बेवास्ताको विपद् : डुबेर ज्यान गुमाउँदै बालबालिका
डुबेर हुने मृत्युको आँकडा बाढीपहिरो जस्ता अन्य विपत्तिबाट हुने मानवीय क्षतिभन्दा कम नरहे पनि नियन्त्रण र न्यूनीकरणमा सरकारको बेवास्ता चरम छ।
गर्मी चर्किएपछि ३५ वर्षीय फहिम अहमद दुई साथी सहित गत जेठ २६ मा भारतको कानपुरबाट रुपन्देही आए। शीतल त रुपन्देही पनि थिएन। जल तथा मौसम विज्ञान विभागले भैरहवाको अधिकतम तापक्रम ४१ र बुटवलको ३८ डिग्री सेल्सियस पुगेको घोषणा गर्दै जारी तापलहर थप तीन दिन लम्बिने चेतावनी दिएको थियो।
शीतल खोज्दै अहमद र उनका साथीहरू पाल्पातिर उक्लिए र तिनाउ गाउँपालिका-३, झुम्सा, लामेदमारमा तिनाउ खोलाको पानीले बनेको रहमा पौडी खेल्न थाले। खेल्दाखेल्दै अहमद एक्कासि डुबे। निकै बेरको प्रयासपछि साथीहरूले उनलाई बाहिर त निकाले, तर बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पुर्याउँदा ज्यान गइसकेको थियो।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार गर्मी छल्न भन्दै तिनाउ खोलामा भारतीयहरू निकै आउने गरेका छन्। “तर पानीको सतह र भौगोलिक अवस्था नजान्दा डुब्ने गर्छन्,” उनी भन्छन्।
तापलहर छल्न खोलातिर
जल तथा मौसम विज्ञान विभागले गर्मी चर्कने चेतावनी दिंदै वैशाखयता ११ वटा विशेष बुलेटिन जारी गरिसकेको छ। पूर्वबाट मनसुन भित्रिएको घोषणा भइसके पनि पश्चिमी भेगमा गर्मी घटेको छैन। रुपन्देहीसँग जोडिएको भारतको उत्तर प्रदेशमा अझ धेरै गर्मी छ। तापलहरका कारण १ मार्चदेखि १८ जूनसम्म त्यहाँ ३६ जनाले ज्यान गुमाइसके।
भारतको राष्ट्रिय रोग निवारण केन्द्रका अनुसार उक्त अवधिमा उत्तर प्रदेश सहित बिहार, राजस्थान र ओडिसामा कम्तीमा ११० जनाले ज्यान गुमाएका छन् भने ४० हजार जनालाई ‘लू’ लागेको छ। यस्तोमा नेपालबाट नजीक पर्ने भारतका सुनौली, नौतनहवा, गोरखपुरबाट दैनिक सयौं युवायुवती तिनाउमा पौडन आउँछन्।
“चिसो खोेज्दै आउनेका लागि पाल्पाका खोलानाला मुख्य गन्तव्य बनेका छन्,” रेडक्रस सोसाइटी दोभानका सन्तोष शेरचन भन्छन्, “खोलाको खोंचका रह र पोखरीको गहिराइ आकलन नगरी पौडी खेल्दा दुर्घटना भइरहेको छ।”
अहमद डुबेकै रहमा भोलि पल्ट गोरखपुरको सैजन्वा रंगौलीग्रामका १५ वर्षीय आर्यन कुमार पनि डुबेका थिए। साथीहरूले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो। जेठ २८ मा पाल्पाको झुम्सामा पौडी खेल्दै गर्दा भारतको महाराजगन्जस्थित बोधहनिथाना, बसहियाका २३ वर्षीय मुकुन्द शर्मा डुबे। सँगै आएका तीन साथीले जति प्रयास गरे पनि बचाउन सकेनन्।
