गण्डकीमा बाढीपहिरो, दुई बालबालिकाको मृत्यु
मनसुन सक्रिय भएसँगै गण्डकी प्रदेशमा आएको बाढीपहिरोमा परी दुई बालबालिकाको ज्यान गएको छ भने चार जना हराइरहेका छन्।
कास्कीको मादी गाउँपालिका-५, चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए। पहिरोमा परेर ७० वर्षीया लालमाया बन्जारा घाइते भएकी छन्।
पहिरो गएको वेला घरमा नातिनी र हजुरआमा मात्र थिए। इलाका प्रहरी कार्यालय, शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो। पहिरो पन्छाउँदा बालिका आयुष्मा भने मृत भेटिएकी छन्।
त्यस्तै, पहिरो जाँदा पोखरा महानगरपालिका-२७, आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुईकोठे कच्ची घर भत्किएको छ। पहिरोमा परेर उनका छोरा तीन वर्षीय अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा परेर २७ वर्षीया रितु सुनार घाइते भएकी छन्। गण्डकी मेडिकल कलेजमा उनको उपचार भइरहेको छ। हरि र उनकी छोरी नौ वर्षीया अञ्जलीको सकुशल उद्धार गरिएको छ।
यसैगरी, लमजुङको क्व्होलासोथार गाउँपालिका–३, बगुम गाउँमा गए राति पहिरोले घर पुरिंदा चार जना हराइरहेका छन्। पहिरोमा परी एक जना घाइते भएका छन्।
पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको छ। पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनका छोरीहरू आठ वर्षीया इच्छा गुरुङ तथा चार वर्षीया नम्रता गुरुङ हराइरहेका छन्।
उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए। स्थानीय बासिन्दाले पहिरो पन्छाइरहेका छन् भने प्रहरी टोली घटनास्थलतर्फ गएको चपाईंले जनाए।