल्ला सुनिन्छ, त्यो बिल्कुल गलत हो। उनले धेरै प्रति भएका दस्तावेज मागेर वा सारेर लगेका हुन्। यहाँको निमिट्यान्न पारेर हज्सनले लगे भन्ने होइन। उनी इतिहासको ज्ञान भएका व्यक्ति हुनाले त्यस खालको अनैतिक काम उनले पक्कै गरेनन्। जति लगे, उतार गरेर लगे। भिक्षु अमृतानन्द जस्ता केही व्यक्तिहरू पनि हज्सनका लागि दस्तावेजको उतार गर्ने काम गर्थे।
हज्सन मूलतः बौद्ध धर्ममा केन्द्रित भए, तर उनले हिन्दू धर्म सम्बन्धी विशेषतः शैव पद्धतिबारे पनि अध्ययन गरेका छन्। उनले नेपाल भाषाको अध्ययन गरे। उनलाई नेपाल भाषा सिकाउन शब्दकोश नै बनाइएको थियो। उनलाई सघाउने अमृतानन्द बन्द्यले विसं १८८८ मा ग्रामर अफ द नेवार ल्याङ्ग्वेज कम्पोज्ड फर मिस्टर हज्सन पुस्तक नै लेखेका थिए।
खरिदार जितमोहनले पनि हज्सनका लागि रोमन अक्षरमा नेवार-अंग्रेजी शब्दकोश तयार गरेका थिए। तर त्यति वेला तयार गरिएका पुस्तकहरू अहिलेसम्म पनि प्रकाशन नहुनु भनेको हाम्रो ज्ञानविज्ञान क्षेत्रको दुःखद अवस्थाको नमूना हो।
मैले हज्सन पुस्तकालयमा काम गर्दा १०९ भोल्युममा रहेका लगभग ६३ हजार फोलियोको विवरण तयार पारेको छु जसमा लिम्बू, लेप्चा, तामाङ र नेवारहरूको लिपि, भाषा, संस्कृति, साहित्य र इतिहासको विस्तृत चर्चा छ। ती सबैको विषय अनुसार वर्गीकरण गरी तिनको संक्षिप्त विवरण पनि तयार गरेको छु। जस्तो- माथवरसिंह थापा मुख्तियार भएका वेला तयार गरिएको ‘एन अकाउन्ट अफ किङडम अफ नेपाल’ नाम दिइएको एक हजार १०० फिट लामो दस्तावेज रोल गरेर राखिएको छ, यसलाई ‘माथवर थापाज अकाउन्ट’ भनेर नाम दिइएको छ।
यसमा सम्बन्धित क्षेत्रका विषयविज्ञ र विद्वान्हरूसँग छलफल र विमर्श गरेर (हिस्टेरियोग्राफिकल नोशन सहित) तथ्यपरक विवरणलाई उल्लेख गरिएको छ। अतथ्यलाई स्थान दिएको छैन।
स्मरणीय छ, कश्मीरमा राजतरङ्गिणी लेख्दा कल्हणले अपनाएको शैलीलाई नेपाल दरबारले पनि प्रयोग गरेको देखिन्छ। कल्हणले ‘मैले राजाको वर्णनशास्त्र लेखेको होइन, मैले त हाम्रा राजालाई दुनियाँले कसरी बुझ्दा रहेछन् भनी जान्न खोजेको हुँ’ भनी लेखेका छन्। नागरिकले राजाबारे बोलेको कुरालाई जस्ताको तस्तै चित्रण गर्ने शैली कल्हणको थियो। यही शैली नेपाल दरबार वा माथवरसिंह थापाको विज्ञ समूहले पछ्याएका छन्। तात्कालिक विद्वान्हरूबीच महीनौं दिनसम्म छलफल गराई, तथ्य प्रमाण-प्रमेयबाट प्रमाणित गराई, त्यसमा पनि थप प्रमाण जुटाई तथ्यको कसीमा घोटेर निरूपण गरी तयार गरिएको यो नेपाल देशको इतिहास हो भनी उक्त वृत्तान्तमा स्पष्ट उल्लेख छ।
मैले ब्रिटिश लाइब्रेरीको हज्सनसँग सम्बन्धित सामग्रीमा गरेको काम ६३ हजारभन्दा बढी फोलियो भएकाले निकै खर्च लाग्ने हुनाले प्रकाशन गर्न सम्भव भएन। यसलाई प्रकाशन गर्न नेपाल सरकारले चासो दिनुपर्ने हो। यसलाई प्रकाशन गर्न जरूरी पनि छ।
अर्का विदेशी माइकल पिसेलले मुस्ताङ उपत्यकाको कागबेनीलाई मध्यएशियाको केन्द्रद्वार भनेका छन्। पिसेलको यो भनाइलाई प्रमाणित गर्ने पुरातात्त्विक एवं ऐतिहासिक आधारहरू पाइन्छन् त?
मैले पिसेलको मुस्ताङ : द लस्ट टिबेटन किङ्डम पुस्तकमाथि मेरो पुस्तक किङ्डम अफ लोमा पनि आलोचनात्मक टिप्पणी लेखेको छु। खासमा पिसेललाई कागबेनीको अर्थ नै थाहा थिएन, मुस्ताङ पुगेको खुशीको आवेगमा उनले त्यो पुस्तक लेखेका हुन्।
डाँडाको पुछारमा बनेका दुई खोंचको संगमलाई तिब्बती भाषामा ‘काग्’ वा ‘त्यस्ता ठाउँमा’ भन्न ‘काक्तु’ भनिन्छ। सामरिक दृष्टिले महत्त्व हुने भएकाले यस्ता ठाउँमा गुल्म राख्ने चलन थियो। वैदिक सनातनीहरूले रामायणमा कागबेनीलाई ‘काकभुसुण्डी’ भनेर लेखेका छन्। तर यो पनि गलत हो।
अभिलेखहरूमा जुम्लासँग कागबेनीमा लडाइँ भयो भन्ने भावार्थमा ‘काक्तु ठाग्-झुङसोङ’ शब्दको प्रयोग गरिएको छ। अर्थात् कागबेनी भौगर्भिक नाम हो जसले दुई वटा डाँडा जोडिएर पुछारमा बनेको खोंचलाई बुझाउँछ।
पिसेलको ‘कालीगण्डकी हुँदै जाने मार्ग’ को दृष्टिकोणलाई धनवज्र वज्राचार्यहरूले पनि संकेत गरेका छन्। वस्तुतः पर्वते राजाहरूको शासनकालसँगै यो बाटो चल्तीमा आएको हो। त्यसभन्दा पहिले यो बाटो चल्तीमा थिएन। पछि मल्लादर्श र गण्डकीमहात्म्य जस्ता ग्रन्थहरू लेखिएपछि थाक सभ्यतासँग यसको सम्बन्ध जोडियो।
मुक्तिनाथले प्राचीन इतिहास बोकेको छ भन्ने प्रमाण अहिलेसम्म पत्ता लागेको छैन। यससँग प्राकृतिकधर्मीहरूको सम्बन्ध हुनु स्वाभाविक नै हो। मुक्तिनाथमा पद्मसम्भवको कथा भोटतिरबाट जोडिएको हो। तिब्बतीहरूले मुस्ताङ क्षेत्रलाई आफ्नो सिमाना अर्थात् ‘छेउको ठाउँ’ भनेका छन्।
तिब्बती बौद्धधर्मको प्रभाव रहेको कालीगण्डकीको सबैभन्दा अन्तिम किनारा कोवाङ हो। कोवाङदेखि तल घासासम्म बस्ती नै थिएन, त्यो चरन क्षेत्र थियो। कोवाङमै त्यस क्षेत्रको अन्तिम गुम्बा पनि छ जसलाई ‘मेक्यी-लाखाङ’ भनिन्छ।
दक्षिणबाट हेर्दा, तिब्बती सभ्यताको मुख्य प्रवेशद्वार कोवाङ हो, त्यहाँको मूल देवतालाई तिब्बती भाषामा ‘ङरीजोवो’ भनिन्थ्यो। नेपाली भाषामा यसको अर्थ रक्षक देवता वा लोकपाल भन्ने हुन्छ। हाल कोवाङमा रहेको सबैभन्दा ठूलो गुम्बालाई ‘ङरीजोवो’ नै भनिन्छ। त्यस कारण पनि माइकल पिशेलको कागबेनी मूल केन्द्र हो भन्ने तर्क गलत सावित हुन्छ।
तपाईंको विद्यावारिधिका शोधनिर्देशक थियोडोर रिकार्डी जुनियरले चाहिं नेपालको पुरातत्त्व र इतिहासको खोजमा केकस्तो योगदान पुर्याएका छन्?