दोभान प्रहरी चौकीका प्रमुख सई जनक बुढाका भनाइमा राम्ररी पौडन नआए पनि रमाइलो र चिसोका लागि पानीमा पस्नेहरू दुर्घटनामा पर्ने गरेका छन्। “पानीको गहिराइ आकलन नगर्दा र सावधानी नअपनाइँदा पनि दुर्घटना भइरहेको छ,” उनी भन्छन्।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार गत वैशाख र जेठमा मात्र तिनाउमा डुबेर ६ जनाको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा मन्दिर नजीकै तिनाउ जलविद्युत् आयोजनाको ड्याम छ। बुटवलबाट ६ किलोमिटरमा रहेको ड्याम साइटमा गर्मीमा पौडी खेल्न जाने धेरै हुन्छन्। तिनाउ नजीकैको भूत खोला पनि भीड लाग्ने ठाउँ हो। ड्याम साइट वरपर र भूत खोलामा गरी गत वर्ष १० जनाले ज्यान गुमाएका छन्। तिनमा एक महिला, सात पुरुष र दुई बालबालिका छन्।
तिनाउस्थित लामीदमार ड्याम साइट, रिभर साइड लगायत स्थानमा प्रहरीले ‘खतरासूचक’ बोर्ड राखेको छ। तारजाली पनि लगाइएको छ। तर निगरानी नियमित नहुँदा पौडी खेल्न आउनेहरू तारजाली तोडेर खोलामा पस्ने गरेका छन्।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ गत वर्षदेखि भूत खोलामा जान निषेध गरिएको बताउँछन्। “तर खोलाको क्षेत्रफल धेरै भएकाले जताबाट पनि पस्न मिल्छ। तारजाली गरेर साध्य छैन,” उनी भन्छन्।
उदासीन सरकार
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर पछिल्ला तीन वर्षमा ५९४ जनाले डुबेर ज्यान गुमाएका छन्। यसबाट बर्सेनि औसत २०० जनाको डुबेर मृत्यु हुने गरेको देखिन्छ। पहाडी र हिमाली जिल्लाका तुलनामा तराईमा मृत्यु हुनेको संख्या अधिक छ। रुपन्देही, बाँके, बर्दिया र दाङमा मात्रै तीन वर्षमा ४४४ जनाको ज्यान गइसकेको छ।
लुम्बिनी प्रदेश प्रहरीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार डुबेर मृत्यु हुनेमा आधाभन्दा धेरै बालबालिका छन्। “अभिभावकले ख्याल नराख्दा बाल्टिनमा राखिएको पानीमा डुबेर समेत बालबालिकाको ज्यान गइरहेछ,” उनी भन्छन्।
मधेश प्रदेशको आँकडाले अझ दारुण अवस्था देखाउँछ। आर्थिक वर्ष २०७२/७३ देखि २०७८ जेठसम्म मधेशका आठ जिल्लामा ८६३ जनाले डुबेर ज्यान गुमाएका थिए। तीमध्ये बालबालिका मात्र ५५६ जना छन्।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार अभिभावकको बेवास्ताका कारण बस्तीमा रहेका ससाना पोखरीमा डुबेर बालबालिकाको ज्यान जाने गरेको छ। “बालबालिकाका लागि घर नजीकका खाल्डाखुल्डी, पोखरी र कुलो खतरा सावित भएका छन्,” उनी भन्छन्।
