किन मिलिरहेको छैन पानी पर्ने अनुमान?
यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आकलन जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको थियो। तर देशमा मनसुन भित्रिएको दुई साता नाघिसक्दा पनि धेरै स्थानमा पानी परेको छैन।
देशमा मनसुनी प्रणाली भित्रिएको दुई साता बितिसक्यो। १० जुन (२८ जेठमै) देशको पूर्वी भाग हुँदै मनसुनी वायु प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको थियो। झमझम पानी परे बालीनाली सप्रिन्छन्, किसानले धान रोप्न खेत हिल्याउन पाउँछन् र गर्मी हटेर वातावरण पनि शीतल हुन्छ। तर मनसुन सक्रिय देखिनुपर्ने वेला एकाध ठाउँमा बाहेक मनग्य पानी परिरहेको छैन। खालि बादलले चर्को घाम छेक्दा हपक्क गर्मी मत्थर भएको छ।
विभागले यस वर्षको हिउँदमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको थियो। वैशाख ३१ मै मनसुन सिजनको हावापानी आकलन सार्वजनिक गर्दै विभागले यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जनाएको थियो।
विभागले पछिल्ला वर्षहरूमा मुख्य मौसममा हावापानीको अवस्था के रहला भनेर शुरूमै आकलन सार्वजनिक गर्दै आएको छ। तर अहिलेसम्मको छाँट हेर्दा बढी पानी पर्ने भनिएको आकलन कतै नमिल्ने पो हो कि भन्ने आशंका उब्जिएको छ। विभागले विगत ३० वर्षको सरदरसँग तुलना गर्दा यस वर्षको मनसुनको अहिलेसम्ममा जति पानी पर्नुपर्ने हो, त्यति नपरेको जनाएको छ। असार १० सम्ममा देशभरिको औसतमा ३४७.१ मिलिमिटर मात्रै पानी परेको छ। मनसुनभरिमा पर्ने औसतको १८.८ प्रतिशत हो यो।
विभागका मौसमविद् सुदर्शन हुमागाईं मनसुनको अवधि तीन महीना बाँकी रहेकाले अहिले नै पूर्व आकलन मिलेन भन्नु उचित नहुने बताउँछन्। उनी भन्छन्, “हामीले मनसुन अवधिभरिमा विगतको सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ भनेका हौं। अहिलेसम्म सरदर जति पानी नपरेको भए पनि आउने महीनाहरूमा बढी पानी पर्ने सम्भावना छ।”
नेपाल सहित दक्षिण एशियाका देशहरूमा मनसुनी वर्षा हुनुमा अफ्रिका महादेशको दक्षिण-पूर्वी तटछेउको हिन्द महासागरमा विकसित हुने जलवायुको भूमिका हुन्छ। गर्मीको वेला त्यस क्षेत्रमा उत्पन्न हुने उच्च गतिको हावाको वेग उत्तरपूर्वी बाटो समातेर बंगालको खाडीमा आइपुग्छ। त्यसपछि समुद्रबाट क्रमशः दक्षिण-पूर्वी दिशामा जमीनतर्फ सोहोरिन्छ।
हिन्द महासागरबाट बंगालको खाडीको बाटो भएर दक्षिण-पूर्वी दिशाबाट प्रवेश गर्ने हावामा पर्याप्त जलवाष्प अर्थात् पानीको मात्रा हुन्छ। गर्मीको वेला जमीनको सतह तात्दै जाँदा हलुका भएको वायु माथि माथि उड्न थाल्छ। खाली रहेको वायुको चाप पूरा गर्न दक्षिण-पश्चिम समुद्रमाथि रहेको आर्द्रता सहितको वायु भारत र नेपाल सहितका देशतिर सोहोरिन्छ। जलवाष्प उचाइमा पुग्दा चिसो हुन्छ, र पहाडमा ठोक्किएपछि त्यसमा रहेका पानीका कण वर्षाका रूपमा जमीनमा बर्सिन्छ। यसैका कारण जूनको दोस्रो सातादेखि अक्टोबरसम्म नेपालमा मनसुनी वर्षा हुन्छ। नेपालमा वर्षभरि पर्ने पानीको करीब ८० प्रतिशत यही अवधिमा पर्छ।