नेपाल अध्ययनमा रिकार्डीको अभिरुचि थियो। संस्कृत, हिन्दी, नेपाली, बंगाली, पाली, फ्रेन्च, इटालियन आदि भाषामा उहाँको ज्ञान थियो। उहाँ कोलम्बिया विश्वविद्यालयको प्राध्यापक र दक्षिणएशियाली भाषा तथा संस्कृति विभागको प्रमुख हुनुहुन्थ्यो।
तर पुरातात्त्विक उत्खननबारे उहाँमा ज्ञान थिएन। ज्ञान नहुँदानहुँदै उहाँ डुमाखालको उत्खननमा जोडिनुभयो। यस परियोजनामा मोहनप्रसाद खनाल पनि हुनुहुन्थ्यो। यो अलि विधि नुपर्याई गरिएको उत्खनन थियो।
शुरूमा त उहाँलाई उत्खनन गर्न दिइएकै थिएन। तत्कालीन पुरातत्त्व विभागको महानिर्देशक जनकलाल शर्माले नै असहमति जनाउनुभएको थियो। पछि प्रयागराज शर्मालाई पुरातत्त्वविज्ञको जिम्मा दिएर शर्माकै सहयोगमा डुमाखालको उत्खनन भएको हो। यद्यपि यो परिपक्व उत्खनन थिएन। यसको प्रतिवेदन पनि कमजोर छ। म पछि कोलम्बिया विश्वविद्यालयको विद्यार्थी भएर पीएचडी गर्न लागेका वेला रिकार्डीले डुमाखाल उत्खननको प्रतिवेदन एकप्रति लेखेर दिनुभएको थियो।
कतिपयले रिकार्डीलाई पुरातात्त्विक वस्तुहरूको तस्करी गर्ने विषयमा आरोप लगाए पनि यो सत्य होइन। उहाँ त यस्ता कुराको विरोधी हुनुहुँदो रहेछ। उहाँले ‘द लास्ट टाइम इन्डोलोजी’ शीर्षकमा एउटा लामो कार्यपत्र सहित प्रस्तुति गर्नुभएको थियो जसमा ‘पश्चिमा’ इन्डोलोजिस्टहरूले गरेका कर्तुत, चोरी, अपव्याख्या आदिको भन्डाफोर भएको छ।
उहाँले सिल्भा लेभीको फ्रेन्चमा लेखिएको ल-नेपाललाई अंग्रेजी भाषामा अनुवाद गर्न शुरू गर्नुभएको थियो, तर पूरा हुन पाएन। उहाँले गोपालीहरूको अध्ययन गर्नुभएको थियो, बेताल पच्चिसीबारे पनि अध्ययन गर्दै हुनुहुन्थ्यो। नेपालको मुलुकी ऐन, १९१० लाई पनि अंग्रेजी भाषामा अनुवाद गर्ने काम शुरू गर्दै हुनुहुन्थ्यो, यो पनि पूरा हुन पाएन।
डुमाखालको पुरातात्त्विक उत्खननमा प्रश्न रहे पनि उहाँ संस्कृतिविज्ञ त हो नै। पछिल्लो कालमा उहाँ पोस्टमोडर्निज्म र डिकन्स्ट्रक्सनिज्म जस्ता विषयको अध्ययनमा पनि लाग्नुभयो। यूरोपमुखी विद्या परम्परामा ठीक भइरहेको छैन भने त्यसलाई विनिर्माण गर्नुपर्छ भन्ने यस सिद्धान्तको अवधारणा हो।
उहाँले यूरोपमुखी ओरियन्टालिस्ट विद्वान्हरूले बनाएको इन्डोलोजीको सिद्धान्त यूरोपले एशिया लगायत अन्य सभ्यतामाथि शासन गर्न वा हेप्न बनाएको गलत तर्क हो भनी आलोचना गर्नुभएको थियो। यस गलत तर्कका लागि यूरोपियनहरूले एशिया लगायत त्यस्ता सभ्यतासँग माफी माग्नुपर्छ भन्ने उहाँको मान्यता थियो। कुनै पनि साम्राज्यवादी दृष्टिकोणबाट हामी हट्नुपर्छ, अर्कालाई होच्याउन हामी विद्वान् हुने होइन भन्ने उहाँको धारणा थियो।
पछि, मैले उहाँकै निर्देशनमा विद्यावारिधिका लागि अनुरोध गर्दा निकै खुशी हुनुभएको थियो। उहाँले नै मलाई पढ्नका लागि विद्वद्वृत्तिको व्यवस्था गर्नुभएको थियो। पुरातत्त्वसँग सम्बन्धित साहित्यिक रचना द ओरियन्टल केसबूक अफ शेर्लोक होल्म्स उहाँको अन्तिम पुस्तक हो, जुन निकै चर्चित पनि छ।
तपाईंले उपल्लो कालीगण्डकी क्षेत्रमा केन्द्रित भई विद्यावारिधिको शोधकार्य गर्ने क्रममा आर्य र मंगोल समुदाय वा अरू भिन्न भिन्न सभ्यतालाई जोड्न हिमाल र यसको कोखबाट जन्मेका नदीहरूको भूमिका कस्तो पाउनुभयो?
हिन्दूकुश क्षेत्रमा फैलिएको सभ्यताभित्र ‘पञ्च हिमाल’ महत्त्वपूर्ण मानिन्छ। पञ्च हिमालभित्र नेपाल अझ मुख्य मानिन्छ। नेपालभित्र भाषिक र मानव उद्भवका हिसाबले हिमाली, पहाडी र तराई गरी तीन किसिमका संस्कृतिहरू छन्। यसमा पनि पूर्व-पश्चिमभन्दा उत्तर-दक्षिण फैलिएको सभ्यता बढी महत्त्वपूर्ण देखिन्छ।
अर्कातर्फ, नदी सभ्यताको आधारमा बनेका प्राचीन मार्गहरूले उत्तर-दक्षिणलाई सांस्कृतिक र अन्य अन्तर्सम्बन्धको सभ्यताले जोडेका छन्। तिब्बती भाषा, संस्कृति र सभ्यताको बहाव र प्रभाव दक्षिणसम्म जाने र उत्तर भारतको सांस्कृतिक सभ्यताको वेग उत्तर हिमालसम्म पुग्ने गरेको देखिन्छ।
भोट भाषामा मुक्तिक्षेत्रलाई सालामेवर, दोलामेवर र छुलामेवर (माटो, ढुंगा र पानीबाट आगो निस्कने स्थान)का रूपमा चिनिन्छ। त्यस ठाउँको सांस्कृतिक तथा धार्मिक अभ्यासमा बोन अर्थात् झाँक्रीहरूको भूमिका बढी हुन्थ्यो। यस अर्थमा त्यो प्राक्बुद्धकाल सभ्यता थियो जसको सम्बन्ध पनि नदी सभ्यतासँगै देखिन्छ।
अघि पानी बोधार्थक शब्द ‘ती’ वा ‘दी’ को प्रसंग आइसकेको छ। गण्डी शब्द नै हिन्दूकरण वा संस्कृतकरण भएर पछि गण्डकी बन्यो। हालको गुल्मी क्षेत्रलाई पूर्व मल्लकालमा गण्डी (गुल्म) भनिन्थ्यो। टार्टारी अर्थात् मगर र सोग्पोहरूको भाषामा गण्डी शब्दले गण्डकी नदीलाई नै बुझाउँछ।
मुस्ताङको प्राचीन सभ्यताको सम्बन्ध मैदानी सभ्यतासँग थियो भन्ने तर्कमा चाहिं मेरो विमति छ। किनभने प्राचीन कालमा तिब्बत जोडिनेमध्ये काठमाडौंबाट कुती-केरुङको मार्ग प्रचलित थियो। अंशुवर्मा, भृकुटी र स्रोङचोङगम्पोको प्रसंग यस मार्गमा जोडिन्छ। कुती जोड्ने अर्को मार्ग तराईबाट काठमाडौं नपसी सीधा दोलखा-लामाबगर-बिगु हुँदै नदीको किनार भएर जान्छ। काठमाडौं उपत्यकामा साँखुको बाटो र साँगा-बनेपा भएर तिब्बत जाने मार्ग पनि थिए। कुती बाहेक त्रिशूली-नुवाकोटतिरबाट रसुवा स्याफ्रुबेंसी हुँदै क्यिरोङ (केरुङ)तर्फ जान बाटो झन् प्रचलित थियो।
अतः हिमाली सभ्यता र मैदानी सभ्यताको तुलनात्मक अध्ययन गरी सामाजिक-सांस्कृतिक इतिहासका सिलसिलाहरू पत्ता लगाउनुपर्छ।
तपाईंले उठाएको ‘आर्य’ को प्रसंगमा केही भन्न चाहन्छु। बुझ्नुपर्ने कुरा त, आर्य भनेको कुनै जाति नै होइन। असल वा सभ्य भन्ने भावार्थ बुझाउन आर्य शब्दको प्रयोग गरिएको हो। जस्तै- असल शासकलाई आर्य शासक भन्न सकिन्छ। वास्तवमा आर्य ‘क्वालिटी’ֹको कुरा हो, ‘कम्युनिटी’ को कुरा होइन। जस्तै- आर्य मञ्जुश्री। बुद्धको उपदेशलाई पनि त आर्यसत्य भनिएको छ। भगवान् विष्णुलाई पनि आर्य भनिन्छ। त्यसकारण आर्य सभ्यता भन्ने समूहगत चिनारीको शब्दमाथि नै मेरो विमति छ।
संविधान बनाउने वेला ‘आर्य-खस’ होइन, त्यो त खस मात्र हो भनेर धेरैलाई बुझाउने कोशिश गरें। तर आफूलाई खस भन्नेहरू र तराईवासीले समेत आफूलाई ‘आर्य’ भनाउन खोज्दा समस्या आएको थियो। अन्तरिम संविधान, २०६३ मा ‘आर्य-खस’ नै लेखिएको थियो। २०७२ सालको नेपालको संविधानमा ‘खस-आर्य’ लेखिएको छ। मैले त अझ खस मात्र लेख्नुपर्छ भनेको थिएँ, तर सांसदहरूले आर्य शब्द छोड्न मान्नुभएन। खस मात्र भन्न नमान्ने भए, त्यस वेला मैले नै खस शब्दलाई अगाडि राखिदिनुहोस् न त भनें, अनि अहिलेको संविधानमा ‘खस-आर्य’ भएको छ।
वैदिक सनातनीसँग मंगोलमूलका समुदायको सम्बन्धबारे तपाईंले जुन प्रश्न गर्नुभएको छ, त्यसमा नदी सभ्यताको महत्त्वपूर्ण स्थान छ।
दुई छिमेकी देश भारत र चीनसँग चाहिं नेपालको केकस्तो पुरातात्त्विक र ऐतिहासिक सम्बन्ध छ?
दुवै छिमेकी देशहरूसँग नेपालको पुरातात्त्विक सम्बन्ध रहेको देखिन्छ। हिमाली क्षेत्रमा भन्दा पनि तराईमा बढी पुरातात्त्विक अध्ययन-अनुसन्धान भएको छ। पुरातत्त्वको भाषामा भन्दा लुम्बिनी-कपिलवस्तु क्षेत्रको इतिहास र सारनाथ, बोधगया लगायत उत्तरी भारतबीचको सांस्कृतिक उपक्रममा तात्त्विक भिन्नता देखिंदैन। ती क्षेत्रको पतनको प्रक्रिया पनि एकै छ। जुन रूपमा नालन्दा, विक्रमशिलाको विनाश भयो, सोही रूपमा लुम्बिनी-कपिलवस्तुको विनाश भयो।
मायादेवीको मन्दिरलाई ‘माईथान’ भनी किन बलि दिइयो भन्ने प्रश्न मलाई कहिलकाहीं सोधिन्छ। विनाश भएर निर्जन अवस्थामा रहेको यस क्षेत्रमा पुनः मानवीय गतिविधि शुरू हुँदा, यहाँ वैदिक सनातनी र मुसलमानहरू समेत आए। अहिले पनि यस क्षेत्रमा सनातनी तथा मुसलमानको बाहुल्य देखिन्छ। कारणवश माटाको ढिस्को वा भग्नावशेषका रूपमा मूर्ति समेत रहेको त्यस ठाउँलाई वैदिक सनातनीहरूले माईथानका रूपमा पूजा गर्न थालेका हुन्। अन्जानवश नै, निर्जन रहेको त्यस ठाउँलाई स्त्रीमूर्ति समेत देखिएकोले र बौद्ध उपासकहरू त्यहाँबाट विलीन भइसकेको हुनाले सनातनीहरूले माईथानका रूपमा बुझ्नुलाई गल्ती मान्न त सकिंदैन।
तराईका विभिन्न पुरातात्त्विक स्थल र उत्तर भारतको पुरातात्त्विक स्थलहरूको उत्खनन गर्दा सांस्कृतिक तहको उपक्रम एकै देखिएको हुँदा प्रागैतिहासिक कालदेखि नै अहिलेका राजनीतिक भूगोलको अवधारणामा भन्दा नेपाल-भारतबीच पुरातात्त्विक सम्बन्ध थियो। नालन्दाका विद्वान्हरू लुम्बिनी आउँथे। चिनियाँ तीर्थयात्रीहरू बुद्धको जन्मभूमि लुम्बिनीमा आएको इतिहास छ। सम्राट् अशोकले स्तम्भ राखेको धेरै पछिसम्म पनि बौद्ध धर्मावलम्बीहरू त्यस क्षेत्रमा आउने-जाने क्रम चलिरहेको थियो।
नालन्दा-विक्रमशिला र लुम्बिनी-कपिलवस्तुको एउटै समयमा एकै खालको संस्कृति विकास भएको देखिन्छ। खण्डहरका रूपमा रहेका ती ठाउँमा भएको पुरातात्त्विक उत्खननले पनि एकै खालको सांस्कृतिक स्वरूप देखाउँछ।
नेपालको तराई क्षेत्रमा भएको पुरातात्त्विक उत्खननले यस क्षेत्रको प्राचीनतालाई उजागर गरेको छ। उत्तरी भारतमा जुन खालको सांस्कृतिक प्रवाह थियो, त्यही प्रवाह नेपालको तराई भेगमा देखिन्छ। मैथिली सभ्यता वा बौद्ध सभ्यताले हालको उत्तर भारतसँग सांस्कृतिक सम्बन्ध देखाउँछ। पछि विकास भएको अवध संस्कृति समेत उत्तर भारतसँग जोडिएको छ।
पृथ्वीनारायण शाहले यो ऐतिहासिक तथ्यलाई बुझेको हुनाले नै अंग्रेजहरूलाई ‘गोडपर्सा’ भन्दा माथि आउन नदिनू भनेका हुन्। अहिले यस तथ्यलाई नबुझ्नेहरूले पृथ्वीनारायण शाहलाई तराई छुट्याएको भनी आरोप लाउँछन्। त्यो नाजायज आरोप हो।
तिब्बतसँगको पुरातात्त्विक सम्बन्धको कुरा गर्दा, लिच्छविकालभन्दा अघि तिब्बतसँगको सम्बन्धबारे प्रमाणहरू अपर्याप्त छन्। रसुवागढीमा लिच्छविकालका सिक्काहरू पाइएका थिए। साहित्यिक स्रोतले पनि तिब्बतसँगको सम्बन्धलाई जोडेको छ। लिच्छविकालभन्दा पहिले नै गोठालाहरू नेपाल-तिब्बत आउजाउ गर्थे होलान्। तिनै गोठालाहरूको आवतजावतको बाटाका भरमा नेपालका अपदस्थ शासक र उनका सहयोगीहरूले तिब्बतमा राजनीतिक शरण पाएको हुन सक्छ।
तिब्बतसँगको सम्बन्धको कुरा गर्दा आउने नाम हो- भृकुटी। तर वास्तवमा त ‘भृकुटी’ नाम नै होइन। सिल्भा लेभीले अनुवाद गरेर भृकुटी नामकरण गरेका हुन्। चिनियाँ र तिब्बतीले नेपाली राजकुमारी अर्थात ‘चुन्मो’ मात्र भनेका छन्। तिब्बती स्रोतमा ‘ठिचुन् चुन्मो ठोङ्यार्मा’ पनि भनेर चिनाएको उल्लेख पाइएको छ। त्यसको अर्थ निधारमा भृकुटी खुम्चिने रेखा देखिने राजकुमारी भन्ने हुन्छ। त्यही आधारमा लेभीले भृकुटी नाम होला भनेर उल्लेख गरेको हुनुपर्छ।
ऐतिहासिक स्रोतहरूमा ‘अरनिको’ नाम पनि छैन। बाबुराम आचार्यले त अरनिकोलाई ‘बलबाहु’ नाम दिनुभएको छ। चिनियाँहरू अरनिकोलाई ‘वाल्पो’ भन्थे। यसको अर्थ काठमाडौंका (कलाकार) भन्ने मात्र हुन्थ्यो। यही वाल्पो शब्दलाई बाबुराम आचार्यले कल्पनाका आधारमा बलबाहु नामकरण गर्नुभएको हुनुपर्छ। पछि, सत्यमोहन जोशीले बलबाहु नाटक नै लेख्नुभएको छ। तर बलबाहु पनि नाम होइन।
त्यस्तै, ‘नागराज’ पनि व्यक्तिको नाम होइन, यो त वंशको नाम हो। क्राचल्ल, क्राशिचल्ल आदि नागराजवंशका राजाहरू हुन्। यस्ता कुराहरूको पुनर्लेखन हुनुपर्छ।
अलिकति फरक प्रसंग, रेशममार्गलाई बौद्ध परिपथ भन्नु कत्तिको उचित हुन्छ?
रेशममार्गलाई बौद्ध परिपथसँग जोड्नु राम्रो हो। यो बाटामा बौद्ध मात्र होइन, बोन-झाँक्रीहरू पनि हिंड्थे। तर बौद्धहरूको प्राधान्य थियो।
प्राचीन रेशममार्ग हिमाली जिल्ला मनाङ र मुस्ताङसँग पूर्व-पश्चिम क्षितिजीय रेखाबाट जोडिएको थियो। मुस्ताङ केन्द्र थियो, खिरखनिद, भाराडन्डुर जस्ता टार्टारीहरू व्यापार वा युद्धका लागि झुन्डका झुन्ड भएर मुस्ताङ-मनाङतर्फ आउँथे जसलाई सोग्पो भनिन्थ्यो। अर्को शब्दमा, व्यापारी र आक्रमणकारीको केन्द्र थियो- मुस्ताङ। उनीहरू मुस्ताङबाट तल नझरी हिमाली शृंखला नै भएर फर्कन्थे। तागावा र थोलिङसम्म आएर केरुङसम्म जान्थे।
देवत्वकरण र दानवीकरणको परिधिभन्दा माथि उठेर हेर्दा पृथ्वीनारायण शाह, भीमसेन थापा, बलभद्र कुँवर र जंगबहादुर राणाको भूमिकालाई कसरी मूल्यांकन गर्नुहुन्छ?
