लमजुङ पहिरोमा एकै परिवारका चार जनाको मृत्यु
गए राति लमजुङको क्व्होलासोथार गाउँपालिका-३, बगुममा गएको पहिरोले घर बगाउँदा हराएका चारै जनाको शव भेटिएको छ।
राति आएको पहिरोले रुद्रमान गुरुङको घर बगाएको थियो। घरमा रहेका ६७ वर्षीय रुद्रमान, बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनीहरू आठ वर्षीया इच्छा गुरुङ र चार वर्षीया नम्रता गुरुङ हराइरहेका थिए।
स्थानीय बासिन्दासँगै नेपाल प्रहरीको टोलीले घरको भग्नावशेष भएको स्थानमा चारै जनाको शव भेटेको हो। पहिरो पन्छाउँदा चारै जनाको शव फेला परेको स्थानीय चित्र गुरुङले जानकारी दिए। रुद्रमानकी पत्नी जुना घले छोरीको घरमा गएकाले जोगिएकी छन्।
गए राति २ः३० बजे पहिरो गएको हो। पहिरोमा रुद्रमानसँगै छिमेकी चित्र घले र पञ्चकुमारी गुरुङको पनि घर भत्किएको छ।
त्यस्तै, लमजुङकै दोर्दी गाउँपालिका-९ मा गए राति पहिरोले घर भत्किंदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ। पहिरोले घर भत्किंदा १८ वर्षीय मिलन सुनार घाइते भएका छन्।
घर भत्किंदा दुवै जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल, लमजुङमा भर्ना गरिएको थियो। उपचारकै क्रममा विकलको मृत्यु भएको र मिलनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले बताए।
त्यसैगरी, गए राति गएको पहिरोले लमजुङ-मनाङ जोड्ने बेंसीसहर-चामे सडक अवरुद्ध छ। बेंसीसहर नगरपालिका-६, खरकहरे भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।