जलवायुविद् ङमिन्द्र दाहालका अनुसार जमीनको सतह तातेर तातो हावा माथि माथि उड्न थालेपछि खाली भएको स्थानमा चाप सिर्जना हुन्छ। त्यसलाई न्यूनचापीय रेखा मानिन्छ। न्यूनचापीय क्षेत्रले जलवाष्प बोकेका बादललाई आफूतिर तान्छ। जसले गर्दा जलवाष्प बोकेको बादलले पानी बर्साउँछ। “त्यसैकारण न्यूनचापीय स्थिति बलियो भए पानी पर्छ, नत्र पर्दैन,” उनी भन्छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले नेपालमा न्यूनचापीय रेखा सिर्जना नभएका कारण पानी परिरहेको छैन। उनका अनुसार देशको पूर्वी भाग त्यो रेखाको छेउछाउ छ, जसले गर्दा उक्त क्षेत्रमा पानी परे पनि अन्यत्र अपेक्षा अनुसार वर्षा भइरहेको छैन। त्यसैले त्यो न्यून चापको स्थिति जुन वेला नेपालतिर सर्छ, त्यो समयमा पानी पर्छ।
यस वर्ष जेठ २८ मा मनसुनी वायु पूर्वी नेपाल हुँदै प्रवेश गरेको भनिए पनि त्यो लामो समय एकै स्थानमा अड्किएर बस्यो। नेपालमा मनसुनी वायु पूर्वी क्षेत्रबाट प्रवेश गरेर पश्चिमी क्षेत्रतिर फैलिन्छ। मनसुनी वायुले पश्चिमी वायुलाई धकेल्दै लग्नुपर्ने हो। यस वर्ष भने पश्चिमी वायु प्रभावशाली भएर बस्दा मनसुनी वायु लामो समय पूर्वी भागमा अड्किन पुगेको थियो। मनसुनी प्रणाली मध्य नेपालसम्म फैलिन १० दिन लाग्यो। सुदूरपश्चिम र कर्णालीमा त असार १० मा मात्रै मनसुनी प्रणाली पुगेको छ।
जल तथा मौसम विज्ञान विभागले विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपको आकलनका आधारमा नेपालमा मौसमी आकलन गर्छ। हरेक वर्ष मनसुन शुरू हुनुअघि नै विश्व मौसम संगठनको अगुवाइमा दक्षिणएशिया क्षेत्रका मौसमविद्हरूको साझा मञ्चले यस क्षेत्रको मनसुन सम्बन्धी आकलन तयार गर्छ। खासगरी सामुद्रिक, वायुमण्डलीय, भूमण्डलीय प्रणालीको तथ्यांक र सूचनाका आधारमा यस्तो अनुमान गरिन्छ। यो सहितका विभिन्न जलवायु सम्बन्धी तथ्यांक, प्रभाव पार्न सक्ने हावाको गति, वायुको आर्द्रता, तापक्रम, वायुमण्डलीय चाप आदि हेरेर जल तथा मौसम विज्ञान विभागले मौसमी हावापानीको आकलन प्रस्तुत गर्ने गरेको विभागको सूचना अधिकारी विभूति पोखरेल बताउँछिन्। “हामीले जलवायुका अनेकौं मोडल हेरेर गम्भीर विमर्शबाट आकलन प्रस्तुत गरेका हुन्छौं। दुर्भाग्यवश कहिलेकाहीं त्यो नमिल्दा मानिसहरूलाई हावा तरीकाले अनुमान गरेको जस्तो लाग्छ,” उनी भन्छिन्।
पानी पर्नुमा प्रशान्त महासागरमा विकसित हुने मौसमी गतिविधिसँग पनि सम्बन्ध हुन्छ। प्रशान्त महासागरमा विकसित हुने ‘एल निनो’ र ‘ला निना’ भनिने दुई मौसमी प्रक्रियाका कारण यस क्षेत्रको हावापानीमा फेरबदल आउँछ। पूर्वी प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम सरदरभन्दा धेरै भएको अवस्थालाई एल निनो र तापक्रम सरदरभन्दा कम भएको अवस्थालाई ला निना भनिन्छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् हुमागाईंका अनुसार गर्मीका महीनामा ला निना प्रणाली सक्रिय भएका वर्ष अपवाद छोडेर नेपालमा सामान्यतया सरदरभन्दा धेरै पानी परेको छ। यस वर्ष पनि प्रशान्त महासागरको मौसम एल निनोबाट ला निना प्रणालीमा सरिरहेको छ। तर प्रणाली परिवर्तनको त्यस क्रममा अपेक्षाभन्दा ढिलाइ भइरहेको उनी बताउँछन्। जसले गर्दा ला निना प्रणाली सक्रिय भइसकेको छैन, बरु तटस्थ अवस्थामा छ। आउने महीनाहरूमा ला निना प्रणाली विकसित हुँदै जाने भएकाले साउन-भदौमा धेरै पानी पर्ने अनुमान गरिएको उनी बताउँछन्।
त्यसैगरी, हिन्द महासागरमा विकसित हुने दुईध्रुवीय सामुद्रिक तापक्रम सूचक अहिले तटस्थ अवस्थामा छ। यो धनात्मक भए यस क्षेत्रमा पानी पर्छ। यिनै जलवायुको अवस्थाबाट मनसुनको स्थिति के रहला भनी आकलन गरिएको हुमागाईं बताउँछन्। “जलवायु प्रारूपहरूले यस्ता प्रणालीको शतप्रतिशत पूर्वानुमान गर्न सक्दैनन्, त्यसैले अनुमानहरू नमिल्न पनि सक्छन् जुन स्वाभाविक हो,” उनी भन्छन्।
हुमागाईंले भने जस्तै मौसमी आकलनहरू यसअघि पनि कतिपय वेला मिलेका छैनन्। जस्तै- गत हिउँदमा विभागले सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको थियो। मध्य मंसीरदेखि मध्य फागुनसम्मको तीन महीनाको अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन सहितको हिउँदे हावापानीको आकलन विभागले सार्वजनिक गरेको थियो। अघिल्लो वर्षको हिउँद सुक्खा बितेकाले यो हिउँदमा मनग्य पानी पर्ने खबरले उत्साह जगायो। तर भइदियो उल्टो।
विभागको आकलन विपरीत हिउँदभरि कैयौं ठाउँमा पानीको थोपै छिट्याएन। परेका ठाउँमा पनि माटो भिज्ने गरी पानी परेन। सामान्यतया हिउँद याममा ६०.९ मिलिमिटर पानी पर्नुपर्ने हो। तर हिउँदे वर्षा गराउने पश्चिमी वायु सक्रिय हुन नसक्दा गत हिउँदमा १२.५ मिलिमिटर जति मात्रै पानी पर्यो। त्यसभन्दा अघि मनसुनपछिको अवधि (असोजदेखि पुससम्म)मा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएकोमा त्यस अनुसार पनि पानी परेन।
ऋतु अनुसार लामो समयको अनुमान नमिले पनि विभागको मौसम पूर्वानुमान महाशाखाले गर्ने दैनिक पूर्वानुमान भने धेरैजसो मिलिरहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीको दाबी छ। मौसम पूर्वानुमान महाशाखाले दिनहुँ तीन दिनसम्मका लागि मौसमी पूर्वानुमान सार्वजनिक गर्छ।
विभिन्न भू-उपग्रह मार्फत प्राप्त हुने बादल, वायुको दिशा र गति, तापक्रम, हावामा रहेको जलवाष्प अर्थात् आर्द्रता आदिका तस्वीरमा आधारित भएर महाशाखाले मौसमको पूर्वानुमान गर्छ। भू-उपग्रहले पठाउने तस्वीर र सूचनालाई गणितीय प्रविधि मार्फत विश्लेषण गरी मौसम पूर्वानुमान गरिन्छ। त्यसमा नेपालका विभिन्न स्थानमा रहेका मौसम मापन केन्द्रले पठाइरहने सूचनालाई पनि गणना गरिन्छ। ती केन्द्रले पनि आफ्नो क्षेत्रमा बादलको स्थिति, हावाको दिशा र गति, तापक्रम, आर्द्रता, घाम लागे/नलागेको आदि सूचना महाशाखामा पठाउँछन्। ती सबै तथ्य र सूचनाका आधारमा विश्लेषण गरी पूर्वानुमान तयार गरिन्छ।
