कसरी जोगिएला ज्ञानमणि-गौरव?
हजुरबुबा पं. वैयाकरण नेपालले निर्माण गरेको धरोहरलाई ज्ञानमणि नेपालले कायम राख्नुभएको थियो। अब यसको उत्तराधिकारी को होला?
ज्ञानमणि नेपालको विद्वत्ता र अभिभावकत्वले मेरो जीवनलाई सधैं प्रेरणा र ऊर्जा दियो। नातामा उहाँ मेरा काका हुनुहुन्थ्यो। उहाँसँग जोडिएका केही सन्दर्भ श्रद्धासुमनस्वरूप लिपिबद्ध गर्दै छु।
पं. भानुभक्त नेपाल र अन्नपूर्ण नेपालको पुत्रका रूपमा १९८९ माघ १७ गते ज्ञानमणिको जन्म भएको थियो। उहाँको जन्म खोटाङको पुराना गाउँस्थित मावलीघरमा भएको थियो। उहाँको जन्म मावलमा हुनुका पछाडि कारण थियो। मेरा पिताजी पं. वासुदेव नेपालले मलाई सुनाए अनुसार हजुरबुबा पं. भानुभक्त नेपाल लामो समय पुत्रलाभ नभएका कारण पीडामा हुनुहुन्थ्यो।
उहाँकी जेठी पत्नी लीलादेवी बच्चा पैदा हुन नसकेर बितेपछि खोटाङमा अधिकारी ब्राह्मणकी पुत्री अन्नपूर्णसँग विवाह गर्नुभएको थियो। अन्नपूर्णले गर्भधारण गरेपछि ज्योतिषीले आफ्नो घरमा बच्चा जन्माउन उपयुक्त नहुने सुझाव दिएकाले उहाँले पत्नीलाई खोटाङ पुर्याउनुभएको थियो।
न्वारन नगरी सुत्केरी हिंडाउन नहुने चलनका कारण ज्ञानमणिको न्वारन पनि मावलीमै भयो। न्वारनमा उहाँको नाम चित्रप्रसाद राखेका रहेछन्। खासमा ज्ञान अभावका कारण त्यहाँका पुरोहितले रेवती नक्षत्रमा जन्म भएको भनी चित्रप्रसाद नाम राखिदिएका रहेछन्। तर उहाँको जन्म समयबारे मेरा पिताजीले काका पं. भानुभक्तसँग सोधखोज गर्दा उत्तराभाद्रपदा नक्षत्रको तेस्रो र चौथो पाउको सन्धिमा जन्म भएको रहेछ। झ र ञ को सन्धिमा जन्म भएकाले ज्ञानमणि नाम राख्नु उपयुक्त हुने सुझाव दिएपछि उहाँको नाम यही रह्योे।
उहाँको बाल्यकाल भोजपुरको सिक्तेल वा कोट हाल टेम्केमैयुङ गाउँपालिका वडा नं. ७ मा बित्न थाल्यो। प्रारम्भिक शिक्षा पिता पं. भानुभक्त र मेरा पिताजी अर्थात् उहाँका दाजु पं. वासुदेवको रेखदेखमा भयो। वासुदेवका जेठा छोरा देवमणि उहाँको बालसखा हुनुहुन्थ्यो। देवमणि साइनोमा ज्ञानमणिका भतिज भए पनि उमेरले चार वर्ष जेठो हुनुहुन्थ्यो। तर उहाँहरूबीचको प्रेम प्रगाढ भएको र एकै ठाउँमा पढ्ने, खेल्ने, खाने, सुत्ने गरेको मेरा पिताजी सुनाउनुहुन्थ्यो।
आठ वर्षको हुँदा ज्ञानमणिको उपनयन संस्कार (व्रतबन्ध) भयो। पिता पं. भानुभक्त भोजपुर पुइयाँपानीका कार्कीको घरमा चतुर्मासा पुराण भन्न प्रत्येक वर्ष जानुहुन्थ्यो। उपनयन गरेकै वर्ष छोरा ज्ञानमणिलाई पनि लिएर जानुभयो र टक्सारको पाठशालामा भर्ना गरिदिनुभयो। पाठशालाका प्राचार्य हुनुहुन्थ्यो, भोजपुर बेखुम्चाका पं. ध्रुवलाल खतिवडा। आफूले पढाउने छात्रमध्ये ज्ञानमणिलाई उहाँले सबैभन्दा तीक्ष्ण र अनुशासित देख्नुभएछ। आफ्नी छोरी लक्ष्मीमादेवीको विवाह उहाँसँग गरिदिने मनसुवा राखेर पं. भानुभक्तसँग कुरा गर्नुभएछ। अन्ततः विसं १९९९ मा १० वर्षकै उमेरमा ज्ञानमणिको विवाह भयो।
