जंगली च्याउ खाँदा एक सातामा तीन जनाको मृत्यु
जंगली च्याउ खाएर मकवानपुरमा एक सातामा तीन जनाको ज्यान गएको छ भने १६ जना बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार असार ३ देखि १० गतेसम्म जंगली च्याउ खाँदा तीन जनाले ज्यान गुमाएका हुन्। जंगली च्याउ खाँदा असार ८ मा कैलाश गाउँपालिका-८ का चार वर्षीय दीपेश लामा, असार ९ मा कैलाश-९ की निरुमाया रुम्बा र राक्सिराङ-७, दुगुवाङका बलबहादुर प्रजाको मृत्यु भएको हो।
त्यस्तै, बिरामी भएकामध्ये चार जना गम्भीर छन्। उनीहरूको उपचार भइरहेको छ। चार जना सामान्य बिरामी र आठ जना उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।
असार ३ मा कैलाश-९, नामटारका विनोद लामाको परिवारले च्याउको तरकारी खाएको थियो। बिरामी परेका उनका छोरा दीपेशलाई असार ४ गते उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। हेटौंडामा उपचार हुन नसकेपछि भरतपुरस्थित चितवन मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा असार ८ मा उनको ज्यान गएको अस्पतालले जनाएको छ।
त्यस्तै, असार ३ मा कैलाश-९, नामटारकी निरुमाया रुम्बा जंगली च्याउ खाँदा बिरामी भएकी थिइन्। उनको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा असार १० मा मृत्यु भएको छ।
यसैगरी, असार ९ मा राक्सिराङ-७, दुगुवाङका बलबहादुर प्रजाको परिवारले जंगली च्याउको तरकारी खाएको थियो। च्याउ खाएपछि उनको परिवारका पाँच जना बिरामी परेका थिए।
उनीहरूलाई उपचारका लागि भरतपुर लगिएको थियो। ५५ वर्षीय बलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
उनको परिवारका अन्य चार जनाको उपचार भइरहेको छ। उनकी पत्नी ४५ वर्षीया जालीमाया प्रजा, छोरीहरू १५ वर्षीया रेन्जु प्रजा र आठ वर्षीया सबिना प्रजा तथा छोरा १० वर्षीय सुशील प्रजाको उपचार भइरहेको छ।
यो पनि पढ्नुहोस् : कसरी चिन्ने विषालु च्याउ?