पहिले भैंसीको गोबरै छुँदैनथे, अहिले दूध र मलबाट लाख कमाइ
विदेश जानुअघि बाबुराम ओली गोबर देखेर गोठ छिर्नै सकस मान्थे, गाउँ फर्किएपछि भने भैंसीपालन व्यवसाय मार्फत दूध र प्रांगारिक मल बेचेर मनग्य आम्दानी गरिरहेका छन्।
घरमा दुई/तीन वटा भैंसी हुन्थे। गाई, बाख्रा त हुने नै भए। घरपरिवारका सदस्य बस्तुभाउको हेरचाह र खेतबारीमै व्यस्त रहन्थे।
बाबुराम ओली कहिलेकाहीं गोठालो त जान्थे, तर भैंसीको रेखदेखमा खासै चासो थिएन। गोबर त छोएका पनि थिएनन्। “गोबर सोहोर्नु त के, भैंसीलाई घाँस पनि काटेको थिइनँ,” बाबुराम सम्झिन्छन्।
अझ वैदेशिक रोजगारबाट बिदामा आउँदा त छुट्टै शान हुन्थ्यो। परिवारका सदस्यलाई पनि गाईभैंसी बेच्न कर गरिरहन्थे। आमाबुबालाई ‘भैंसीको गोबर सोहोर्न छाड्नुस्, यी सबै बेचेर आरामले बस्नुस्’ भन्ने गरेका थिए।
अहिले भने बाबुरामको दैनिकी फेरिएको छ। घाँस काट्छन्, भैंसीको गोबर सोहोर्छन्, दूध दुहेर बजारसम्म लैजान्छन्। “अचम्मै गरी बदलिनुभएको छ,” बाबुरामकी पत्नी विमला भन्छिन्, “काटेका घाँस समेत नहाल्न हाल्ने मान्छे, अहिले त भैंसीको गोबर सोहोर्नेदेखि दानापानी सबै आफैं गर्नुहुन्छ।”
दाङको घोराही उपमहानगरपालिका-६, बचाहाका ४७ वर्षीय बाबुरामको सोचाइ बदलिएको चार वर्ष मात्रै भयो। दुबईमा राम्रै कमाइ गरिरहेका उनी २०७७ सालमा घर फर्किए। त्यसपछि फेरि विदेश जान खोजेनन्। “२० वर्ष विदेशमा काम गरें, कमाइ पनि राम्रै थियो,” उनी भन्छन्, “सधैं विदेशमा बस्न पनि नसकिंदो रहेछ, किनकि घरपरिवार, समाज, सबै थोक यतै हुन्छ।”
केही वर्षअघि नै उनलाई घर फर्किन मन लागेको थियो। तर गाउँमा के गर्ने भन्ने भेउ पाएका थिएनन्। दुबईमा रहेकै वेला चितवनका सहकर्मीका परिवारजनले दूध बेचेर फाइदा भएको खबर सुनाउने गरेका थिए। “चितवनका साथीहरू घरमा यतिउति लिटर दूध बेचे, यति फाइदा भयो भन्नुहुन्थ्यो,” बाबुराम भन्छन्, “मलाई पनि लाग्यो, घर फर्केर भैंसी पाल्छु, किनकि घरमा पालेको देखेकै थिएँ।”
स्वदेश फर्किंदा घरमा चार वटा भैंसी थिए। उनले व्यावसायिक रूपमा भैंसीपालनका लागि अरू भैंसी थप्ने कुरा घरमा सुनाए। “दुबईबाट फर्केर घरपरिवारलाई भैंसीपालन गर्छु भन्दा त कसैले पत्याएनन्,” उनी सम्झिन्छन्।
वैदेशिक रोजगारी छोडेर गाउँ फर्किएपछि उनले बाबुराम बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्म दर्ता गरे। चार वटा भैंसी घरमा छँदै थिए, १६ वटा थपे। अहिले ३६ वटा भैंसी पुगेका छन्। “घरपरिवारले पहिलेदेखि गर्दै आएको कामलाई व्यावसायिक रूपले अघि बढाएको मात्रै हुँ,” बाबुराम भन्छन्।
उनी दैनिक १२२ लिटर दूध बेच्छन्। मोटरसाइकलको क्यानमा दूध राखेर घोराही बजार पुग्छन्। हरेक दिन ग्राहकका घर घरमै दूध पुर्याउँछन्। “कहिलेकाहीं आफ्ना भैंसीबाट दूध पुगेन भने गाउँबाट खरीद गरेर भए पनि ग्राहकको घरमा पुर्याउँछु,” उनी भन्छन्।
गाउँमै भैंसीपालनबाट आम्दानी पनि राम्रै भएको छ। विदेशमा १५/१६ घन्टा खटिई मासिक रूपमा पाउने तलबभन्दा दूध बेचेर बढी कमाइ भइरहेको उनी सुनाउँछन्। “सबै खर्च कटाएर मासिक दुई लाख रुपैयाँ जति बचत हुन्छ,” बाबुराम भन्छन्।
खेतीपाती गर्दा, बस्तुभाउ पाल्दा दुःख हुने गरेको उनको अनुभव छ। तर विदेशमा काम गर्दाको जति होइन। अरूका लागि गर्ने परिश्रम आफ्नै लागि गर्दा अलिकति गाह्रोसाह्रो सहनुपर्ने उनी बताउँछन्। “दुःख नगरी त अमेरिकामा पनि कमाइ हुँदैन,” उनी भन्छन्, “जहाँ दुःख, परिश्रम गर्यो, त्यहाँ कमाइ पनि राम्रै हुन्छ।”
