बालयौन दुरुपयोगमा रामबहादुर बम्जन दोषी ठहर, सजाय निर्धारण १७ असारमा
जिल्ला अदालत, सर्लाहीले आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जनलाई बालयौन दुरुपयोगमा दोषी ठहर गरेको छ।
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले असार १० गते बम्जनलाई दोषी ठहर गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। उनले हिमालखबरसँग भने, “यौन सन्तुष्टिका लागि बालयौन दुरुपयोगमा दोषी ठहर भएको छ, सजाय निर्धारण असार १७ गतेका लागि तोकिएको छ।”
बम्जन विरुद्ध नामथर परिवर्तित २२ जिल्ला बस्ने (क१) की छोरी वर्ष १८ की परिवर्तित (क)ले जाहेरी दिएकी थिइन्।
यौनशोषणको मुद्दामा जिल्ला अदालतले २०७६ माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई गत पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो।