नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक काठमाडौंमा शुरू
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक मंगलबार बिहान काठमाडौंमा शुरू भएको छ।
बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए। बैठकमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाल लगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुने राईले जानकारी दिए।
परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन् भने विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित छन्। त्यस्तै, चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेशमन्त्री सुन वेइतोङले गरेका छन्।
बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री सुन आइतबार नेपाल आएका थिए। उनी तीनदिने भ्रमणका लागि आएका हुन्।
भ्रमणका क्रममा सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।