यो व्यवसायबाट दोहोरो आम्दानी भइरहेको उनी सुनाउँछन्। एकातिर दूध बेचिरहेका छन्, अर्कातिर गोबरबाट प्रांगारिक मल उत्पादन गरिरहेका छन्। अझ रासायनिक मलको अभाव भइरहेको अहिलेको अवस्थामा प्रांगारिक मलको माग उच्च रहेको उनी बताउँछन्। “पहिला गोबरमा हात लगाउँदिनथें, अहिले त गोबरबाटै मल बनाएर बेचिरहेको छु,” बाबुराम भन्छन्।
उनका अनुसार भैंसीको गोबरबाट बनेको प्रांगारिक मल प्रतिट्र्याक्टर चार हजार ५०० रुपैयाँमा बिक्री हुन्छ। रासायनिक मलले जग्गा बिग्रिएको भन्दै थुप्रै किसान उनीकहाँ मल किन्न आउने गरेको उनी सुनाउँछन्। पछिल्लो समय रासायनिक मल नपाएका किसानले पनि प्रांगारिक मल किन्ने गरेका छन्। माग अनुसार मल आपूर्ति गर्न नसकिएको उनको भनाइ छ।
भैंसीसँगै उनले उन्नत जातका १७ वटा बाख्रा पालेका छन्। वर्षमा सात/आठ वटा खसी बिक्री गर्छन्। भैंसी र बाख्रापालनलाई सँगसँगै लैजान गाह्रो नहुने उनको अनुभव छ। “भैंसीसँगै थोरै समय बाख्रालाई पनि दिन्छु, खासै गाह्रो छैन,” उनी भन्छन्, “भैंसीलाई दाना पकाउने वेला थोरै बढाएमा खसीबाख्रालाई पनि भइहाल्छ।”
भैंसीका लागि दाना बाहेक घाँस, पराल आफै उत्पादन गर्छन्। खेतबारीमा दाउले घाँस रोपेका छन्। साढे पाँच बिघामा घाँस खेती गरेपछि भैंसी पाल्न सजिलो भएको उनी बताउँछन्। यसका लागि केही आफ्नै जमीन थियो भने केही भाडामा लिएका छन्।
अहिलेसम्म फार्ममा भैंसी किन्न, गोठ बनाउन, फार्म व्यवस्थापन लगायतमा ७० लाख रुपैयाँ लगानी गरिसकेका छन्। “अहिले त लगानी उठाएर पनि ५० लाखमा जग्गा किनिसकेको छु,” उनी भन्छन्। गत वर्ष उनले २० लाख प्रतिकट्ठाका दरले साढे दुई कट्ठा जग्गा किनेका हुन्।
फार्मका लागि कतैबाट सहयोग भने लिएका छैनन्। स्थानीय, प्रदेश तथा संघीय सरकारले दिने सहयोगबारे जानकारी नभएको उनी सुनाउँछन्। सरकारी निकायबाट अनुदान लिने कोशिश पनि गरेका छैनन्। “म आफ्नै काममा व्यस्त छु, फेरि आफ्ना लागि व्यवसाय गरेको हुँ, कर्म गर्छु,” उनी भन्छन्, “मेरो उद्देश्य सरकारी अनुदान खाने होइन, एउटा सफल किसान तथा व्यवसायी बन्ने हो।”
उनी वैदेशिक रोजगारमा जाने युवालाई पनि व्यवसाय गर्न सुझाउँछन्। केही समय विदेशमा बसे पनि पछि गाउँमै फर्किनुपर्ने भएकाले आफ्ना लागि काम गर्नुपर्ने उनको भनाइ छ। “विदेशमा वा स्वदेशमै केही पूँजी जोडेपछि आफैले केही गर्नुपर्छ,” उनी भन्छन्, “जसरी विदेशमा अरूका लागि परिश्रम गर्छौं, त्यसरी आफ्नै लागि काम गर्दा फाइदा भइहाल्छ।”
शुरूआतका दुई वर्ष उनले सोचे अनुसार नाफा पनि भएको थिएन। बिस्तारै लगानी उठ्दै गएपछि व्यवसाय चलाउन सजिलो हुन थालेको उनी सुनाउँछन्।
अहिले त उनको परिवारका सदस्यलाई पनि हाइसन्चो भएको छ। दुई/तीन वटा गाईभैंसी पाल्दा पनि रातदिन फुर्सद नपाउने विमला अहिले ३६ वटा भैंसी र बाख्रा पाल्दा पनि धपेडी नभएको सुनाउँछिन्। “बिहान ४ बजे उठेर भैंसीलाई दानापानी खुवाएर, दूध दुहुनेदेखि बजारसम्म आफै बेच्न जानुहुन्छ,” विमला भन्छिन्, “मैले पनि सहयोग त गर्छु नै, तर धेरैजसो उहाँ नै गर्नुहुन्छ।”
उनले भैंसीको हेरचाह गर्न मान्छे पनि राखेका छन्। भैंसी राख्ने छुट्टै ठाउँको व्यवस्था गरेका छन्। लैनो भैंसी मात्रै घरसँगै रहेको गोठमा राख्छन्। व्यवसायमा पत्नी विमलाले सघाइरहेको बाबुराम सुनाउँछन्। भैंसी दुहुन पनि विमलाले नै सिकाएकी हुन्। “पहिला केही पनि नगर्ने म अहिले गोबर सोहोर्ने, दानापानी दिने, घाँस काट्ने आफै गर्छु,” उनी भन्छन्, “घरपरिवार पनि खुशी छ।”