उही सडक, सवारी र ट्राफिकका कुरा
गाउँ गाउँमा बाटो पुग्दै गर्दा, राजमार्गहरू झनै फराकिला र चिल्ला बन्दै गर्दा सडक अनुशासनबारे बालबालिकालाई शिक्षा दिन जरूरी बन्दै गएको छ, ढिलो नै हुन लागिसक्यो।
(ट्रिगर वार्निङ : गुनासै गुनासाले लतपतिएको लेख।)
कार्यालय समयमा अत्यधिक व्यस्त हुने चौबाटामा ट्राफिक प्रहरीले गाडीलाई छिटो छिटो पठाउनका लागि अरू गाडीलाई जेब्रा क्रसिङभन्दा निकै पछाडि रोक्न लगाउँछन् (हेर्नुहोस् चित्र १ : थापाथलीको चौबाटाको नमूना)। ट्राफिक पनि छिटो छिटो चल्छ नै। तर यसले सवारी चालकमा नराम्रो बानी बसाल्दै छ।
हिजोआज काठमाडौंमा कुनै पनि सवारीसाधन, विशेष गरेर दुईपांग्रे, यदि मूल सडकबाट दायाँ या बायाँका सडक या गल्लीमा मोडिनु छ, तर विपरीत दिशाबाट गाडी आउँदै छन् भने त्यहीं कुरेर सवारीलाई जान दिएर बाटो काट्दैनन्। उनीहरू परैबाट छड्के हानिएर आफ्नो बाटो लाग्छन् (हेर्नुहोस् : चित्र २)। अनि एउटाले त्यसो गर्यो भने त्यसपछिका अरू बाइक, गाडी पनि झन् झन् परबाट छड्के लर्को लाग्छन्!
यसको अर्को कारण, मानिसमा धैर्य नहुनु पनि हो। तर सीधा आउने सवारीसाधनले जता पनि प्राथमिकता पाउनुपर्छ। अझै उकाली-ओरालीमा त झन् यो लागू हुनै पर्छ। नियम नै त्यही हो।
तर कुर्न गाह्रो मान्छन् आजका युवा। अनि आफ्नो र अरूको ज्यान खतरामा पारेर तेर्सो हुत्तिन तम्सिन्छन्। यो दुईपांग्रे र चारपांग्रे सबैमा लागू हुन्छ। यो ट्राफिक प्रहरीले आफ्नो काम सहज बनाउन खोज्दाको उपज हो, त्यसमा दुविधा छैन।
हाम्रो सवारी अनुमतिपत्र पाउने पद्धतिमा भएको सिकाइ कमजोरी हो। नियम किन पालना गर्नुपर्छ भन्ने कुरामा त्यति जोड दिइएको छैन। प्रहरी छ भने टेर्यो, नत्र आफ्नै सुरमा हुइँकियो। जस्तै- एकतर्फी सडकमा प्रहरी छैनन् भने उल्टोतिर सवारी चलाउने, फेरि विशेषगरी दुईपांग्रे चालकहरू।
हुन त नयाँ बनाएका एकतर्फी सडकमा त्यसको निशाना ठड्याउन प्रहरी या सडक विभागले आलटाल गरेका कारण धेरै जना सवारी चालक ट्राफिकको छड्के धरापमा फस्छन्।
हतारमा हुने र नियम पालना नगर्ने अर्को उदाहरण भेटिन्छन्, ट्राफिक लाइट भएका ठाउँमा। जस्तै- घण्टाघरमुनि। रातो बत्ती छँदाछँदै, पैदल यात्रु छलेर नै कुदाउन तम्सिन्छन् मोटरसाइकल र मोटर पनि।
हतारको अर्को नमूना हो, दुई लेन बाटोको जाममा गाडीहरू कुर्नुपर्दा तँछाडमछाड गर्दै दुईबाट चार लहर बनाएर ‘बटलनेक’ पारेर झनै ट्राफिकलाई ढिलो पार्ने बानी। यो हामी नेपालीको लाइनमा बस्ने बानी नभएको प्रतिफल हो।
चाहे कुनै ब्यांक या कार्यालयमा होस्, बस कुर्दा होस्, टिकट लिने लाइनमा होस्, अगाडि कुरेका व्यक्तिलाई बेवास्ता गरी आफू अगाडि लम्किने। धैर्य नहुने, आफ्नो कुरा र काम मात्र जरूरी हो भनी ठान्नेहरू! सडकमा पनि त्यही देखिने हो।
जेब्रा क्रसिङमा पैदलयात्रुले पाइला चाल्नासाथ त्यहाँ आइपुगेका सबै सवारी रोकिनुपर्छ, उनीहरूले बाटो नकाट्दासम्म। त्यो अवस्थामा गाडीले पैदलयात्रुलाई ठक्कर दिए, चालककै दोष हुन्छ। अन्यत्र जेब्रा क्रसिङ नभएको ठाउँबाट बाटो काट्दा (जे वकिङ) यदि दुर्घटना घट्यो भने त्यो पैदलयात्रुको दोष हुन्छ।
जेब्रा क्रसिङकै कुरा गर्दा, ट्राफिक बत्ती नभएका ठाउँमा जेब्राको धर्सा ‘थ्री डी’ खाले पेन्टिङ गरेमा सवारीसाधनको गति स्वतः घट्छ। किनकि चालकहरूले त्यहाँ अवरोध छ भन्ने ठान्छन् (हेर्नुहोस् : चित्र ३)।
अर्को उपाय भनेको जेब्रा क्रसिङको दायाँबायाँ झिपझिप गर्ने ठूलो गोलो बत्ती राख्नु हो। यसो गरेमा पैदलयात्रु बढी सुरक्षित हुन्थे। यसो गर्न किन पहल नगरेको होला? कति सस्तो र सहज उपाय। ट्राफिक प्रहरी र सडक विभागबीच समन्वय नपुगेको हो?