पृथ्वीनारायण शाहलाई म आधुनिक नेपालको निर्माता मान्दछु। त्यस युगमा केही तानाशाही नभई एकीकरण गर्न नसकिने भएकाले पनि कसै कसैले उनलाई तानाशाह भनेर दानवीकरण गरेका हुन्। तर यदि उनले नेपाल एकीकरण नगरेको भए, आज हामी यसरी बसेर उनका बारेमा आलोचनात्मक छलफल गर्न शायदै पाउँथ्यौं। पृथ्वीनारायण शाहको दानवीकरण गर्ने, शालिक ढाल्ने जस्ता अमर्यादित काम हामी जस्ता इतिहासको विश्लेषण गर्नेले स्वीकार गर्न सक्दैनौं। ज्ञानको कमी र पक्षपात जस्ता कुराले यस्तो स्थिति ल्याउँछ।
भीमसेन थापाको चरित्र अलि ‘कन्फ्युज्ड’ लाग्छ। एकातिर, उनी परिवर्तनकारी देखिन्छन्। नेपाली सेनाको व्यवस्थापनमा उनको महत्त्वपूर्ण भूमिका छ। उनले फ्रान्सेली शैलीको अनुकरण गरेर नेपाली सेनाको तहगत संरचना र ब्यारेक सम्बन्धी आदि कामको व्यवस्था गरेका थिए। अर्कातिर, अंग्रेजको एकोहोरो विरोध गर्ने, आन्तरिक स्वार्थ र किचलोमा धेरै मुछिने, भाइभारदार षड्यन्त्र गरी मार्ने, ‘किङमेकर’ जस्तो हुन खोज्ने जस्ता तानाशाही प्रवृत्ति उनमा थियो। विभिन्न माध्यमबाट उठाइएका कर नियन्त्रण गर्न खोज्ने डरलाग्दो प्रवृत्ति पनि उनमा थियो।
भीमसेन नेपालका एकीकरणकर्ता होइनन् र नेपाली भूगोलको विस्तार गर्ने योद्धा पनि होइनन्। भित्र कोटरीमा रम्ने उनी रणबहादुर शाहको फेर समाई उठेका दग्ध प्रवृत्तिका थिए।
उनमा गुणहरू नभएका होइनन्, तर भीमसेन थापालाई विभूति घोषित गरिरहँदा जंगबहादुरलाई खलनायकीकरण गर्नु भनेको चाहिं ऐतिहासिक विश्लेषणमा पक्षधरता हावी हुनु हो। तुलनात्मक रूपमा हेर्दा, जंगबहादुर जत्तिको राष्ट्रवादी भीमसेन थापा होइनन्। जतिसुकै आलोचना गरिए पनि नेपालमा पहिलो पटक मुलुकी ऐन त जंगबहादुरले नै ल्याएका हुन्। शासन व्यस्थापन तथा सञ्चालनका लागि मुलुकी ऐन चाहिन्छ भनेर उनले आत्मसात् त गरेकै हुन्।
सीमामा जंगे पिलर, उत्तरतर्फका नाकामा सीमा पर्खाल बनाएर राजनीतिक भूगोलको नक्शालाई उनले नै स्पष्ट आकार दिएका हुन्। उनले नै आफ्नो र देशको पहिचानमा जोड दिनुका साथै नेपाल-अंग्रेज (इस्टइन्डिया कम्पनी) बीचको सम्बन्धलाई नयाँ धारबाट बलियो बनाएका थिए।
तिब्बतसँग युद्ध गर्दा पनि नाका नाकामा किल्ला पर्खाल बनाएका थिए। बेलायत पुगेर सगरमाथाभन्दा २० माइल उत्तरमा नेपालको सीमा छ भनी आफ्नो कार्टोग्राफरलाई नक्शांकन गर्न लगाएका थिए।
त्यो युग नै काटमारको युग थियो। तथापि भीमसेन थापाको तुलनामा जंगबहादुरले निकै कम काटमार गरेका थिए। जंगबहादुरका कारण कोत पर्व र भण्डारखाल पर्वमा गरी लगभग ४० जना जति मानिसहरू मात्र मारिएको प्रमाण छ।
जंगबहादुरलाई नचाहिंदो तरीकाले दानवीकरण गरिएको छ। उनका राम्रा कृतिहरू नै बढी छन्। तथापि कमजोरीहरू नभएका चाहिं होइनन्। जस्तो- महिलाहरू धेरै राख्ने कुरामा उनी चुकेकै हुन्।
पृथ्वीनारायण शाहपछि बहादुर शाह लगायत माथिल्ला कोटिमा गणना गरिने राष्ट्रवादी व्यक्तित्वका रूपमा जंगबहादुरको विशेष स्थान छ र रहनुपर्छ भन्ने मेरो धारणा हो।
सुगौली सन्धिका कारण गुमेको एक बित्ता जमीन पनि फिर्ता नआउने वेला उनको प्रयासले फिर्ता भएको नयाँ मुलुकले उनको राष्ट्रवादी भूमिकालाई आज पनि सम्झना गराइरहेको छ। उनले बनाएका नीति हेर्दा पनि उनको राष्ट्रप्रेम झल्किन्छ। यसलाई प्रकाशित गरियो भने धेरै कुरा बाहिर आउनेछ, जुन अद्यापि अप्रकाशित नै छ। ‘तपाईं हामी दुई बडा मुलुकका प्रमुखहरूबीच झगडा गर्न उचित हुँदैन। फेरि झगडा पर्न सक्छ, यसकारण सीमाको व्यवस्था हुनुपर्छ’ भनी अंग्रेजसँग वार्ता गरेर नेपालको सीमा व्यवस्था गर्नु जंगबहादुरको राजनीतिक दूरदर्शिता हो।
उनले बाइसे रजौटाहरूको मातहतमा रहेको अहिलेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका भूभाग फिर्ता ल्याउन लखनऊमा भएको ‘सैन्य विद्रोह’ दबाउन आफूले सैन्य सहयोग गर्ने कूटनीतिक नोट अंग्रेज समक्ष प्रस्ताव गरे र यसमा सफल पनि भए। परिणामतः ती भूभाग नेपालमा ल्याइयो र नेपालगन्ज जस्ता नाम राखी नयाँ बस्तीहरू बसाउने कामको थालनी गरियो।
हाम्रा इतिहासविद्हरूले लखनऊ विद्रोहलाई ‘लखनऊ लूट’ भनी गलत व्याख्या गरेका छन् जुन इतिहासप्रतिको उपहासको पराकाष्ठा हो। खासमा, जंगबहादुर लखनऊमा लूट मच्चाउन गएको नभई त्यहाँ भएको अंग्रेज विरुद्धको सिपाही विद्रोहलाई दबाउन र सैन्य सहयोग गरी आफ्नो देशलाई फाइदा पुर्याउन गएका हुन्।
