चट्याङ लागेर दुई युवकको मृत्यु, चार बालिका घाइते
चट्याङ लागेर कैलालीमा दुई युवकको मृत्यु भएको छ भने चार बालिका घाइते भएका छन्।
जोशीपुर गाउँपालिका-३, भितरियाका ३२ वर्षीय जयराम डंगौराको चट्याङ लागेर मृत्यु भएको हो। बुधबार बिहान खेतमा काम गरिरहेको वेला चट्याङ परेको थियो।
चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि स्थानीय महापार्वती मेडिकलमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय, जोशीपुरले जनाएको छ।
बुधबारै बिहान चट्याङ लागेर धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरीको मृत्यु भएको छ।
खेतमा रोपाइँ गरिरहेका वेला चट्याङ लागेर घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा बुधबार बिहान १०ः५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
त्यस्तै, भजनी नगरपालिका-६, महादेउलीका ५५ वर्षीय रामबहादुर चौधरी चट्याङ लाग्दा घाइते भएका छन्। धनगढीमा उनको उपचार भइरहेको छ।
बुधबार बिहान स्कूल जाने क्रममा घोडाघोडी नगरपालिका-९, बुदेनीका तीन बालिका चट्याङ लागेर घाइते भएका छन्। चट्याङ लागेर नौ वर्षीया सरस्वती भुल, सात वर्षीया पारू कठायत र १० वर्षीया खिमा कठायत घाइते भएको इलाका प्रहरी कार्यालय, सुखडका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पालले बताए।
घोडाघोडी अस्पतालमा उनीहरूको उपचार भइरहेको छ। तीनै जना मोहन्याल आधारभूत विद्यालयमा अध्ययनरत छन्।