मनसुनी विपद्बाट २८ जनाको मृत्यु, ३३ जिल्ला प्रभावित
मनसुन भित्रिएयता विपद्बाट ३३ जिल्ला प्रभावित छन् भने २८ जनाको ज्यान गएको छ।
गत जेठ २८ मा पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो। अहिले देशभर नै फलिइसकेको छ। त्यसयता मनसुनी विपद्बाट ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ। ताप्लेजुङ, पाँचथर, संखुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व, गुल्मी दाङ, बाजुरा, कास्की लगायत जिल्ला बढी प्रभावित भएका हुन्।
यस अवधिमा १४७ वटा विपद्का घटना भएको मन्त्रालयले जनाएको छ। जसमा २८ जनाले ज्यान गुमाएका छन्। बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
पहिरोमा परेर १२ जना घाइते भएका छन्। पहिरोकै कारण २५ घरमा पूर्ण क्षति भएको छ भने १० वटा घरमा आंशिक क्षति पुगेको छ। यस्तै, बाढीमा परेर एक जना घाइते भएका छन्।
दुई सातामा चट्याङका ६८ वटा घटना भएको तथ्यांक छ। जसमा १३ जनाको मृत्यु भएको छ। चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाखभन्दा बढीको आर्थिक क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार पछिल्लो तीन दिनमा मात्रै विपद्जन्य घटनामा मात्रै १८ जनाले ज्यान गुमाएका छन्। जसमध्ये चट्याङबाट नौ जनाको र बाढीपहिरोमा परेर नौ जनाको मृत्यु भएको भट्टराईले बताए।