यद्यपि अग्ला पहाड, खोच र हिमाल जस्ता अवस्थितिका कारण नेपालमा मौसमी पूर्वानुमान गर्न कठिन भएको महाशाखाका मौसमविद् अधिकारी बताउँछन्। “त्यसैकारण कहिलेकाहीं पूर्वानुमान नमिल्ने हुन सक्छ,” उनी भन्छन्।
विभागका सूचना अधिकारी विभूति पोखरेल पनि भारतको समथर क्षेत्रमा मौसमको आकलन मिले पनि उत्तरी क्षेत्र र हिमालय शृंखलाको नजिक भने उनीहरूको पनि आकलन नमिल्ने गरेको बताउँछिन्। “उच्च हिमाली क्षेत्रको हावापानी आकलनमा समस्या देखिएको छ, सुधार कसरी गर्ने भनेर हामीले निरन्तर छलफल र प्रयास गरिरहेका छौं,” उनी भन्छिन्।
अर्कातिर, विभागले मौसमबारे दिने सूचना प्रस्ट नभएको वा प्राविधिक भएको भन्ने प्रश्न पनि उठ्ने गर्छ। मौसमविद् अधिकारी सकेसम्म वैज्ञानिक शब्दावली कम गरेर सामान्यीकरण गर्न चित्र र तस्वीर प्रयोग गर्ने विषयमा विभागले गृहकार्य गरिरहेको बताउँछन्।
मनसुनको फेरबदल
पछिल्ला वर्षमा मनसुनको प्रवृत्तिमा प्रस्ट फेरबदल देखिइरहेको छ। खासगरी पानी पर्ने दिन लम्बिने र मनसुन ढिला सकिने प्रवृत्तिकै रूपमा देखिइरहेको छ। सामान्यतया नेपालमा १३ जूनमा मनसुनी वायु भित्रिएर २ अक्टोबरसम्म रहन्छ। यही बीचका ११२ दिनलाई मनसुन अवधि भन्ने गरिन्छ। तर यसमा ठूलो परिवर्तन आइरहेको छ। जस्तै- दुई वर्षअघि २०७९ सालमा मनसुन १३४ दिनसम्म रह्यो। विगतमा यति लामो अवधिसम्म मनसुन कायम रहेको ‘रेकर्ड’ छैन। गत वर्ष पनि मनसुन सरदरभन्दा दुई साता ढिलो गरी बाहिरिएको थियो।
जल तथा मौसम विज्ञान विभागको अभिलेख अनुसार सन् १९७० को दशकका सबै वर्ष मनसुन सेप्टेम्बर महीनामै रोकिएको थियो। तर पछिल्ला दुई दशकमा धेरैजसो वर्ष मनसुन अक्टोबरसम्म लम्बिएको देखिन्छ। दुई दशकमा सन् २००६ र २०१२ लाई छोडेर बाँकी सबै वर्ष मनसुन अक्टोबरसम्म लम्बिएको देखिएको छ। सन् २०१३ मा त सबैभन्दा ढिला अर्थात् १९ अक्टोबरसम्म (कात्तिक २ सम्मै) मनसुन कायम थियो। अध्ययनहरूले जलवायु परिवर्तनका कारण मनसुन ढिला शुरू हुने र ढिलै अन्त्य हुने गरेको देखाएको मौसमविद्हरूले बताउने गरेका छन्।
जलवायुविद् ङमिन्द्र दाहाल मनसुनमा छोटो अवधिमा धेरै पानी पर्ने वा कैयौं दिनसम्म पानी नै नपर्ने जस्ता प्रवृत्ति नियमित बनिरहेको बताउँछन्। “कि पानी नै नपर्ने, परेमा आकाशै रित्तिएला जसरी ओइरिने प्रवृत्तिका रूपमा देखा परिरहेको छ,” उनी भन्छन्। मनसुनी वायु नउक्लिने ठानिएको हिमाली क्षेत्रमा पनि हरेक वर्ष वर्षातमा केही न केही अस्वाभाविक घटनाक्रम भइरहेकै हुन्छ।
पछिल्ला वर्षमा छोटो अवधिमा उच्च वर्षा हुने, अस्वाभाविक खालको वर्षा हुने, उच्च हिमाली क्षेत्रमा समेत मुसलधारे पानी पर्ने लगायत प्रवृत्ति बढिरहेका छन्। विगतमा तराई, चुरे र मध्यपहाडमा मनसुनले घनघोर वर्षा गराए पनि उच्च हिमाली क्षेत्रमा यसको कमै प्रभाव पर्ने गरेको थियो। तर अहिले हिमाली क्षेत्रमै छोटो अवधिमा धेरै पानी पर्दा भलबाढी आउन थालेको छ।