यसपछि भतिज देवमणिसँगै उहाँले दाजु पं. वासुदेव नेपालसँग पाणिनीय व्याकरणको अदादि धातुसम्मको अध्ययन गर्नुभयो। त्यसपछि दाजु वासुदेवले आफूले हजुरबुबा वैयाकरणसँग पढेको ज्ञान दिएको र अब थप गुरुकुल पाठशालामा पढ्न जान भन्नुभयो। सोही अनुसार उहाँ र देवमणिले सिक्तेल गाउँ नजीकैको गोगने विदेश्वर पाठशालामा भर्ना भएर आफ्नै मामा जयदेव अधिकारीसँग लघुकौमुदी, मध्यकौमुदी र पौराणिक ग्रन्थहरूको अध्ययन गर्नुभयो।
त्यहाँ पढ्दै गरेको अवस्थामा २००२ साउनमा देवमणिको देहावसान भयो। प्यारो बालसखा रहेका भतिज बितेपछि उहाँलाई धेरै चोट पुग्यो। त्यसै वर्षको मंसीरमा माता अन्नपूर्णको पनि चोला उठ्यो। भतिज र बालसखा तथा माताको देहावसानपछि उहाँ धेरै विचलित हुनुभयो। पढाइ छोडेर घर फर्कनुभयो।
उहाँ २००४ सालमा थप अध्ययनका लागि काठमाडौं आउनुभयो। बिदाइका क्षणमा पिता पं. भानुभक्तले उहाँलाई आशीर्वाद दिंदै ‘छिटै शास्त्री भएर आएस्’ भन्नुभएको थियो रे। सोही समयमा उहाँसँगै रहनुभएका मेरा पिता पं. वासुदेवले काका पं. भानुभक्तलाई भन्नुभएछ, “शास्त्री मात्रै होइन, भाइले त्योभन्दा धेरै पढ्न सक्छ। यो महामहोपाध्याय भएर मात्रै घर फर्कनेछ।” त्यो समयमा महामहोपाध्याय भनेको विद्यावारिधि सरहको पद थियो।
काका ज्ञानमणिले काठमाडौं आएर गुरु नयराज पन्तसँग पढ्न थाल्नुभयो। अध्ययन गर्न आएकै वर्ष उहाँलाई बज्रपात भयो। २००४ साल साउन शुक्ल त्रयोदशी तिथिमा उहाँकी धर्मपत्नी लक्ष्मीमादेवीको देहावसान भयो। यस घटनाले उहाँलाई धेरै विचलित बनायो। तर पिताजी, दाजुले सम्झाइबुझाइ गर्नुभयो र दोस्रो विवाहका लागि राजी गराउनुभयो। २००५ माघमा खोटाङ सिमपानीकी पोख्रेलपुत्री जयन्तीदेवीका साथमा दोस्रो विवाह भयो। त्यसपश्चात् फेरि गुरु नयराजसँगको अध्ययनलाई निरन्तरता दिन काठमाडौं आउनुभयो। २०१२ सालमा आफ्नो अध्ययनलाई एक स्थानमा विश्राम लगाएर भोजपुर सिक्तेल फर्कनुभयो।
घर फर्किएपछि उहाँले गाउँमा पुराण वाचन गर्न थाल्नुभयो। बिस्तारै जिल्लाभरि धुरन्धर पण्डित कहलिन थाल्नुभयो। उहाँमुनि पाँच भाइ र तीन बहिनी थिए। उनीहरूलाई शिक्षादीक्षा दिलाउन उहाँको ठूलो भूमिका रह्यो। भाइबहिनीलाई पढाउने क्रममा गाउँका अन्य धेरै विद्यार्थीलाई पढाउनुभयो। बलभद्र नेपाल, कालीप्रसाद घिमिरे, तीर्थराज कोइरालाले पढेको त मलाई पनि थाहा छ।
उहाँ शिक्षाप्रेमी हुनुहुन्थ्यो। पिता पं. भानुभक्त र दाजु वासुदेवको अभिभावकत्वमा भोजपुरकै बतासेमा ओभायुथान पाठशाला स्थापना गरी पढाउन थाल्नुभयो। पाठशाला स्थापना गर्दाका बखत गाउँका केही बुज्रुकले ठूलो अवरोध खडा गरेका थिए। तर उहाँको दृढसंकल्प र प्रयासको प्रतिफल पाठशाला खुल्यो। उक्त पाठशालामा पढेर धेरैले आफ्नो ज्ञानका चक्षु खोल्न पाए।
२०१७ साल मार्ग कृष्ण षष्ठीमा उहाँलाई पितृशोक पर्यो। पिताजीको देहान्तपछि घरको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा आइपर्यो। पिताको देहावसान हुनुअघि दुई जना भाइ र एक बहिनीको विवाह भएको थियो। त्यसपछिको पारिवारिक कर्तव्य र जिम्मेवारी पूरा गर्दै जानुभयो।
उहाँका तीन छोरा जन्मिए। २०१९ सालमा सन्तोषमणि र २०२२ सालमा शेखरमणिको जन्म भयो। २०२५ सालमा सेवन्तमणिको जन्म भयो, तर कान्छो छोरोको २०३२ सालमा निधन भयो। यस घटनाले उहाँलाई धेरै बिथोल्यो। उहाँ भोजपुर छोडेर काठमाडौं आउनुभयो।
उहाँ काठमाडौंमा रहँदा इतिहासको खोज, अध्ययन र लेखनमा नै समय बिताउनुभयो। छोरा सन्तोषलाई व्यवहार र जिम्मेवारी हस्तान्तरण गरी उहाँले अध्ययन–अनुसन्धानमै आफ्नो जीवन अर्पण गर्नुभएको थियो। नेपाल निरुक्त, नेपालको महाभारत लगायत तीन दर्जन कृति प्रकाशन गर्नुभयो।
२०१५ सालतिरको कुरा हो, एक दिन हजुरबुबा पं. भानुभक्त नेपालका काखमा म र रत्नमणि काका बसेका थियौं। सोही समयमा ज्ञानमणि काकाले वाल्मीकीय रामायण निकालेर एउटा श्लोकभित्रका समास, सन्धि र अन्वय कसरी खुट्याउने भनेर सोध्दा मेरा पिताजी पं. वासुदेवले ज्ञानमणि काकालाई दुई दिनसम्म एउटै श्लोक व्याख्या गर्दै पढाउनुभएको थियो। उक्त श्लोक थियोः
मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः। यत्क्रौञ्च-मिथुनादेकमवधीः काम-मोहितम्।।
यति मिहिनेत गरेर पढ्नेमा मेरा पिताजीका शिष्य ज्ञानमणि र देवमणि बाहेक अन्य थिएनन्। त्यस बखत काशी (बनारस)बाट समेत गुरुजीहरू आउँथे। विभिन्न धर्म, दर्शनका विषयमा छलफल हुन्थे। कुनै पनि विषयमा ज्ञानमणि काकाले भनेको कुरो महत्त्वका साथ हेरिन्थ्यो।
उहाँ गाउँसमाजमा न्याय कायम गर्नुपर्छ भन्ने पक्षमा दृढताका साथ उभिनुहुन्थ्यो। समाजलाई शिक्षित बनाए मात्रै न्यायपूर्ण समाज निर्माण हुन्छ भन्नेमा उहाँको विश्वास थियो। संस्कृत वाङ्मय र नेपाली इतिहास लेखनमा उहाँको अनुपस्थिति बिझाइरहनेछ।
तेह्रौं दिनको काम सकेको भोलि पल्ट म काका ज्ञानमणिको कोठामा प्रवेश गरें। उहाँले सिर्जना गरेका अनुसन्धानमूलक कृतिहरू देखेर टोलाएँ। अब यिनको संरक्षण, संवर्द्धन कसले गर्ला भनेर मन बेचैन भयो। पं. वैयाकरण नेपालले निर्माण गरेको यो धरोहरलाई यतिन्जेल ज्ञानमणिले कायम राख्नुभएको थियो। अब भविष्यमा यसको उत्तराधिकारी को होला?
यस्तै कुरा मनमा खेलिरहे। वैयाकरण नेपाल प्रतिष्ठान स्थापना गर्न नेतृत्व गर्नुभएका काकाका यी अमूल्य कृतिहरू तथा नेपाल परिवारको यो गौरवलाई त्यही उचाइबाट निरन्तरता दिने नयाँ सन्तति तयार पार्नुपर्छ। यस कार्यमा प्रतिष्ठानले उहाँकै माइला छोरा शेखरमणिका छोरा दिव्यंशुलाई इतिहासको यस गौरवगाथा कायम राख्न सक्षम बनाउने गरी आवश्यक कार्य गरोस्।
यो पनि पढ्नुहोस् :