दुई करोड लुटेको आरोपमा हवल्दार सहित चार जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली भन्दै राति घरभित्र प्रवेश गरेर दुई करोड रुपैयाँ लुटेको आरोपमा नेपाल प्रहरीका हवल्दार सहित चार जना पक्राउ परेका छन्।
भक्तपुरको दधिकोटस्थित डिल्लीराज राउतको घरबाट असार ४ गते राति दुई करोड रुपैयाँ लुटपाट भएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली भन्दै घरभित्र पसेको समूहले दुई करोड रुपैयाँ लगेको थियो।
लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। ओखलढुंगाको मानेभन्ज्याङ-३ घर भई हाल ललितपुर बस्ने ३५ वर्षीय मोनाराज राई, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ का ३१ वर्षीय भीमबहादुर तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ का ३१ वर्षीय सुजन रसाइली र भोटेकोशी गाउँपालिका-२ घर भएका ३८ वर्षीय कृष्णबहादुर बोहरालाई पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसीले बताए।
एसपी जीसीका अनुसार कृष्णबहादुर बोहरा नेपाल प्रहरीका हवल्दार हुन्। उनी नेपाल प्रहरीको सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्जमा कार्यरत छन्।
उनीहरूले प्रहरी भन्दै घरभित्र पसेर धम्क्याएका थिए। त्यसपछि दुई करोड रुपैयाँ लगेको पाइएको एसपी जीसीले बताए।