ओपेक फन्डले ग्लोबल आईएमई ब्यांकलाई २५ मिलियन डलर ऋण दिने
ओपेक फन्डले ग्लोबल आईएमई ब्यांंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने सम्झौता गरेको छ।
सम्झौतामा ओपेक फन्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आईएमई ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन्। सम्झौतामा हस्ताक्षरपछि बोल्दै ओपेक फन्डका अध्यक्ष अल्खलिफाले लघु, साना तथा मझौला व्यवसाय र जलवायु परिवर्तनका असर न्यूनीकरण सम्बन्धी परियोजनालाई सुदृढ बनाउन ग्लोबल आईएमई ब्यांकसँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताए।
यो ऋण लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाद्वारा सञ्चालित व्यवसायको क्षमता अभिवृद्धि गर्न परिचालन गरिने ब्यांकले जनाएको छ।
नेपालमा लघु, साना तथा मझौला उद्यमको संख्या ९५ प्रतिशतभन्दा बढी छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सिर्जना गरेको छ। तैपनि लघु, साना तथा मझौला उद्यमले लगानीको अभाव झेलिरहेका छन्।
यो ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्त मार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने ब्यांकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बताए।