यो तथ्य नबुझी इतिहासविद्हरूले किन आफ्नै गौरवपूर्ण इतिहासको गलत व्याख्या गरेका हुन्? नेपाली सेनाले ‘भारतीय सैन्य विद्रोह’ लाई दबाएको सत्यलाई ‘लूट’ को भाष्यमा आरोप गरेर इतिहासको मर्ममाथि नै उपहास गरेको प्रतीत हुन्छ।
सैन्य दमनपछि भेटिएका दुई/चार वटा मोतीका माला ल्याएको घटनालाई हाउगुजी बनाई विजयको मूलघटना बिर्सनु हास्यास्पद हो। अझ, भारतीयले लेखेको जस्तो गरी नक्कल गर्नु नेपाली विद्वान्हरूको इतिहासप्रतिको कस्तो चेतना हो? बुझिनसक्नु छ। कहिलेकाहीं त अंग्रेजहरूसँग नेपालले हारेको हो, अंग्रेजले चाहेको भए नेपाल जसरी पनि लिन्थ्यो भन्ने जस्ता अऐतिहासिक, कपोलकल्पित र आफैंलाई अपमान गर्ने भाष्यहरू समेत बनाइएको छ।
१९ तोपको सलामी पाउने दस्तुर भएकामा दुई तोप कम गरी १७ तोप मात्रले सलामी दिंदा दुई तोप किन कम भयो भनी विरोध गरी बेलायती महारानीले सम्मानस्वरूप दिएको मेडल समेत फिर्ता गर्छु भनी धम्की दिने जंगबहादुरको व्यक्तित्वलाई खलनायकीकरण गर्नु उनीमाथिको अन्याय हो।
‘नेपालको कुरा, नेपालका राजाका कुरा र आफ्नो कुरा बाहेक जंगबहादुरले हाम्रा लागि केही गर्नेछैनन्’ भनेर तत्कालीन ब्रिटेनको इन्डिया अफिस लाइब्रेरीका विद्वान्हरूले समेत लेखेको मैले कागज नै भेटेको छु। जंगबहादुर चतुर छन् र उनले नेपालको हितको कुरा मात्र गर्छन् भन्ने बेलायतीहरूको मूल्यांकन हाम्रा लागि त राम्रो हो नि।
‘जंगबहादुरले लगेको सांस्कृतिक झाँकी हेरेर बेलायत बेवकूफ बनेको छ’ भनी कार्ल मार्क्सले लेखेका छन्। यसकारण तात्कालिक समयमा जंगबहादुर एकदमै जिउँदोजाग्दो पात्र थिए।
प्रथम शहीद भनिने लखन थापाको कुरा ल्याएर जंगबहादुरलाई अवमूल्यन गर्नु उचित नहोला। आफ्नो विरुद्धको अभियान दबाउनु जुनसुकै शासकको प्रवृत्ति हो, जंगबहादुरले त्यही नै गरेका हुन्। कप्तान भइसकेका लखन थापाले किन जंगबहादुर विरुद्ध विद्रोह गरे? त्यसको इतिहास पनि खोजी गर्नुपर्ला। मिथकीय र अफवाह जस्ता कुराहरू जोडेर इतिहासको अपव्याख्या गर्दा समस्या भएको देखिन्छ। के लखन थापालाई राष्ट्रिय विभूति बनाउँदा जंगबहादुरको योगदानलाई अवमूल्यन गर्नुपर्ने हो?
नेपालगन्ज ब्रिटिश भारतमा गाभिएला भन्ने डरका कारण अनेकौं कूटनीतिक चातुर्य अपनाएर जंगबहादुरले त्यस क्षेत्रलाई बचाएका थिए। यस कामका लागि यिनले आफ्ना ज्वाइँ गजराजसिं थापा र हज्सनलाई समेत प्रयोग गरेका थिए। यदि उनले भारतीय रजौटाहरूसँग यस कामका लागि सहयोग मागेका भए, उल्टो उनीहरूबाट गद्दारी भोग्नुपर्थ्यो। जंगबहादुरले जहिले पनि, अंग्रेजलाई समर्थन गरेर भए पनि, आफ्नो र आफ्नो देशको सार्वभौमिकता जोगाएका छन्।
जंगबहादुर यूरोप भ्रमणमा जाँदा सार्वभौम नेपालका महाराजको आवश्यकता अनुरूप जुनसुकै पनि निर्णय गर्न सक्ने राजकीय प्रतिनिधि भनेर आफूलाई बताएका छन्। यसकारण अन्यायपूर्ण तरीकाले अपव्याख्या गरेर जंगबहादुरको व्यक्तित्वलाई दानवीकरण गरिएको छ। वास्तवमा राष्ट्रियताको दृष्टिकोणले हेर्ने हो भने जंगबहादुरलाई पनि ढिलो नगरी राष्ट्रिय विभूति घोषणा गरे हुन्छ।
बलभद्र कुँवर अग्रपंक्तिमा लडे, नेपाल निर्माणमा उनको ठूलो देन छ। उनका बारेमा गहन अध्ययन हुने नै छ। उनलाई अफगानिस्तानमा जागीर खान गएको भन्ने जुन आरोप लगाइएको छ, यस विषयमा पनि थप खोज हुन जरुरी देख्छु।
भीमसेन थापा र जंगबहादुरमध्ये कसको योगदान बढी छ भन्ने प्रश्न गरियो भने म अलिकति पनि धर्मर नभई जंगबहादुरकै योगदानलाई बढी महत्त्व दिनुपर्ने देख्छु। पृथ्वीनारायण शाहको विषयमा त म बढी नै स्पष्ट छु र कतिपय अवस्थामा त म भावुक समेत हुन्छु।
विभूतिको कुरा उठाइहाल्नुभयो, बौद्धिकवृत्तमा नेपालका विभूतिबारे पनि वेलावेला प्रश्न उठ्ने गरेका छन् नि!
विभूति बनाउने कुरा लहडको विषय भइसक्यो नेपालमा। मेरो घर अगाडि पासाङल्हामु शेर्पाको शालिक छ, जसलाई नेपाल सरकारबाट राष्ट्रिय विभूति घोषणा गरिएको छ। तर सरकारको यो कुरा म मान्दिनँ।
वास्तवमा पासाङल्हामुको योगदान के हो भन्ने विषयमा छलफल गर्नु अपरिहार्य भइसकेको छ। विभूति शब्दको गरिमा, आदर्श र गहनताका आधारमा उहाँलाई विभूति घोषणा गर्न कुनै पनि कोणबाट नमिल्ने हो। न त उहाँ सगरमाथा चढ्ने पहिलो व्यक्ति न त पहिलो महिला। अर्को विचारणीय प्रश्न त, हिमाल चढ्नेलाई विभूति मान्ने कि नमान्ने?
राज्य निर्माणका क्रममा दिवंगत व्यक्तिलाई शहीद वा विभूति बनाउनु त ठीक हो, तर हिमाल चढ्ने अभियानमा असफल भएको व्यक्तिलाई विभूतिको कसीमा मूल्यांकन गर्ने आधार के हो? पाटन शहरका श्रीनिवास मल्लका पालाका कवि कुनु शर्मालाई विभूति बनाउने विषयमा कसैले सोचेको छ त? सिद्धिनरसिंह मल्ल राजा मात्र हुन् र? उनलाई विभूति बनाउनु पर्दैन? उनी कला पारखी र कला सर्जक हुन् कि होइनन्?
मल्लकालीन सांस्कृतिक सम्पदा र सामाजिक सभ्यता निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउने स्रष्टाहरूको भूमिकालाई बिर्सेर ऐतिहासिक तथ्यले प्रमाणित नभएका मिथकीय पात्र शंखधर साख्वालाई विभूति बनाउनुपर्ने हो र? प्रामाणिक स्रोतका आधारमा शंखधर साख्वालाई ऐतिहासिक पात्र नै हुन् भनेर कसले भन्न सक्छ? आभिलेखिक प्रमाण विनाका मिथकीय पात्रहरूलाई शालिकमा अनावरण गर्नुमा कुनै वैज्ञानिक आधार छैन। भावनामा डुबेर मिथकलाई इतिहास बनाउँदा तथ्य इतिहासमाथि भद्दा मजाक मात्र हुनेछ।
त्यस्तै, धेरै पछिको वंशावली साहित्यमा वर्णित पहिलो किराती राजा यलम्बरलाई कसैले विभूति बनाउन प्रस्ताव गर्छ भने, त्यो अमिल्दो हो। उनी यलम्बर नभई ‘यलुङ्पा’ हुन् भनी मैले लेखिसकेको छु। ‘यं’ भनेको काठमाडौं र ‘यल’ भनेको ललितपुर पाटन हो। पूरै काठमाडौं उपत्यका समेतलाई राज्य गर्ने भन्ने अर्थमा ‘यलुङ्पा’ शब्दको प्रयोग गरिएको हो। ‘लुङ्’ भनेको गाउँ वा बस्ती हो भने ‘पा’ शब्दले स्थानविशेषको व्यक्तिको बोध गराउँछ। जस्तै- नेपालको नेपाली।
यसकारण काठमाडौंका शासक भन्ने भावार्थमा ‘यलुङ्पा’ शब्दको प्रयोग गरिएको हो। वंशावलीले ‘यलम्व’ भनेर उल्लेख गरेको छ। यही ‘यलम्व’ शब्द संस्कृतकरण हुँदा ‘र’ थपिएर यलम्वर (यलम्बर) शब्द बनेको हो। यस कारण ‘यलम्वर’ शासकको नाम नभएर स्थानबोधार्थक शब्दको नाम हो। अतः मान्छेको नामै नभएको अमुक पात्रलाई कसरी विभूति बनाउनु?
संसारले पुजेको विभूतीय व्यक्तित्व गौतम बुद्धसँग पासाङल्हामुलाई तुलना गर्नु मिल्ने कुरा हो र?
एक त विभूतिको भाष्यमा बुद्धलाई जोड्ने तर्क नै गलत छ। किनकि विभूतीय शब्दको गरिमाभन्दा बुद्ध धेरै माथिल्लो स्तरका व्यक्तित्व हुन्। बुद्धलाई विभूति बनाउनु भनेको बुद्धको बुद्धत्वलाई बिर्सनु हो। बुद्धको विषयमा अरू प्रश्न पनि उठाउन सकिन्छ। वर्तमान नेपालको निर्माणमा बुद्धको के देन छ? अहिलेको राजनीतिक भूगोलमा बुद्धलाई नेपालको मान्नु गौरवको विषय हो। तर राष्ट्रियताको परिधिभन्दा माथि उठेका, देवत्वमा राखिएका महामानवलाई विभूतिको साँघुरो घेरामा खुम्च्याउनु कत्तिको उचित हो? भगवान् भनिएका रामचन्द्र, सीता, जनक र पासाङल्हामु एउटै श्रेणीका हुन् त?
राष्ट्र प्रतीकहरूमा बाँच्दछ। विभूति बनाउँदा नेपाल राष्ट्रको निर्माणमा योगदान पुर्याएका व्यक्तित्वहरूको खोजी गर्नुपर्छ। त्यसकारण पासाङल्हामु मात्र होइन, सीता, जनक, बुद्ध, अरनिको, शंखधर साख्वा यी सबै विभूतीय गरिमामा नअट्ने पात्र हुन्।
अरनिको नेपालका कलाकार हुन् र नेपाली कला सीपलाई बाह्य जगत्मा पुर्याए, तर नेपाली नागरिकता नजोगाउने र सन्तान-दरसन्तान सहित बाहिर विलीन हुने पात्र पनि हुन्। यस्तो अवस्थामा उनलाई कसरी विश्लेषण गर्ने? अरनिको नाम नेपाली प्रमाणबाट आएको होइन। चिनियाँ बादशाहले उनलाई सम्बोधन गर्ने ‘अनिगे’ बाट तानतुन गरी कल्पनाका भरमा यहाँ अरनिको बनाइएको हो। अब अरनिको चिनियाँ दरबारका कला विभागका मन्त्री र नागरिक हुन् कि नेपालका?
मानवशास्त्री डोरबहादुर विष्टको वैचारिकीबारे तपाईंको दृष्टिकोण के हो?
डोरबहादुर विष्ट मेरा सिनियर सहकर्मी हुनुहुन्थ्यो। उहाँले लेख्नुभएको भाग्यवाद र विकास पुस्तकमा मलाई सम्झनुभएको थियो। तर पछि किताब सम्पादन गर्नेहरूले पछिल्ला संस्करणहरूमा उहाँले मलाई दिनुभएको धन्यवाद हटाएर छापेछन्, जुन वास्तवमा अपराध हो।
मलाई के लाग्छ भने, यहाँको प्रामाणिक इतिहास वा सैद्धान्तिक धारको विषयमा भने विष्ट कमजोर हुनुहुन्थ्यो। बहकाउ र भावनामा धेरै डुब्ने उहाँको प्रवृत्ति थियो।
बेलायतमा मानवशास्त्री म्याक्फर्लानको सहयोगमा उहाँले अध्ययन गर्नुभयो। अझ भनौं, उनीहरूको दृष्टिकोणबाट निर्देशित र प्रभावित भई यहाँको जातीय मुद्दामा कलम चलाउनुभयो। अनि नेपाल बिग्रनुको कारण ‘बाहुनवाद’ हो भन्ने निष्कर्षमा पुग्नुभयो। तर उहाँले बनाउनुभएको यस तर्कको सैद्धान्तिक आधार नै थिएन। तथ्यहरूले प्रमाणित गरेको कुरा पनि थिएन यो।
तर कहींकतै नभएको ‘भाग्यवाद र बाहुनवाद’ भनिने सीमान्तीकृत, अल्पसंख्यक तथा आदिवासी र जनजाति पक्षको मानिएको नयाँ अवधारणालाई जबर्जस्त स्थापित गर्न लागिपर्नुभयो।
ऐतिहासिक महेशराज पन्त र कमलप्रकाश मल्लबीच भएको बौद्धिक विमर्शको सैद्धान्तिक आधार के थियो?
