ज्ञानका मणिको बहुआयामिक व्यक्तित्व
ज्ञानमणिज्यूमा अरूको तर्क सुन्ने, मनन गर्ने, सही लागेमा विश्वास गर्ने र कुनै कुरामा शंका वा उत्सुकता लागेमा त्यस सम्बन्धमा खोज, अध्ययन गरेर निष्कर्षमा पुग्ने जुझारु बानी थियो।
भोजपुर, सिक्तेलका कवि वैयाकरण नेपालका नाति, पण्डित भानुभक्त नेपालका ज्येष्ठ पुत्र ज्ञानमणि नेपालको नाम मैले बाल्यकालमै सुनेको थिएँ। उहाँलाई नजिकबाट चिन्ने अवसर भने पारिवारिक साइनो गाँसिएपछि मिल्यो। उहाँकी बहिनी रुक्मिणी नेपालकी छोरी उमासँग २०४६ साल असार ११ गते मेरो विवाह भयो। यसपछि उहाँको बहुआयामिक व्यक्तित्व जान्ने सुअवसर मिल्यो।
ज्ञानमणिज्यूको अरूसँग प्रस्तुत हुने, अन्तरक्रिया गर्ने, अन्वेषण, अनुसन्धान र विश्लेषण गर्ने पद्धति अरूभन्दा पृथक् र विशिष्ट थियो। अनुभव र अध्ययनबाट प्राप्त ज्ञान र सीप अरूलाई खुलेर बाँड्ने गुण थियो। आफ्नो धारणा निर्धक्क बताएर बुझाउन सक्ने खूबी पनि थियो।
सिर्जनात्मक सोचका धनी भएकाले उहाँ अरूलाई पनि सिर्जनशील कार्यमा लाग्न प्रेरित गर्नुहुन्थ्यो। अरूको तर्क पनि सुन्ने, मनन गर्ने र सही लागेमा विश्वास गर्ने उहाँको स्वभाव थियो। कुनै कुरामा शंका वा उत्सुकता लागेमा त्यस सम्बन्धमा खोज, अध्ययन गरेर निष्कर्षमा पुग्ने जुझारु बानी थियो।
उहाँ सामाजिक भावनाको हुनुहुन्थ्यो। सामाजिक क्रियाकलापमा भाग लिन र सभा-समारोहमा जान रुचाउनुहुन्थ्यो। सबैसँग मित्रवत् व्यवहार गर्नुहुन्थ्यो। अरूसँग छिटै घुलमिल हुने स्वभाव थियो। नयाँ नयाँ मानिससँग भेटघाट र कुराकानी गर्न पाउँदा खुशी हुनुहुन्थ्यो। अरूको कुरा पनि सुन्ने, फरक मतलाई सम्मान गर्ने, अरूले गरेको कार्यलाई आफ्नो ब्रह्मले सही ठानेमा स्विकार्ने उदार हृदय थियो। आफूभन्दा सानासँग पनि घुलमिल भएर रमाइलो गर्ने, उनीहरूको भावना बुझ्ने र प्रेरणा दिने गर्नुहुन्थ्यो।
२०४६ साल ताका म नेपाल अर्बुद रोग निवारण संस्थामा काम गर्थें। संस्थाको आर्थिक प्रमुख थिएँ म। काठमाडौंको बागबजारस्थित रातो घरको तेस्रो तलामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा ज्ञानमणि मामा भेटघाट र गफगाफ गर्न फुर्सदको समयमा आइरहनुहुन्थ्यो। पछि म जमलको सेतो दरबारमा खोलिएको अर्बुद सेवा केन्द्रमा सरें। अर्बुद रोग निवारण संस्थाले नै उक्त केन्द्र खोलेको थियो। त्यहाँ पनि उहाँ वेलाबखत आउनुहुन्थ्यो। डाक्टर र नर्सहरूसँग पनि गफ गर्नुहुन्थ्यो। डा. मदनकुमार पिया निकै प्रभावित भएर ‘तपाईंका मामाससुरा त बडो रमाइलो पो हुनुहुँदो रहेछ’ भन्नुभएको थियो।
हामी प्रत्येक दशैंमा नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा मामाको हातबाट ग्रहण गर्न कलंकीस्थित उहाँको निवास जान्थ्यौं। दशैंको टीकाको दिन नभ्याएर अर्को दिन जाँदा उहाँ निकै दुःख मनाउ र गुनासो गर्नुहुन्थ्यो।
अन्य समयमा पनि हामी उहाँको निवासमा गइरहेका हुन्थ्यौं। हामी जाँदा ज्यादै खुशी हुनुहुन्थ्यो। निवास पुग्दा उहाँलाई जहिल्यै अध्ययन र लेखनमा व्यस्त देख्थ्यौं। हामी पुगेपछि लेखपढको काम छाडेर मन खोलेर भलाकुसारी गर्नुहुन्थ्यो। एकछिनपछि उहाँलाई छटपट हुन्थ्यो र शेखर कता गयो, भावना कता गइन् भन्दै छोरा-बुहारी खोज्नुहुन्थ्यो। छेउछाउमा कोही नदेखेको अवस्थामा आफैं उठेर काजु, किसमिस, छगडा, नरिवल, मिस्रीका टुक्रा प्लेटमा राखेर दिनुहुन्थ्यो। त्यसरी अगाध स्नेह र सम्मान गर्नुहुन्थ्यो।
मेरो जन्मदिन मनाउँदा उहाँलाई पनि निम्ता गर्थें। उहाँ कहिले कलम र डायरी, कहिले आफैंले लेखेका पुस्तक उपहार लिएर आउनुहुन्थ्यो। मलाई त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा जान उहाँले नै उत्प्रेरित गर्नुभएको थियो। विश्वविद्यालय सेवामा गएपछि उपप्राध्यापक हुँदा निकै खुशी भएर बधाई दिंदै पदोन्नतिका लागि विद्यावारिधि आवश्यक हुन्छ भनी त्यतातिर लाग्न सुझाव दिनुभएको थियो। उहाँकै प्रेरणा र हौसला पाएर मैले विद्यावारिधि गरें।
मैले विद्यावारिधि गरेपछि उहाँ खूब खुशी हुनुभएको थियो। जब म सहप्राध्यापक भएँ, ‘मैले दिएको सल्लाह मान्नाले कस्तो भयो त!’ भन्दै उहाँले हर्षका आँसु खसाल्नुभएको थियो। यो मेरो जीवनकै अविस्मरणीय घटना हो।
उहाँ शान्त स्वभावको हुनुहुन्थ्यो, कहिल्यै नहडबडाउने र नरिसाउने। सकारात्मक सोचका धनी हुनुहुन्थ्यो। जुनसुकै परिस्थितिमा र जस्तोसुकै अन्तरव्यक्ति सम्बन्धमा पनि आफूलाई सुरक्षित अनुभूति गर्ने उच्चतम आत्मविश्वास थियो। यही कारण होला, उहाँको जीवन व्यवहारमा सदा शान्त भाव र आशावादी हेराइ नै देखियो। समग्रमा, उहाँ विशिष्ट गुणले भरिएका गुनी व्यक्ति हुनुहुन्थ्यो।
(सापकोटा सेवानिवृत्त सहप्राध्यापक हुन्।)
यो पनि पढ्नुहोस् :