‘भारतको चुनावी परिणामपछि नेपाली नेताले राहत महसूस गरेका छन्’ (भिडिओ)
प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को एकल बहुमत नआएपछि नेपालका शीर्ष नेताहरूले राहत महसूस गरेको बताएका छन्।
सन् २०१४ र २०१९ मा एकल बहुमतको सरकार बनाउँदा जत्तिको दबाब अब नहुने विश्वासमा नेपाली नेताहरू रहेको सिंहको धारणा छ। टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आयोजित कार्यक्रममा उनले भने, “भारतको निर्वाचन परिणामपछि जति शीर्ष नेताहरू भेटें, उहाँहरूमा यसअघि जत्तिको दबाब नआउने विश्वास बढेको पाएँ।”
‘भारतको निर्वाचनबारे सांसद अमरेशकुमार सिंहको विचार’ कार्यक्रममा धारणा राख्दै उनले भने, “भाजपाको बहुमत आएको भए भारतमा मात्रै होइन, नेपालमा पनि लोकतन्त्र खतरामा पर्न सक्थ्यो।”
वरिष्ठ पत्रकार कनकमणि दीक्षितको यस पटक नरेन्द्र मोदीले चुनाव जितेका हुन् कि हारेका भन्ने प्रश्नको जवाफमा सिंहले भने, “मोदीको जित-हार भन्दा पनि यो लोकतन्त्रको जित हो। भारतमा लोकतन्त्र नरहनु भनेको नेपाली लोकतन्त्रका लागि पनि जोखिम हो।”
लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरेका सांसद सिंहले नेपालमा भाजपाको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को प्रभाव बढ्दै गएको बताए। राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारमाध्यम लगायत संघसंस्थामा आरएसएसको घुसपैठ रहेको उनको दाबी थियो।
वरिष्ठ पत्रकार दीक्षितले भारतको विदेश नीति नेपालमा आरएसएसले नै सञ्चालन गरे जस्तो देखिएको बताए। त्यस्तै, प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले छिमेकको निर्वाचन परिणामको प्रभाव नेपालमा समेत पर्न सक्ने भएकाले बहस गर्न आवश्यक रहेको बताए।