महेशराज पन्त र कमलप्रकाश मल्लबीचको बौद्धिक विमर्शमा केही हदसम्म गालीगलौजले पनि स्थान पाएको थियो। उनीहरूबीचको झगडामा कुनै सैद्धान्तिक आधार नै छैन। गुरुकुलीय प्रणालीमा अध्ययन गरेकाले पनि हुन सक्छ, प्रामाणिक इतिहासको खोजमा महेशराज पन्त निकै कडा स्वभावका छन्। प्रमाणभन्दा बाहिर गई गरिएको तर्कलाई नमान्ने महेशराज पन्तको प्रवृत्ति छ।
तर कमलप्रकाश मल्ल तर्कको कुराले पनि स्थान राख्छ भन्ने यूरोसेन्ट्रिक अवधारणामा झुकाव राख्थे। यसरी हेर्दा उनीहरूबीचको झगडामा सैद्धान्तिक विमतिभन्दा व्यक्तित्वले भूमिका खेलेको हो कि भन्ने लाग्छ।
कमलप्रकाश मल्ल ‘गोपालराजवंशावली सम्पादन गर्न सक्ने क्षमताका होइनन्, धनवज्र वज्राचार्यलाई काखी च्यापेर लेखक बने’ भन्ने महेशराज पन्तको तर्क छ। एक किसिमले पन्तको तर्क ठीकै पनि हो। कमलप्रकाश मल्लको वंशावलीमा काम गर्न सक्ने क्षमता चाहिं थिएन। धनवज्र वज्राचार्यले गरेको कामलाई एउटा ‘पद्धति’ मा ढालेर अन्तर्राष्ट्रियकरण गर्ने मनसायले कमलप्रकाश मल्ल जोडिए। मल्लको यस कार्यलाई महेशराज पन्तले अनधिकृत रूपमा प्रवेश गर्न खोजेको भन्ने तर्क गरेपछि यी दुईबीच झगडा बढ्दै गएको हो।
तपाईं त्रिवि अन्तर्गतको ‘नेपाल र एशियाली अनुसन्धान केन्द्र’ (सिनास)मा रहेर काम गर्दाको अनुभव कस्तो थियो?
एकै चोटि उपप्राध्यापकका रूपमा सिनास प्रवेश गरी प्रयागराज शर्मा, धनवज्र वज्राचार्य र डोरबहादुर विष्ट जस्ता प्राज्ञहरूसँग काम गर्न पाउँदा मलाई निकै गौरवबोध भएको थियो। विदेशी विद्वान्हरूले पनि सिनासलाई त्यति वेला सम्मानका साथ हेर्थे।
अहिले त कतिखेर सिनास छोडूँ भन्ने अवस्था आएको छ। म आफैं तीतो अनुभव बोकेर विश्वविद्यालयबाट राजीनामा दिई फर्कनुपर्यो। इतिहासको अध्ययनमा त्यति वेलाको सिनासले निकै राम्रो काम गरेको थियो। विद्वान् र प्राज्ञहरूलाई स्थान दिएको वेला सिनासले निकै फड्को मारेको थियो। तर म त्यहाँ हुँदाहुँदै सिनासको गरिमा स्वाहा भएको हेर्नुपर्यो।
हिमाली सभ्यता, संस्कृति र इतिहास लगायत विभिन्न विषयमा तपाईंका कृतिहरू प्रकाशित छन्। विभिन्न भाषामा ती अनुवाद पनि भएका छन्। यस प्रसंगमा तपाईंको अनुभव सुनाउनुहोस् न।
यस विषयमा म आफूलाई भाग्यशाली नै ठान्छु। किनकि सिनासले सञ्चालन गरेको ‘मल्टिडिसिप्लिनरी प्रोजेक्ट’ मा मैले काम गर्ने अवसर पाएँ। यही क्रममा म हिमाली अध्ययनमा डुब्न थालेको हुँ। पछि, मुस्ताङको इतिहासमा केन्द्रित रही विद्यावारिधि पनि गरें। विद्यावारिधिमा लेखेको शोधप्रबन्ध मुस्ताङी राजाको सहयोगमा किताबका रूपमा पनि प्रकाशित भएको छ।
इन्डियास्थित ‘लाइब्रेरी अफ टिबेटन वर्कस् एन्ड आर्काइभ्स’ को हिमाली अध्ययनको २८औं ऐतिहासिक प्रकाशन मालाका रूपमा यो किताब बजारमा आएको छ। अंग्रेजी भाषाको यो किताब अन्तर्राष्ट्रिय जगत्मा चर्चितै छ। यो किताब सारनाथ विश्वविद्यालय मार्फत तिब्बती भाषामा पनि अनुवाद भएको छ।
यो किताब अब बेइजिङ विश्वविद्यालयबाट चिनियाँ भाषामा अनुवाद भई चीनको सबैभन्दा ठूलो प्रकाशन गृह सिचुवान पब्लिशिङ कम्पनीबाट प्रकाशित हुँदै छ।
मलाई के लाग्छ भने, हामीले लेखेका पुस्तकहरू अन्तर्राष्ट्रिय बजारमा पुग्नुपर्छ। धनवज्र वज्राचार्यको लिच्छविकालका अभिलेख जापानी भाषामा समेत अनूदित छ। कसै कसैले कमलप्रकाश मल्लले सोर्स लगाएका कारण यो किताब जापानबाट छापिएको हो पनि भन्ने गरेका छन्, जुन गलत र खेदजनक हो। प्राच्यशास्त्र पढ्ने जापानीहरूलाई नेपालका प्राचीन अभिलेखमा चासो भएकाले नै जापानबाट यो कृति छापिएको हो।
हाम्रा विश्वविद्यालयमा विदेशी पढ्न आए र हाम्रा किताबहरू पनि विदेशी भाषामा अनुवाद भए मात्र हाम्रो ज्ञानले विश्वमा शिर उठाउन पाउँछ।
(सम्पादन : असीम तिमल्सिना, भाषा : प्रद्युम्न खनाल)