नेपालमा पानीमा डुबेर कतिले ज्यान गुमाउँछन् भन्नेबारे अद्यावधिक तथ्यांक नभए पनि सन् २०१३ देखि २०१५ सम्म नेपाल प्रहरीमा दर्ता भएका घटनालाई आधार मानेर गरिएको एक अध्ययनले यो संख्या वार्षिक ५०० भन्दा बढी रहेको देखाएको थियो। त्यसमा पनि मृत्यु हुनेमा आधाभन्दा धेरै २० वर्षमुनिका थिए। यस्ता धेरैजसो घटना अत्यधिक गर्मी हुने जेठ, असार, साउन र भदौमा हुने गरेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सन् २०१९ मा प्रकाशित प्रतिवेदन अनुसार नेपालमा प्रतिएक लाख जनसंख्यामा कम्तीमा पाँच जना (५.४) को डुबेर मृत्यु हुने गरेको थियो। यो दर बाङ्लादेशमा ४.६, भारतमा ३.८, श्रीलंकामा ३.२ र भूटानमा २.१ थियो। दक्षिणपूर्वी एशियामा सन् २०१९ मा मात्र ७० हजारभन्दा बढी मानिसको डुबेर मृत्यु भएको थियो । “चोटपटकबाट हुने मृत्युमध्ये पानीमा डुबेर हुने मृत्युको आँकडा तेस्रो स्थानमा छ तर यसलाई पूर्णतः नियन्त्रण गर्न सकिन्छ,” प्रतिवेदनमा उल्लेख छ।
नेपालमा डुबेर हुने मृत्यु न्यूनीकरणमा सरकारको ध्यान नगएको नेपाल इन्जुरी अनुसन्धान केन्द्रका अनुसन्धानकर्मी पुष्पराज पन्त बताउँछन्। सरकारले अहिलेसम्म यो दिशामा स्पष्ट कानून, नीति वा रणनीति बनाएको छैन। जबकि डब्लूएचओले डुबेर हुने मृत्यु रोकथामका लागि १२ वटा कानूनी प्रावधान सिफारिश गरेको छ। डब्लूएचओले नेपाललाई ६ वटा सुरक्षा उपाय र चार वटा रणनीति अपनाउन समेत सिफारिश गरेको छ।
अहिलेसम्म सामुदायिक तहमा केही जोखिमयुक्त खोेलानाला तथा पोखरीमा तारजाली लगाउने र डुबेर हुने मृत्युबारे सूचना दिने प्रणाली बनाउने बाहेक थप काम भएको छैन। जनचेतना बढाउने, बहुक्षेत्रीय सहकारिताको विकास गर्ने र राष्ट्रिय पानी सुरक्षा नीति बनाउने जस्ता विश्व स्वास्थ्य संगठनका सुझाव पालना गरिएको छैन।
अर्कातर्फ, डुबेर हुने मृत्यु रोक्न प्रहरीसँग पुग्दो जनशक्ति छैन। “नेपालमा यसलाई समस्याका रूपमा पहिचान नै गरिएको छैन। समस्या नै नमानेपछि त्यसको समाधान खोज्ने कुरै भएन,” पन्त भन्छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराई केही विकास साझेदार संघसंस्थाले सामुदायिक तहमा गरेका काम बाहेक सरकारी तहमा कुनै कार्यक्रम नरहेको बताउँछन्। “डुबेर हुने मृत्यु रोक्न जनचेतना जगाउने कार्यक्रममा लगानी गर्नुपर्ने हो, तर सरकारले गरेको छैन,” उनी भन्छन्।
उपसचिव भट्टराईका अनुसार डुबेर हुने मृत्यु रोक्न स्थानीय तहले स्थानीय स्तरका पोखरी, नाला तथा कुलोमा जोखिम क्षेत्र पहिचान गरी सावधानी अपनाउन सक्छन्। “यस बाहेक विद्यालयमा सुरक्षित तवरले पौडी खेल्न सिकाउने र अभिभावकलाई जल सुरक्षाबारे जनचेतना जगाउने खालका काम गर्न सकिन्छ,” उनी भन्छन्।
डुबेर हुने मृत्यु रोकथाम गर्न संयुक्त राष्ट्रसंघीय महासभाले हरेक वर्षको २५ जुलाईलाई ‘वर्ल्ड ड्राउनिङ प्रिभेन्शन डे’ घोषणा गरेको छ । न्याशनल वाटर सेफ्टी फोरमका अनुसार विश्वभर बर्सेनि दुई लाख ३५ हजार ६०० मानिसको मृत्यु पानीमा डुबेर हुने गरेको छ।