जेब्रा क्रसिङ पैदलयात्रुका लागि बनाइएका हुनाले सवारीसाधन रोक्दा जहिले पनि त्यसलाई छोडेर बस्नुपर्छ। कि वरै कि परै, चाहे त्यहाँ पैदलयात्रु हुन् या नहुन्। यो भनेको पैदलयात्रुप्रति सम्मान र कदर दर्शाउनु हो।
बाटो काट्ने सन्दर्भमा जेब्रा क्रसिङ बाहेक अनेकौं ठाउँमा आकाशे पुलहरू बनाइएका छन्, हिंड्ने मानिसकै रक्षाका निम्ति। तर प्रहरी छेउछाउमा छैनन् भने पैदलयात्रुहरू (ट्राफिक प्रहरी पनि) आफ्नो ज्यान हत्केलामा राखेर तीव्र गतिमा हुत्तिएर आउने सवारीसाधन छल्दै बाटो काट्छन्। हो, ज्येष्ठ नागरिक, फरक क्षमताका मानिसलाई आकाशे पुलका झन्डै ४० जसो खुड्किला उक्लनु/ओर्लनु सम्भव छैन। तर मैले देख्दा धेरैजसो यसरी जथाभावी व्यस्त सडकमा बाटो काट्ने जमात कलेजका विद्यार्थी, तन्दुरुस्त तन्नेरीहरू नै हुन्छन्।
नियमकै अर्को कुरा। सडकको बीचमा हुने धर्काहरूको पटक्कै ख्याल गर्दैनन् प्रायः चालकहरू। दुर्घटनाको खतरा हुने ठाउँमा, घुम्तीमा, पुलमा ‘अनब्रोकन लाइन’ (सीधा धर्सो) कोरिएको हुन्छ, त्यहाँ उछिनेर ‘ओभरटेक’ गर्न मिल्दैन। धर्सावाला (ड्यासेज) छ भने त ‘ओभरटेक’ गर्न मिल्यो।
फेरि ‘ओभरटेक’ नै गर्दा एउटा मात्र लेन छ भने दायाँबाट मात्र उछिन्न पाइन्छ। तर यस विषयमा धेरै जोड दिइँदैन कि क्या हो, लाइसेन्स दिनुअघि। बाइकहरू नागबेली रूपमा कतै दायाँबाट त कतै बायाँबाट ‘ओभरटेक’ गरिरहेका हुन्छन्।
आजभोलिका बाइक तथा स्कूटरका नयाँ मोडेलमा इन्जिन खोल्नासाथ बत्ती बल्छ। तर धेरैलाई ‘हाइबीम’ (चर्को) र ‘लोबीम’ (मधुरो) बत्तीबारे कुन वेलामा कुन बाल्ने भन्ने सिकाइएकै छैन जस्तो लाग्छ। अँध्यारो भएपछि अगाडिबाट आउनेले मात्र हैन, पछाडिको बत्ती ऐनामा ठोक्किएर पनि अरू चालकको आँखा खान्छ। दुर्घटना निम्त्याउँछ।
एम्बुलेन्सको फेरि अर्कै बिजोग छ। विदेशतिर साइरन सुन्नासाथ गाडीहरू छेउ लाग्छन् र एम्बुलेन्स तथा अन्य इमर्जेन्सीका गाडीका लागि बाटो दिन्छन् (हेर्नुहोस् : चित्र ४)। हामीकहाँ त्यसको महत्त्व अझै बताउन सकिएको छैन। बिरामीको हरेक मिनेट कति मूल्यवान् हुन्छ र आगो निभाउन एक मिनेटको ढिलाइले कति फरक पर्छ! यस्तो महत्त्वपूर्ण कुरा त सिकाउनुपर्थ्यो, हाँक्ने अनुमति दिनु अगावै।
चालकलाई पाठ नसिकाएकैले तथा दुई लेनलाई दुई लेनकै रूपमा कायम राख्नुपर्छ भनेर नघोटाएकै कारण (हाम्रो बुझ पचाइले पनि गर्दा) ट्राफिक प्रहरीले ‘लेन डिसिप्लिन’ कायम राख्न सडकको बीचमा डिभाइडर राखेका छन्, काठमाडौंका सडकमा। त्यसले नै अहिले ‘इमर्जेन्सी’ का सवारीसाधनलाई अगाडि बढ्न तगारो बनिरहेको छ। यो जनधनसँग खेलाँची नै गरिएको हो।
अब विलम्ब नगरी सवारी चालक अनुमतिपत्र दिंदा परीक्षार्थीले पूरा अभ्यास नगरी, कडा जाँच पास नगरी वितरण गर्नु हुँदैन। सडक सभ्यता तथा मानव सभ्यताकै मानकहरूको अभ्यास गराइनुपर्छ, अनुशासन, धैर्य, शिष्टता, जिम्मेवारी र आदर-कदरको।
अनि ट्राफिक प्रहरीले पनि केही मिनेटको सहजताका लागि नियम विपरीत ट्राफिक परिचालन गर्नु हुँदैन, त्यो ठोक्किएर आफैमा बज्रिन्छ। वर्षको एक साता बालबालिकालाई सडकछेउमा उभ्याएर होइन, विद्यालयको पाठ्यक्रममै यी पाठ राम्ररी सिकाइनुपर्छ। गाउँ गाउँमा बाटो पुग्दै गर्दा, राजमार्गहरू झनै फराकिला र चिल्ला बन्दै गर्दा यो अझै जरूरी बन्दै गएको छ, ढिलो नै हुन लागिसक्यो!